मेरो जीवनगाथा : सुवास राई (कविता )

मेरो जीवनगाथा : सुवास राई (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २७।

जीवन यात्रा हो
यात्राको एउटा सुन्दर कथा बन्छ
कुनै चौतारीमा बसेर
शितल हावा खाइरहेको बेला
जब एक्कासी कथा बोल्न थाल्छ
तब,
कसैलाई हँसाउँछ
कसैलाई रुवाउँछ पनि ।

जब कथा बोल्न रोकिँदैन
कसैलाई मिले बाल्यकाल तिर
बुर्कुस्ली मारेर फिरुँ लाग्छ
कसैलाई मायाको छालमा भिजुँ लाग्छ
कसैको निको हुँदै गरेको
घाउका खाटाहरु उप्काइदिन्छ र
अब यात्रा रोकुँ लाग्छ
आफन्तले हेपेकोदेखि
पराइले साथ दिएको पलले भिजाउँदा,
निष्ठुरीले मुटुमा छुरा धसेकोदेखि
जिम्मेवारीले गाँजेको सम्झिँदा
जिन्दगी जिउनुको अर्थ नै नदेखिन सक्छ ।

तर आज कथा रोकिने वाला छैन
किनभने धेरै पछि आज बोल्न पाएको छ
झनै जोस्सिँदै भाषाण शैलीमा कराउन थाल्छ
र सुरु गर्छ–

म जन्मेको गाउँ र
म अहिले बस्दै गरेको सहर जोड्न थाल्छ
गाउँमा मनको राजा हुँदाको सुखद् क्षणदेखि
काठमाडौंको गल्लीमा
सपनासँग लुकामारी खेल्दा हारेको
दुखद् क्षणको बारे बोल्न थाल्छ
घरबेटीको आगमनमा डराउने मनलाई
बाउआमाको काखमा खेलाउन थाल्छ
जन्मभूमि र बाल्यकालका सम्झनाहरु
सयपत्रीको माला झैं उन्छ;
अब सफलताको बाटो हिँड्नु पर्छ भन्दै
संसारदेखिने रमिते डाँडाको बाटो छोडेर
काठमाडौंको गल्ली छिरेको,
सुत्दै तारा गन्न मिल्ने ओछ्यान छोडेर
वर्षै भरी बत्ती बाल्नुपर्ने कोठामा सुतेको
लोडसेडिङ भएर अन्धकारमा फँस्दा
क्यान्डिलको धिपधिप उज्यालोमा
सफलताको बाटो ठिम्याउन खोजेको पल हुँदै
एकपछि अर्को स्मरण गराउँदै लान्छ कथाले ।

कथाले…
म बस्ने अँध्यारो डेरामा
घामको किरण छिर्ने गरी
हाक्पारे भाकामा घाँसे गीत गाउँन थाल्छ
गीत सुनेपछि मेरो कान
एक्कासी डुम्म गरेर बन्द हुन्छ
अनि मैले कथा बोलेको सुन्न छोड्छु ।

अनि–
खुकुलो मुठी पारेर हातमा फु–फु गर्छु
र मुखभित्र जिब्रो बजाउँछु
बिस्तारै बिस्तारै बिस्तारै
तीन पटक–
अनि आँखा चिम्म गर्छु
नाकको दुईतर्फ कुलेसो बनाएर
मनको बाढी बग्छ एकसुरले
मैले रोक्दिन
किनकी यो पनि यात्राको एक पल हो
कथाको एक अंश हो ।

यति सोचेर म झस्किन्छु र सोच्छु
अब फेरि म हिँड्नु पर्छ
कस्सिएर यात्रामा निस्किनु पर्छ
गन्तव्य त ईश्वरलाई थाहा होला
मलाई यति थाहा छ
म हिँड्नु पर्छ
जिन्दगी यात्रा हो
यात्रा एउटा कथा हो
यो कथा
समग्रमा मेरो जीवनगाथा हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।