महिला हिंसा चुनौती र समाधानका केही उपायहरू : अनिता ढकाल
कपन अनलाइन
काठमाण्डौ,भाद्र १५ ।
कुनै व्यक्तिलाई दिईने शारीरिक वा मानसिक घात, प्रतिघात वा धाक धम्कीलाई नै हिंसा भनिन्छ । हाम्रो पितृसत्तात्मक समाजमा विशेष गरी महिला, बालबालिका र पिछडिएका वर्गहरु हिंसाजन्य क्रियाकलापहरुबाट पीडीत रहेको पाइन्छ । हिंसाजन्य क्रियाकलाप भन्नाले यौन दुव्र्यवहार, मारिनु, पिटिनु, सामाजिक संजालको गलत प्रयोग गरेर अरुलाई तनाव दिनु जस्ता गलत क्रियाकलापहरू पर्दछन । शिक्षित कहलिएकाहरु पनि प्रत्यक्ष वा परोक्ष रुपमा यस्ता त्रियाकलापमा संलग्न रहेको देख्न र सुन्न पाइन्छ । अहिलेको समसामायिक घटनाहरू जस्तै सामूहिक बलात्कार, घर परिवारबाटै भात भान्साका कुरा, कसैको शारीरिक अवस्थाको गलत व्याख्या गरि मानसिक आघात पर्ने गरी व्यवहार गरिनु, आर्थिक सक्षम भएका छोरी बुहारीलाई घरको चौघेरामा मात्रै सीमित गर्न खोज्ने गलत मनासिकता बढ्दै गएको पाइन्छ । यस्तै अमानवीय क्रियाकलापविरुद्ध लड्न प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई विश्वका अधिकांश मुलुकले अन्तर्राष्ट्रिय अभियानका रुपमा मनाउँदै आएका छन् ।
नेपाल जस्तो विकासोन्मुख र पितृसत्तात्मक राज्यमा महिलाको वृत्ति विकासको अवस्था अत्यन्तै नाजुक रहेको पाइन्छ । शहर बजारलाई छाडी दुर्गम ठाउँतिर जाने हो भने छोरी त्यही माथि बुहारी माथि अनेक किसिमले शोषण गरेको पाइन्छ । जस्तै महिनावारी वा सुत्केरी हुँदा छाउ गोठमा बस्नुपर्ने, पोषण खानेकुराहरुबाट वन्चित गराउने, बाल विवाह, दाइजो प्रथा, जस्ता कुराहरुबाट पीडित रहेको पाइन्छ । यहासम्म कि आफ्नै घरपरिवारबाट जिउँदै जलाइनु, सामूहिक बलात्कार जस्ता दर्दनाक र अमानवीय घटनाहरुमा बृद्धि भएको छ । एकातिर दिन प्रतिदिन घर परिवार अनि समाजबाट पीडीत रहेका महिलाहरु राज्यको दण्डहीनता तथा न्यायलयबाट हुने न्यायिक ढिलासुस्ताईले झन त्रासदीमा परेका छन ।
महिलाको सहनशील स्वभाव र सदियौँदेखि चल्दै आएको सामाजिक संरचनाको कारण नै आम महिला घरेलु हिंसा सहन बाध्य भएका छन् । पुरुष विना महिलाको कुनै अस्तित्व नै छैन भन्ने गलत मानसिकताले ग्रसित पारिएका छन् । आफूले आफनो हक अधिकार खोज्दा कतै आफू यो समाजमा अपहेलित हुन्छु कि ? भन्ने खालको डर पैदा गरिएको छ । आजको एक्काइसौँ शताब्दीमा महिला माथिहुने हिंसाले विकराल रुप लिँदै जानुमा सबै दोष पुरुषलाई मात्र दिन मिल्दैन । यस्ता क्रियाकलाप बढनुमा महिला आफै पनि जिम्मेवार रहेका छन । जस्तै सासु बुहारी बीचको द्वन्द्व, नन्द आमाजु अनि भाउजु बुहारी बीचको कलह, जेठानी देवरानी बीचको पौठेजोरी आदि । यिनै असमझदारीले गर्दा महिलाहरु स्वयं पीडित हुन पुग्दछन र हिंसाको चपेटामा पर्न पुग्दछन । यस अवस्थामा घरमूलीले पारिवारिक सन्तुलन मिलाउनुको साटो झिना मसिना कुरालाई बढावा दिएर मानसिक आघात पारेको पाइन्छ जुन आफैमा विस्मयपूर्ण रहेको छ । हिंसालाई एकतर्फी रुपबाट मात्र हेर्न हुदैन । कतिपय महिलाहरु स्वयं आफैले पुरुषलाई दःख दिएको पनि नपाइएको होइन । उदाहरणको निम्ति पुरुषले विदेशमा बसेर कमाउने तर महिला नेपालमा बसेर पारिवारिक जिम्मेवारी बहन नगरी अनैतिक सम्बन्ध राखेर घर परिवार नै बिचल्लीमा पारेका घटनाहरु पनि छन । यस अवस्थामा एक थुकी सुकी सय थुकी नदी भनेजस्तै यदि परिवार भित्रका सबै महिला तथा पुरुषहरु आपसी समझदारीबाट एक हुन सकिएमा केही हदसम्म हिंसात्मक घटनाहरु निर्मिलुकरण गरी सभ्य समाजको निर्माण गर्न आवश्यक कदम चाल्न सकिन्थ्यो ।
