भूकम्प प्रतिरोधी घर बनाउन गाउँगाउँमा तालिम प्राप्त डकर्मी पठाउने

भूकम्प प्रतिरोधी घर बनाउन गाउँगाउँमा तालिम प्राप्त डकर्मी पठाउने

भक्तपुर, २२ भदौ । भूकम्प प्रभावित १४ जिल्लामा भूकम्प प्रतिरोधी भवन निर्माण गर्न गाउँगाउँमा डकर्मी पठाउने भएको छ ।

गाउँगाउँमा भवन निर्माण गर्न तालिम प्राप्त डकर्मी बनाउन सोमबारबाट भक्तपुरमा भूकम्प प्रतिरोधी भवन निर्माणको प्रशिक्षक तालिम सुरु भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), निर्माण व्यवसायी महासङ्घ र युएनडिपीको संयुक्त आयोजनामा सोमबारबाट यहाँ तालिम सुरु भएको हो ।

कार्यक्रममा सिटिइभिटीका सदस्य सचिव डा रामहरि लामिछानेले यसप्रकारको तालिमबाट गाउँगाउँमा दक्ष डकर्मी पुग्ने र यसले भूकम्पले नभत्किने घर तथा भवन निर्माणमा सहयोग हुने बताउनुभयो ।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा सीप परीक्षण महाशाखाबाट तह दुई उत्तीर्ण गरेका डकर्मी, सिभिल इन्जिनियर वा ओभरसियरलाई पाँच दिन अर्थात् ४० घन्टाको तालिम दिइने सिटिइभिटी तालिम विकास महाशाखाका निर्देशक महेश भट्टराईले जानकारी दिनुभयो ।

सात वटा समूहमा सञ्चालन गरिने तालिमबाट १४० जनालाई प्रशिक्षक बनाएर भूकम्प प्रभावित १४ जिल्लामा पठाई त्यहाँका डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न सिकाउने निर्माण व्यवसायी महासङ्घका महासचिव रामशरण देउजाले बताउनुभयो ।

महासङ्घले छनोट गरेका डकर्मीलाई सम्झौताअनुसार तालिम दिएर जिल्ला जिल्लामा पठाएर ढुङ्गा, इँटाको गाह्रो कसरी लगाउने, घरमा डन्डी कसरी राख्ने, झ्याल ढोका कसरी हाल्ने, क्रङ्किटको घर कसरी निर्माण गर्ने भन्नेबारेमा डकर्मीलाई तालिम दिइने उहाँले जानकारी दिनुभयो ।

यस वर्ष सरकारले देशभरका ७० हजार डकर्मीलाई यस प्रकारको तालिम दिइने तयारी गरेको छ । जसमा सिटिइभिटीलाई चार हजार ५०० डकर्मीलाई यस प्रकारको तालिम दिने गरी रु चार करोड ५० लाखको बजेट आएको महाशाखाका निर्देशक भट्टराईले जानकारी दिनुभयो ।

सो बजेटले एक हजार ५०० जनालाई मात्रै तालिम दिन पुग्ने भएकाले सरकारले कि बजेट बढाउनु पर्ने कि त तालिम लिने सङ्ख्या घटाउनु पर्ने भट्टराईको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।