रहन्छ नेपाल सदैव साझा : उत्तम विचार (कविता )
कपन अनलाइन
काठमाडौं, पुस ६।
हिमालले डाक्दछ चढ्न आऊ
पहाडले भन्छ मभित्र छाऊ ।
चिनिन्न नेपाल भुले तराई
मधेसका फाँट घुमेर जाऊ ।।१।
घुमेर फेवा म पुगेछु रारा
नदी त्यहीँ छन् र त्यहीँ किनारा ।
कोसी विना पूर्व हुँदैन पूर्ण
भुल्यौ भने पश्चिम भो अपूर्ण ।।२।
अनन्त बग्ने झरना यहीँ छन्
हिरण्य मोती गहना यहीँ छन् ।
म जान्नँ छोडेर विदेश धाई
छ स्वर्ग नेपाल यही मलाई ।।३।
अनेकतामाझ छ एकता जो
मबाट हामी हुन जोडिएको ।
विभिन्न भाषा र अनेक भेष
हुनेछ माला उनिदिन्छु एक ।।४।
न जात जाती न त वर्ण भेद
गरिन्न काला र भनी सफेद ।
भनेर छोरी गरिँदैन हेँला
गरे उही पर्छ अवश्य फेला ।।५।
बुटी यहीँ देख्छु म औषधीका
बुकी गुराँसे वनमा फुलेका ।
चराचुरुङ्गी नित गानमा छन्
प्रबुद्ध योगासन ध्यानमा छन् ।।६।
भनिन्न तेरो नभनेर मेरो
मिलेर पानी भरिने पँधेरो ।
बनेर एकै परिवार माझ
रहन्छ नेपाल सदैव साझा ।।७।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक