बालकको पुकार : लिलानाथ गौतम (कविता )

बालकको पुकार :  लिलानाथ गौतम (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २७ ।

खेल्ने रहर कति कति
नाच्ने रहर झनै अति
फूल जस्तै मुस्कुराउँदै
हाँस्ने रहर छ नि साथी !

किताब मलाई खेल्नै दिन्न
होमवर्क मलाई हाँस्नै दिन्न
रट्न दे को वर्ड मिनिङ
मलाई बच्चा बन्नै दिन्न !

गाईका बाच्छा कान्ला कान्ला उफ्रिएर खेल्छन् !
पाठापाठी नाच्दै नाच्दै कोठा कोठा पुग्छन् !
म मान्छेको बच्चाले !
गाईको बच्चा जति पनि खेल्न नपाउनु ?
बाख्राको बच्चाले जति पनि नाच्न नपाउनु ?
बाच्छो मभन्दा खुसी छ !
किनकि ऊ कोचारिएर, घिसारिएर आमाको दूध नछोड्दै
राम्ररी हिँड्न नजान्दै पढ्न जानू पर्दैन !
बाख्राको बच्चा मभन्दा रमाएको छ !
किनकि उसले टाइ लगाएर, तोतेबोली नफुट्दै
आफ्नो भाषा नजान्दै विदेशी भाषा सिक्नु पर्दैन !

म स्कुल नै जान्न त कहाँ भन्छु र ?
बाच्छाले पनि त बहर भएपछि हलो तान्नु पर्छ !
त्यसैले मलाई पनि बोली फुट्न देऊ !
आमाको काखमा बसेर आमाकै भाषा सिक्न देऊ !
स्कुलसम्म हिँडेरै पुग्ने गरी पिँडुलामा मासु भरिन देऊ !
अनि म जान्छु तिम्रो स्कुल
जहाँ मान्छे बन्न सिकाइन्छ रे !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।