सबैको माग सम्बोधन नभए मुलुक द्वन्दमा जान्छ : गच्छदार

सबैको माग सम्बोधन नभए मुलुक द्वन्दमा जान्छ : गच्छदार

विराटनगर, २१ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अधिकतम जनताले स्वीकार गर्नेखालको संविधान बन्नुपर्ने स्पष्ट पार्नुभएको छ ।

bijay_20150227060215

          विजयकुमार गच्छदार

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले मुलुकले ६५ वर्षदेखि राजनीतिक द्वन्द्व भोग्दै आएकाले मुलुकलाई स्थायित्व प्रदान गर्न हिमाल, पहाड र तराईका अधिकतम जनताको भावनालाई सम्बोधन गर्नेखालको संविधान जारी हुनुपर्ने बताउनुभयो ।

संविधान निर्माणका लागि आफुले ठूलो योगदान गरेको चर्चा गर्दै उहाँले भन्नुभयो–“यसका लागि नेपाली काँग्रेस, एमाले र एमाओवादीका ठूला नेतालाई एक ठाउँमा ल्याएर संविधानसभाबाट संविधान निर्माणको विन्दुमा पु¥याएको छु ।”

संविधानसभाबाट केही दिनभित्रै संविधान जारी हुने उल्लेख गर्दै उहाँले भन्नुभयो–“थारु, मधेसी र आदिवासी जनजातिको मागलाई सम्बोधन गर्नुपर्दछ नत्र आफ्नो पार्टी संविधानसभाको प्रक्रियामा सहभागी हुने छैन ।”

“भोलिदेखि सुरु हुन गइरहेको संविधानसभाबाट थारु, मधेसीको मागलाई समेट्नेअनुरुपको नहुने देखिएकाले आफुले संविधानसभामा असहमति र विरोध दर्ता गराएर आएको छु ।” उहाँले भन्नुभयो – भोलि संविधानसभा अध्यक्षसमक्ष आफ्नो भनाइ दर्ज गराई सबैको मागलाई सम्बोधन गर्ने गरी संविधान नआएमा मुलुक द्वन्द्वमा फस्ने छ भनी जानकारी गराउने छु ।”

तीनवटा ठूला पार्टीले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो–“मुलुकलाई द्वन्द्वमा फस्न नदिन अन्तिम समयसम्म प्रयास गरिने, तापनि मुलुक द्वन्द्वमा फस्यो भने यसको जिम्मेवारी तीनवटै पार्टीलाई लिनुपर्दछ ।”

उहाँले राजनीतिक सहमति आवश्यक रहेको चर्चा गर्दै उहाँले दुई चार दिनभित्रमा थारु, मधेसी, आदिवासीको मागलाई सम्बोधन गरिएमा मुलुकले स्थायित्व पाउने छ भनी विश्वास प्रकट गर्नुभयो ।

तपाइँको प्रतिक्रिया ।