राज्यको नीति निर्माण तहमा महिलाको न्यून सहभागिता रहेको छ । शहरमा पढेलेखेका शिक्षित महिलाहरु सिंहदरबारमा बसेर सभा सम्मेलनमा ठाटिएर दुर्गमका महिलाका समस्या सायदै बुझलान । कति कमजोर अनि लाचार छन यहाँका महिला संगठन अनि महिला अधिकारकर्मीहरु । कुनै महिला पीडीत भएर त्यस्ता संघसंगठनमा गएमा उसको सुरक्षाको लागि आवाज बुलन्द पार्न सक्दैनन् । अनि जब हत्या वा आत्महत्या हुन्छ वा गराइन्छ तबमात्र ब्यानर सहित सडकमा तातिन आउँछन् । जिउँदो छदा न्यायको लागि याचना गरिरँहदा न्याय नदिने अनि मरेपछि सडक तताएर त्यसबाट के नै अपेक्षा गर्न सकिन्छ र ? महिला हिंसा एकै दिनमा शुन्यमा झार्न त सकिदैन तर यसलाई विस्तारै न्यूनीकरण भने गर्न सकिन्छ । यसका लागी सामाजिक कु–संस्कार र कुरीति हटाई महिलाहरुलाई शिक्षा दिलाउन अग्रसर हुनुपर्दछ । माथिल्ला पद र पहुँचमा रहेका महिलाहरु स्वयं एकपटक दुर्गम क्षेत्रमा बसेर अनुभव लिएमा पक्कै पनि पीडीतका पीडालाई सम्बोधन गरी आवश्यक नीति बनाएर कार्यान्वयनमा ल्याउन सकिन्छ । टोल टोलमा आमा समूह गठन गरी हिसांत्मक क्रियाकलापहरुमा संलग्नहरुलाई कानुनी दायरमा ल्याउन जरुरी छ । साथै त्यस्ता व्यक्तिहरुलाई कडा कानुन बनाइ उचित दण्ड दिनु पर्दछ । कानुनी राज्यको उपहास नगरी दण्डहीनता रोक्नुपर्छ ।
समाजमा राम्रो काम गर्नेहरुलाई पुरस्कारको व्यवस्था गरिनुपर्छ जसले गर्दा अरुलाई समेत राम्रो काम गर्न प्रोत्साहन मिल्नेछ । आर्थिक दृष्टिकोणबाट महिलालाई सवल बनाउन विभिन्न प्याकेजहरु जस्तै सिलाई बुनाई पशु पालन कृषि ब्यूटिसियन जस्ता रोजगारमूलक तालिमहरुमा बृद्धि गरिनु– पर्छ । यसले गर्दा उनीहरूमा अर्थोपार्जनका निम्ति पुरुषमा भर पर्नु पद्र्रैन । आर्थिक रुपमा सक्षम भएपछि महिला पनि घर मूलि हुन सक्छे र कसैको पनि दबाब वा शोषण सहन बाध्य हुनेछैन । लैङ्ंगिक हिंसा विरुद्ध बेला बेलामा चेतना जगाउने कार्यक्रमहरु जस्तै सडक नाटक, पोष्टर वृत्तचित्र आदिको निर्माण गरिनुपर्छ ।
पीडामा परेका महिलाहरुलाई केही अवसर दिएर सीपमूलक काममा अगाडि ल्याउनुपर्छ । अधिकांश महिलाहरु औपचारिक क्षेत्रमा लागे पनि घरधन्दामा नलागी धरै छैन । तसर्थ तथ्याङ्क विभागले महिलाहरूले अनौपचारिक क्षेत्रमा गरेको कामलाई पनि मौद्रिक रुपान्तरण गरेको खण्डमा महिलाले घरधन्दामा गरेको कामको पनि महत्व बढ्न गई सशक्त बन्न केही हदसम्म सहयोग पुग्ने नै छ अन्यथा आकशको फल आँखा तरी मर भनेझै हुन जाने देखिन्छ । यसो गर्दा आम महिलामा आर्थिक सक्षमता भई आत्मबल बढ्न जाने हुँदा हिंसा विरुद्ध सशक्त अभियानमा होमिन सक्छन् । नेपालले महिला हिंसा विरुद्ध गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु कार्यान्वयनमा ल्याउन सक्नुपर्छ अनि प्रत्येक नागरिकले महिला हिंसा विरुद्ध सशक्त रुपमा आवाज उठाउनुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।