जननी जन्मभूमिश्च : त्रिलोचन आचार्य ( कविता )

जननी जन्मभूमिश्च : त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १६।

१. म चुम्छु देशको माटो प्रेमले भक्ति भावले
म टाढा बन्न चाहन्न घेरा हाल्दा अभावले
म आफ्नै श्रमले बढ्छु फुल्छु फल्छु रमाउँछु
टेक्दै सगरमाथामा म खुल्छु जग्मगाउँछु

२. पोखेर पसिना थोपा जोत्छु खेत हराभरा
आफैँ बढ्नेछु चम्काई गाऊँ वेँशी गरागरा
मेरै विश्वासमा उठ्छन् मैदान अनि टाकुरा
सारा रिपु लखेट्नेछु बिर्सन्न लिम्पियाधुरा

३. यो यौटा फूलबारी हो फुल्छन् फूल अनेकन
ऋषि महर्षिको बाटो पछ्याउदै छु सज्जन
छैन आपसमा द्रोह भाइचारा छ व्यापक
बुद्धको देश यो मेरो हुन्नन् युद्ध विनासक

४. माटो इज्जत हो मेरो माटो नै श्वास प्राण हो
माटो नै बास हो मेरो माटो नै पहिचान हो
म यै माटो खनी खोस्री प्राण लाखौँ बचाउँछु
सुविधा छन् भनी टाढा न त आँखा नचाउँछु

५. गरिबी शत्रु हो गर्दै परास्त बढ्छु बढ्छु म
पछौटेपनका साथ डटेर लड्छु लड्छु म
कोदालो र कुटो बोक्छु भर्दै कलममा मसी
जननी जन्मभूमिश्च स्वर्गादपि गरी यसी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।