लाखेहरू मखुण्डो लाउँछन : डा. विश्वदीप अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस २७ ।
शहरमा हल्ला चलाइएको छ
न्याय र कानून भन्दा अलि माथि
निकै माथि, अझ धेरै माथि
एउटा भद्र सहमति भयो रे
भद्रता निष्ठा हो
शील हो
विश्वास हो
साँच्चै भन्ने हो भने धर्म हो
अर्थात् सीमा नाघ्न नपाइने
अनुशासनको काँडे तार हो ।
सहमति र अवज्ञामा विरोधाभाष हुन्छ
निधारमा वचनमा कागजमा
रातमा दिनमा
जहाँ कोरिए पनि
वाणिमा ज्यान जोडिएको हुन्छ
नाक सोझिएको हुन्छ
कान तेर्सिएको हुन्छ
आमा रगत आदि इत्यादि
किरिया खिपिएको हुन्छ
उजुर नलाग्ने हुन्छ
सुन्ने सुनाउने दरवार हुँदैन
भद्र सहमति नैतिकको लागि
भद्रले मात्र गर्नसक्छ त्यसमा
अभद्रता हुँदैन अवज्ञा हुँदैन
पटक्कै कपट हुँदैन
फेरि शहरमा हल्ला चलेको छ
सहमति गर्नेहरू भद्र थिएनन् रे
मखुण्डो लगाएका चेपारे
छेपारे थिए रे
बिचरा बादशाह छक्किएछन्
छक्काउनेहरूसँग
दिनभरिको शिकार
निधार वचन र कागज
हावामा सर्लक्क विलाएछ
भद्र सहमति भद्र अवज्ञा
अभद्रताको पूर्ण प्रक्षेपण
त्यसैले त म भन्ने गर्छु
लाखेहरू मखुण्डो लाउँछन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक