पुनःनिर्माणको पर्खाइमा बारपाकी
गोरखाबजार, २१ भदौ । ढुङ्गाले छाएको एकै प्रकारको मौलिक घरले विगतमा गोरखाको बारपाक गाउँको सुन्दरता बढाएको थियो ।
तर वैशाख १२ मा बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले एक हजार १५० वटा घरलाई ढालिदियो । पक्की घरहरु चर्किए, ढलेनन् । सम्पत्ति भएका र नभएका समान हैसियतमा बारीमा बसे ।
भूकम्पपछि मरुभूमिजस्तो देखिएको बारपाक गाउँ अहिले विस्तारै सुन्दर बन्दै गएको छ ।
पहाडको खोंचमा, हरियालीको बीचमा टहरोले भरिएको बाक्लो बस्ती यहाँ छ । त्रिपाल विस्थापित गरेर भूकम्पपीडितले बनाएका टहराले बारपाक चम्किएको छ । “गाउँले दुःखजिलो गरेर बसेका छन्,” बारपाकका तेजबहादुर घलेले भन्नुभयो – “टहराले विस्तारै गाउँलाई सुन्दर बनाउँदै छ ।”
सरकारले भूकम्प प्रतिरोधी घर बनाउने मापदण्ड छिटो ल्याउने बारपाकीको आशा छ । नयाँ संविधान निर्माण, सीमाङ्नपछिको किचलो, तराईमा विभिन्न मागसहित भएका बन्द, हडतालमा सरकारको ध्यान मोडिएकाले पुनःनिर्माण र नवनिर्माणको काम ओझेलमा परेको बारपाकवासी ठान्छन् ।
कतिपय स्थानीयवासी पहिलेजस्तै मौलिक प्रकारका घर बनाउनुपर्ने धारणा राख्छन् । “हाम्रो संस्कृति सुहाउँदो भूकम्प प्रतिरोधी घर चाहिएको छ,” बारपाकका जीतबहादुर घले भन्नुहुन्छ – “पक्की घर बनाएर मात्रै भूकम्प प्रतिरोधी हुँदैन ।” माटो परीक्षण गरेपछि मात्रै घर बनाउन गाविसबाट अनुमति लिनुपर्ने मापदण्ड तोक्न सरकारलाई घलेको आग्रह छ ।
भूकम्पपछि एक महिना त्रिपालमा र त्यसपछि टहरोभित्र बस्दै आएका बारपाकीहरु छिटो नयाँ घर बनाएर सुरक्षितसाथ बस्न चाहन्छन् । निर्माण प्राधिकरणले तत्कालै काम सुरु गर्नुपर्ने र जिल्लामा कार्यालय राख्नुपर्ने भूकम्पपीडितको माग छ । छिटोछरितो काम गर्न सक्ने योग्य र अनुभवी व्यक्तिलाई निर्माण प्राधिकरणको जिल्लास्थित कार्यालयको प्रमुख तोक्न सरकारलाई आग्रह गर्दै बारपाकवासीले पुनःनिर्माणको काममा ढिलाइ भएको जनाएका छन् ।
“जथाभावी तवरले जहाँ पायो त्यहीँ बस्ती राख्नु हुँदैन,” उहाँले भन्नुभयो – “भौगोलिक अध्ययन, माटो परीक्षण गरेर मात्रै बस्ती राख्न सकिएन भने फेरि अर्को भूकम्पले सखाप पार्छ ।” पर्यटकीय केन्द्रका रुपमा विकास भइसकेकाले बारपाकवासीले यो गाउँलाई विद्युतीय मोटर सञ्चालन हुने, घर घरमा दमकल पुग्ने, सूचना तथा सञ्चारको सुविधा भएको नेपालकै एक नमुना गाउँ बनाउन खोजेका छन् ।
त्यसका लागि रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाले बारपाक फाउन्डेसन नामक संस्था पनि गठन गरेका छन् । “लथालिङ्ग तवरले बारपाकलाई पुनःनिर्माण गर्ने होइन,” समाजसेवी वीरबहादुर घलेले भन्नुभयो – “गुरुयोजना बनाएपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्दा दीर्घकालीन हुन्छ ।” अस्पताल, खुल्ला चौर, स्वास्थ्य केन्द्रहरु, खानेपानीको व्यवस्था, सडक सञ्जाल, शिक्षालगायतका पूर्वाधारहरु कहाँ कसरी व्यवस्थापन गर्ने भन्नेबारे गुरुयोजनाले समेट्ने घलेको भनाइ छ ।
बारपाकीलाई घामपानीमा टहरोभित्रको बास असहज हुँदै गएको छ । टहरोमा बस्दै आएको दुई महिना बितिसक्यो । “टहरोभित्र चिसोले अत्यायो,” स्थानीयवासी ओम घलेले भन्नुभयो – “दिउँसो घाम चर्केका बेला गर्मीले टिक्न सकिँदैन । पानी दर्केका बेला सुत्नै सकिँदैन ।” अव्यवस्थित बसोबासलाई छोट्याउनुपर्ने भन्दै उनीहरुले अस्वस्थकर खानेकुरा, प्रदूषित पानीले गर्दा भूकम्पपीडित बालबच्चा र वृद्धवृद्धा बिरामी परेको बताएका छन् ।
पुनःनिर्माणको काम सुरु गरेपछि सानातिना समस्या समाधान हुने उहाँको भनाइ छ । “सबैको प्राथमिकता नयाँ घर बनाउने छ,” उहाँले भन्नुभयो – “सरकारको मुख ताक्न छाडेर गाउँलेले परम्परागत शैलीमा घर बनाउन थालिसके ।” घर बनाउँदा सरकारले दिने भनेको अनुदान, ऋण पाइने÷नपाइनेबारे प्रष्ट नहुँदा उनीहरु अन्योलमा छन् ।
साथै, उनीहरुले होटल व्यवसायभन्दा होमस्टे ९घरबास कार्यक्रम० रुचाएका छन् । पर्यटक पनि होमस्टे मन पराउँछन् । भूकम्पअघि होमस्टे सञ्चालन गर्दै आउनुभएका स्थानीय मनोज घलेले भन्नुभयो – “होमस्टे सञ्चालनमा ल्याउनेबारे छलफल गरेका छौँ ।” होमस्टे व्यवस्थापन समितिले पर्यटकीय मौसम सुरु भएपछि अस्थायी रुपमा भए पनि घरबास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
जिल्ल दैवी प्रकोप उद्धार समितिका संयोजक उद्धवप्रसाद तिमल्सेना आवश्यक नीति निर्माणको क्रम चलिरहेकाले पुनःनिर्माणमा ढिलाइ भएको हुनसक्ने बताउनुहुन्छ । भूकम्पको केन्द्र गोरखा भएकाले यहाँबाटै कार्यालय स्थापना गरी काम अघि बढाउनुपर्ने उहाँको माग छ ।
भूकम्पले बारपाकमा मात्रै होइन, जिल्लाभर ५८ हजार घरधुरी बस्नै नहुने गरी भत्किएको छ । यहाँका दुई नगरपालिका र ६० गाविसका सबैजसो घर ९सदरमुकामबाहेक० पुनःनिर्माण गर्नुपर्ने देखिन्छ ।