पहाडका सुसेलीहरू : राजेश अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,साउन २० ।
पहाडी भूमी डाँडा र काँडा उकाली ओराली
हुस्सुले ढाक्यो पर्वत पाखा भञ्ज्याङ द्यौराली
रातो छ माटो चिप्लो छ बाटो ढुंग्याने जमिन
दाउरा घाँस गोठालो जान भया छ कठिन
कन्धरा काल्ना चट्टाने भूमी भिरालो भूगोल
छत्तीस वर्ण निवास गर्ने ठिहिलो खगोल
धुपी र सल्ला मुनाल डाँफे लेकाली गहना
कुहिरे घुम्टो ओडेर हाँस्ने पहाडी चाहना
सिम्सिमे पानी सिरेटो चिसो गुराँसे बनमा
मनमा पाप कपट हुन्न पहाडे जनमा
जन्मेर हुर्केँ खेलेरै बढेँ पहाडी भेकमा
दैनिकी मेरो चहार्ने बन्यो बेसी र लेकमा
स्वर्ग झैं राम्रो छ घर मेरो खरले छाएको
पहाडी मन नेपाली तन भाग्यले पाएको
बलेसी छेउ मकैको थाङ्रो पिढीमा भकारी
मझेरी छेवै गाईको गोठ नजिकै जौबारी
करेसा भरी कुखुरा चल्ला रमाई चरेका
बाख्राका पाठा आँगनै ढाकी उफ्रिदै खेलेका
इस्कुस फर्सी लहरे सिमी छानोमा घिरौला
नेपाल आमा ! मायाको ऋण कसरी तिरौंला?
तोरीको तेल केशमा घसी थाक्रोले कोरेर
लेकमा नाच्छु बेसीमा हाँस्छु दिल नै खोलेर
फुल्बुट्टे गुन्यू ढाकाको चोली लाएर रिमिक्क
सिम्रिके गाला चन्चले आँखा मुहारै चिटिक्क
जरुवा पानी भरेर ल्याएँ कुवामा पुगेर
दैनिकी बित्छ चरन खर्क भञ्ज्याङ डुलेर
कानमा ढुङ्री नाकमा मुङ्री लगाई मस्केर
बैंसले होला सपना देख्दा ब्युँझन्छु झस्केर
शहर सामु दुखिलो हुन्छ गाउँले जीवन
दुखकै बिच फैलिन्छ खुशी ढाकेर गगन
चौंरीको मोही तन्तनी पिई आँत भो रन्जन
मकैको ढिँडो सिस्नुको साग पहाडी ब्यन्जन
पिसानी गर्छन् घट्ट र जाँतो कराई घरर
कुटानी गर्छन् ओख्ली र ढिकी लगाई जाँगर
थिचियो पेचा निस्कियो तेल पेलिई कोलमा
गौँथली उड्यो गाउँदै गीत पहाडी बोलमा
उमाली दूध ठेकीमा भरी घुमाई मदानी
मथेर दही निकाली नौनी बेचेर आम्दानी
छरेर तोरी बारी नै भरी भित्र्याएँ फसल
पेलेर तेल बेचेर गर्छु आम्दानी असल
डालो र थुन्से भकारी, छाप्री बाँसले बनेका
कोदालो, कुटो मच्चाई बाले जैबारी खनेका
कठुवा, हर्पे, टोलङ, ठेकी वर्तन काठका
वासिन्दा यहाँ बहुल धर्मी बिबिध जातका
गुन्द्रुक, चाम्रे खेताले खाजा पहाडी चलन
च्याब्रुङ बज्यो नौमती घन्क्यो नाच न बालन
उफ्रियो धामी बजाई ढ्याङ्रो देहाती विश्वास
बालेर टुकी, दियालो, पुल्ठो पाउछौं प्रकाश
अलैंची, चिया, नास्पाती, छुर्पी पहाडी कोसेली
मुर्चुङ्गा बज्यो पहाड हाँस्यो उफान सुसेली
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक