नशा जिन्दगीको : रमेशप्रसाद खनाल (कविता )
कपन अनलाइन
पेरिस, साउन २०।
हो, ठिक भन्नुभो, मित्र
मलाई बेस्सरी लागेको छ नशा जिन्दगीको ।
हो, ठिक भन्नुभो, मित्र
शत प्रतिशत ठिक भन्नुभो
म अचेल औधी मात्तिएको छु
मलाई बेस्सरी लागेको छ नशा
त्यो पनि जिन्दगीको नशा
म मच्चि मच्चि हल्लिरहेको छु यसै नशामा,
म जे पायो त्यही बडबडाई रहेछु, यही नशामा
म जे जे भनि रहेछु– जिन्दगीको नशामा नै भनिरहेछु
कस्तो नशा रहेछ यो –
झन्झन् बढाई रहेछ म भित्रको जिजीबिषा दिन प्रतिदिन
अरु नशा त के को नशा भनेजस्तो–
जिन्दगीको नशाको अगाडि फिका फिका लाग्दो रहेछ
खोइ ती लाग्ने भनिएका नशा पनि कता छन् कुन्नि अचेल
मलाई एकाएक ती सबैले छोडको छन्
सायद काम नलाग्ने बेकार भएको ठानेर मलाई
ती पनि अन्तै मोडिएका छन्
जिन्दगीको नशासँग अचेल बढेको मेरो बस उठले
ती नाराज भएर होला सायद मबाट टाढा भएका छन् ।
तर हेर्नुस् न, मित्र – म के गरौँ
यो जिन्दगी नामको ब्राण्ड
र यसको नशाले मलाई यसरी गाँजेको छ कि
यसकै मातमा हरपल चुर्लुुम्म डुबिरहन मन लाग्छ,
कि यसकै साथमा बाँकी जीवन नै बिताई दिन मन लाग्छ,
कि यसकै नशामा लतपत लतपत भैदिन मन लाग्छ
कि आफैलाई यसकै नशामा सरोबर पारिदिन मन लाग्छ ।
हो मित्र, यसलाई अब म चाहेर पनि छोड्न सक्दिन
यो लतको बानि यस्तो हुँदो रहेछ
न यसले मलाई छोड्न मान्छ न म नै यसलाई छोडन मान्दछु
जिन्दगीको हरेक मोडमा मलाई प्यारो लाग्दैछ
यही नशा जिन्दगीको ब्राण्ड
यो बिनाको मेरो जिउनुको अर्थ पाउन्न म
हो, यो बाहेक अब अरु कुनै ब्राण्ड पिउन चाहन्न म ।
नशाले आखाँ बन्द हुन्छ भन्थे,
यसले त झन्झन् खुलेको छ,
नशाले मन विचलित हुन्छ भन्थे,
यसले त झन्झन् उघारि दिएको छ
हिजोको नशामा डुब्दा आफन्तलाई नै पराई देख्ने यही आखाँ
आज को आफन्त को पराई सबैलाई आफ्नै देख्न थालेको छ
के भएको यस्तो आज
सबैलाई आफ्नै मुटुुको धड्कन समान मान्न थालेको छ
यो नशाले त मानिस–मानिस बीचको पर्खाल पनि मेट्दो रहेछ,
न धनि न गरिब– न यो जात न त्यो जात
सबै एकैनास भन्दो रहेछ
जिन्दगीको नशाले त अचम्मै गर्दो रहेछ
मानिसलाई मानिस चिनाउँदो रहेछ,
मानिसलाई मानिस बनाउँदो रहेछ ।
जिन्दगीको नशा त गज्जब हुँदो रहेछ
जति पियो त्यति त्यति प्याला थप्न मन लाग्दो रहेछ
जति पियो त्यति त्यति तिर्खा बढ्दो रहेछ
यही नशामा हुँदो रहेछ बाँच्नुको मजा, मित्र
यही नशामा हुँदो रहेछ हाँस्नुको मजा ।
हो, जिन्दगीको नशा लागेपछि
अन्धकार चिर्दै उदाएका प्रकाशका किरणहरु होस,्
मौन मौन पथ्ृवीमा ओर्लिरहेका शीतका थोपाहरु होस,्
जीवनदायी वायुका झोकाहरु हुन्
तप्प तप्प चुहिएको देख्ने सकिनेरहेछ,
अच्चम्म !
जिन्दगीको नशा लागेपछि
अरुको त कुरै छोडौ
नचिनेको आफूलाई पनि आफैले चिनिने रहेछ
कसलौई सोध्नै नपर्ने
आफ्नो परिचय आफै पाइनेरहेछ,
अच्चम्म !
यो नशाले अरुलाई के गर्छ कुन्नि
छुन्छ कि छुन्न पनि थाहा छैन
तर मलाई भने यसले
बिस्तारै बिस्तारै नशालु बनाउदै लगेको छ,
लट्ठ बनाउँदै लगेको छ
हेर्नुस त मेरा आखाँ पनि राता राता भएका छन्
नशामा चूरचूर छन्
हेर्नुस त यसकै नशामा मेरा खुट्टा पनि भइुँमै छैन
आकाशमा उडेका उडेका जस्ता छन्
के भएको होला यस्तो
म त अचेल यसकै तालमा नाच्न पो थालेको छु,
यसकै तालमा हाँस्न पो थालेको छु,
सायद यही नशाकै तालमा कहिले गीत गाउछु,
कहिले कविता लेख्छु
फेरि कहिले कोहीसँग पनि नबोली चुपचाप चुपचाप बस्छु,
धुम्म हुन्छु कहिले घोत्लिरहन्छु,
अनि कहिले यति धेरै बोल्छुकि बोलिरहन्छु, बोलिरहन्छु
नदीको प्रवाह जस्तो बगिरहन्छु, बगिरहन्छु
कस्तरी लागेको यो नशा जिन्दगीको
कि थाहा पाई पाई अब सबै होस् गुमाएको छु
केवल जिन्दगीको बहावमा आफूलाई सम्पूर्ण सुम्पेको छु
केवल यसकै तालमा बिन्दास झुमेको छु
केवल जिन्दगीको नशामा अचेत भएको छु
केवल जिन्दगीको नशामा बेहोस भएको छु ।
हो, ठिक भन्नुभो, मित्र
मलाइ बेस्सरी लागेको छ नशा जिन्दगीको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक