दुप्चेश्वर महादेव : रामकुमार पण्डित (बालकथा )
कपन अनलाइन
काठमाण्डौ ,साउन २७।
तादी नदीको किनारमा बीस जना जति लस्करै हिँड्दै थिए विद्यार्थी । ती सबै स्थानीय विद्यालयको कक्षा पाँचमा पढ्दथे । कुलमान तादीको झोलुङ्गे पुलतिर लस्किएको देखेर शिक्षिकाले भन्नुभयो ।
“कुलमान ! त्यताबाट होइन । नदीको बाटो हिँड !”
“मिस, मलाई झोलुङ्गे पुलमा हल्लाई खेल्न मज्जा लाग्छ ।”
कुलमानलाई जवाफ दिदैँ शिक्षिकाले भन्नुभयोः “तिमी एक जनालाई रमाइलो लाग्छ भनेर भयो त ? यहाँ कति विद्यार्थीलाई डर लाग्छ ।” उनलाई समर्थन गर्दै सपनाले भनिन्ः “मलाई त साह्रै डर लाग्छ मिस ! त्यसपछि चमेलीले थपिन् ः “मलाई त त्यहाँ कस्तो रिङ्गटा लाग्छ ।”
उनीहरू सबैलाई जवाफ दिँदै कुलमानले भनेः “अहिले असार लाग्या भए यही पुल चढ्नुपथ्र्यो, वैशाख महिना भएर यताबाट जानला त हो नि, नदी सानो देखेर ।”
सबैजना तादी नदीतर्फ गए । पानी घुँडासम्म आउने रहेछ । त्यहाँ केही केटाकेटी पौडी खेल्दै थिए । कञ्चन पानी भएकोले पीँधमा सफा बालुवा र गिट्टी देखिन्थ्यो । खोला तर्नलाई एक किनारबाट अर्को किनारसम्म पुग्न सकिने गरी काठे पुल हालेको थियो । विद्यार्थीहरू र शिक्षिका पङ्क्ति मिलाएर पुल तर्र्दै थिए । खोलाको वीचमा पुगेपछि कुलमानले आइतबहादुरलाई कानमा खुसुक्क भनेः “हेर्न यो खोलाले वर्षा मासमा मान्छे बगाउँछ । यस्तो खोला सीधै तर्नु सट्टा पुलबाटै तरेको भए भइहाल्थ्यो नि । पुलबाट हिँड्ने बानी गर्नु पर्दैन त ?” आइतबहादुरले उनको कुरामा सही मिलाउँदै भनेः“अँ त, पोहोर साउनको भेलले यही खोला तर्न लाग्दा मेरो आस्याङलाई झण्डै बगाको । खोला कम्मरभन्दा नि माथि आउने रहेछ । मेरो आस्याङ पनि पुलबाट हिँड्न झिँजो मानेर यतैबाट गएछन् । यहाँबाट दसपन्ध्र मिटर परसम्म खोलाले बगाएछ । धन्न ऊ त्याँ’ निर भएको ठूलो ढुङ्गामा समाउन पुगेछन् । नत्र पिण्डो खानुहुन्थ्यो होला ।”
”ओ हो ।” उनको कुरालाई कुलमानले समर्थन जनाए । आइतबहादुरको पछाडि हिँड्ने मङ्गलेले पनि सुनेको रहेछन् । उनले आइतबहादुरको मुखमा पुलुक्क हेरे । अरू विद्यार्थी आपसमा गुनगुन गर्दै हिँडिरेहका थिए । खोला तरिसकेपछि किनारभन्दा तीसचालीस फिट पर पुगेपछि शिक्षिकाले भनिन्ः“अघि हामीले पुलबाट आउनुपथ्र्यो आएनौँ किनभने पुल लामो छ । पुलबाट सीधै मन्दिरकै भ¥याङसम्म पुगिन्छ । एकैचोटि त्यहाँ पुगेर भन्दा यहाँ एकछिन बस्दा रमाइलो हुन्छ । अहिले खोला सानो छ । काठे पुलबाट ओहोरदोहोर गर्न सकिन्छ । भोलिपर्सि वर्षा लागेपछि सबैले यता आउँदा झोलुङ्गे पुलै चढ्नुपर्छ ल !” उनलाई समर्थन गर्दै सबै विद्यार्थीले “हवस्” भने ।
विद्यार्थीहरू गोलबद्घ भएर चौरमा बसे । शिक्षिकाले मनमा लागेको कुरा सोध भन्नुभयो । डोल्माले जुरुक्क उठेर सोधिन्ः “मिस, यो तादी खोला कहाँ पुगेर टुङ्गिन्छ ?”
शिक्षिकाले बस भनेर सङ्केत गर्दै भन्नुभयोः “यो खोला उत्तरी दिशाको गोसाइकुण्ड नजिक सूर्यकुण्डबाट सुरु भएको हो । यसलाई सूर्य खोला पनि भन्दछन् । यहाँबाट अलि तल चन्द्र खोलासँग मिसिन्छ । त्यहाँ भन्दा पनि तल त्रिशूली नदीसँग मिसिएर यो सप्तगण्डकी हुँदै सागर छुन पुग्दछ । अनि यही खोलाको तिरैतिर उत्तरतिर लागेर अचेल गोसाइकुण्ड जाने गरिन्छ । अरू रुटको बाटोभन्दा यो बाटो छोटो छ गोसाइकुण्ड पुग्न ।”
त्यसपछि एकछिन मौनता छायो । शिक्षिकाले तुरुन्तै प्रश्न सोध्नुभयोः “भन त, सुजिता यो दुप्चेश्वर वस्तीमा कुनकुन जातीका मानिसको बसोबास छ ?”
सुजिताले उठेर जवाफ दिइन्ः “यहाँ अधिकांश तामाङ जातीको बसोबास छ । त्यसपछि शेर्पाको छ । अनि क्षत्री, ब्राह्मण, राई, आदि बस्दछन् । यहाँ सबै जाती एउटै घरको परिवार जसरी मिलेर बसेका छन् ।”
उनको जवाफ सुनेर खुसीहुँदै शिक्षिकाले भन्नुभयोः “स्याबास !”
उनीहरूको नजिकबाट केही आन्तरिक पर्यटक आए । एकजनाले प्वाक्क सोधेः “के गरेको नानी हो ?”
तुरुन्तै कुलमानले जवाफ दिएः “आज हाम्रो बाहिर घुम्ने अनि सिक्ने कक्षा हो । यहाँ पुस्तकभन्दा बाहिरको ज्ञान सिक्दैछौँ ।”
ती व्यक्तिले सही मिलाउँदै भनेः “आहा, कति राम्रो !”
“हजुरहरू यहाँ के गर्न आउनुभएको नि ?” मङ्गलेले जिज्ञाशा राखे ।
“हामी साहित्यकार हौँ । यो पवित्र दुप्चेश्वरको दर्शन गर्न आएका । मचाहिँ श्रीओमश्रेष्ठ हुँ । हाम्रो संयोजक उहाँ वासुदेव गुरागाईँ हुनुहुन्छ । वासुदेवजी दुई शब्द जावोस् न त अब !”
“नमस्कार नानीहरू ! मलाई पिँडालु पण्डित पनि भन्दछन् । आज मैले दुप्चेश्वरमा पर्यटनको विकास होवोस् भनी काठमाडौँबाट यतिका साहित्यकारहरू लेराएको छु । टोखाको बाटो हुँदै गुर्जो भन्ज्याङबाट आउँदा नुवाकोटको यस ठाउँमा आइपुग्न बसमा दुई घण्टा लाग्दोरहेछ । यहाँ जति हेरे पनि नअघाइने खालको प्राकृतिक सौन्दर्य छ । आज यी दुप्चेश्वरको दर्शन गर्छौँ, यताउति घुम्छौँ । रात यतै होटेलमा काट्छौँ, खाना खाएर । अनि भोलि बिहान पनि दर्शन गरेर नगरप्रमुख र यहाँको वडा अध्यक्षसँग यहाँको कमिकमजोरीका विषयमा छलफल गर्छौँ, जानेको केही सुझाव दिन्छौँ । यहाँको स्थानीय उत्पादन किनेर लान्छौँ । हवस्, त अहिले जान्छौँ ।” वासुदेवले आफ्नो शब्द बिसर्जन गर्नासाथ सबै विद्यार्थी गदगद् हुँदै ताली बजाएर भनेः “धन्यवाद साहित्यकारज्यूहरू !”
सबैले साहित्यकारहरू गएतिर नजर लगाए । साहित्यकारहरूमध्ये कसैले वरिपरिको वनजङ्गल हेर्दैथिए । कसैले पहाडी मनमोहक दृश्यमा ध्यान दिदैँथिए । कसैले पहाडवीचमा खनेर फुस्रो देखिएको सडक निर्माण हेर्दैथिए । कसैले अलिपर किसानहरूले परंपरागत प्रविधिबाट धानको बीउ खेतमा राख्दैगरेको तिर हेर्दैथिए । त्यति नै बेला कोही भक्तले मन्दिरमा घण्टि ट्वाङ्गट्वाङ्ग ट्वाङ्ग बजायो । सबैको ध्यान मन्दिरतिर खिचियो । कुलमानले घाँटी सफागर्दै बोलेः “मिस यहाँ मङ्सिरको शुक्ल चतुर्दशीमा मेला लाग्छ । त्यो मेला भोलिपल्टको धान्य पूर्णिमासम्म हुन्छ । पोहोर साल मेलामै आएको बेला मेरी दिदीभिनाजुको प्रेम परेछ । उहाँहरूले भोलिपल्टै पूर्णिमामा यहीँ बिहे गरेर जानुभयो ।”
शिक्षिकाले “हो र !” भनेर खुसी व्यक्त गर्नुभयो ।
“मिस यहाँ आएर दर्शन गरे सन्तान नहुनेले बच्चा पाउने, छोराको रहर गर्नेले छोरा पाउने, बेरोजगारले जागिर पाउने रे । घरको पशुपक्षी बिरामी भए निको हुन्छ रे । बालबालिका बिरामी परिरहे, बोली नफुटे, त्यस्तो पनि ठीक हुन्छ रे । पितृको उद्घार हुने, नेता हुनेले टिकट पाउने, गरीवले धन पाउने गर्छन् रे । यो साँच्चिकै हो त ?” मोटीमोटी विद्यार्थीले प्रश्न सोधेपछि शिक्षिकाले भनिन्ः “यहाँ आएर दर्शन गरे मनोरथ पूरा हुन्छ भनेर धेरैले भनेका छन् क्यारे । पशुपतिनाथको उत्पत्ति काठमाडौँमा जसरी भयो, त्यसैगरी यो दुप्चेश्वरको भयो । पशुपतिनाथलाईजस्तै एउटी गाईले निरन्तर दूध चढाइएको पाइयो । अझ यहाँ त भिरमा गएर गाईले दूध चढाइन् । मान्छे समेत सजिलै जान नसकेर कुर्सिउलो घाँसको लहरा समाउँदै गएको ठाउँ हो । त्यस्तो ठाउँमा गाईले दूध चढाएको, गोब्¥याएर पवित्र पारेको ठाउँ पो हो यो ।”
“यो कुरा साँचो हो त मिस ?” ती विद्यार्थीले पूनः प्रश्न गरिन् । त्यसको जवाफ दिदैँ शिक्षिकाले भनिन्ः “यो किंवदन्ती हो । उहिल्यैदेखि हाम्रा पुर्खाले यसलाई मान्दै आएका छन् । योगी नरहरिनाथजस्ता पूरातत्वविद एवं इतिहासविद् समेत यहाँ आएर यही कुरालाई सही हो भनेको प्रमाण पाइन्छ ।”
“मिस यो मन्दिरको नाम दुप्चेश्वर हुनुमा एकदमै सही तर्क चाहिँ हाम्रो तामाङ भाषाबाट अपभ्रम्स भएको शब्द हो । त्यो “डुप्च्यो” शब्दबाट डुप्चेश्वर भएको हो । ढुङ्गाको कापबाट पानी बगिरहनुलाई डुप्च्यो भन्दछन् । त्यस्तो ठाउँ त्यहाँ धेरै छ । यसैबाट भएको हो ।” कुलमानले ठोकेरै भने ।
“श्रीकृष्ण भगवान्ले द्वापर युगमा स्थापना गरेका हुन पनि सक्छ । उनी हिमाली क्षेत्रको भ्रमणमा आउँदा यहाँको सौन्दर्य देखेर दुप्चेश्वरको स्थापना गरेका हुन् भन्ने भनाई पनि छ है । त्यही भएर गोपालेश्वर महादेव भन्ने चलन समेत छ । ” मोटीमोटी छात्राले भनिन् ।
“भन्न त श्रीमहादेवले समुन्द्र मन्थनबाट निस्केको विष सेवन गरी पीडाले छटपटिएको बेला यहाँ आएको पनि भन्दछन् । उनले गोसाइकुण्डमा त्रिशूल गाडेर जल प्रवाह गरे । त्यहीँको गङ्गाजल सूर्यकुण्ड हुँदै महादेवलाई भेट्न यहाँ आइन् । श्रीमहादेवको आदेशले अश्विनी कुमारहरू अलिपछि आए । यस पवित्र ठाउँलाई असाध्यै मन पराएर दुप्चेश्वरको स्थापना गरे ।” अघिकै छात्राले थपिन् ।
“ल, समय तन्किसकेछ । हामीहरू माथि दर्शन गरेर विद्यालय फर्कौँ !”
शिक्षिकाको आदेशपछि विद्यार्थीहरू पङ्तीवद्घ भएर सिढिँतफ गए । उकालोमा फलामको रेलिङमाथि हातले स्पर्श गर्दै आनन्द मानेर उनीहरू उक्लिए । ठाउँठाउँमा ढुङ्गाको कापबाट पानी रसाएर बगेको देखी आश्चर्य मानेर हेरे । नागले फणा उठाएको आकारमा दुप्चेश्वरको मूर्ति देखेर पहिलो पटक आएको छात्र मिङ्माले भने “आम्मै कत्रो ठूलो गोमन नागजस्तै भगवान् !”
सबैले पालैपालो दर्शन गरे । मोटीमोटी छात्राले हाँस्दै पुजारीलाई भनिन् “हामीले चढाएको भेटी घर नलैजानू है गुरु !” गुरुले पनि हाँस्दै जवाफ दिएः “लग्दिनँ । भेटी कता जान्छ भनेर ऊ नगरपालिकाको अफिसबाटै देखिने गरी सिसी टी भी जडान छ । तपार्इँहरूलाई टीका लाएर पाएको दक्षिणाचाहिँ मेरै हो । मैले पनि त बाँच्नु प¥यो ।”
”ल ! ल ! ठीक छ बाजे ।तपाईँले बरु फिक्स तलब लिनू । दक्षिणा व्यवस्थापन समितिलाई बुझाउनु । अब देखि चन्दनको टीका लाइदिनू है, अविरले चिलाउँछ अचेल । शिव बाबालाई मनपर्ने पनि श्रीखण्डको चन्दन हो ।” कुलमानले भने ।
त्यसपछि सबैजना क्रमशः भर्याङ्ग र्ओलदै गन्तव्यतिर लागे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक