परिवन्ध : इन्दिरा दीक्षित (बालकथा)

परिवन्ध : इन्दिरा दीक्षित (बालकथा)

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

नेपालको सुदूर पश्चिम जिल्लाको एउटा दुर्गम गाउँ रातमाटेमा जम्मा २०० जति घरधुरी रहेका छन् । गाडिबाट ओर्लिएर झण्डै आधादिन जति हिडेर पुगिने रातमाटे गाउँलाई शहरिया हावापानीले नछोएको जस्ते त्यहाका जनता आफ्नै परिवेश र परम्परा धानेर बसेका छन् । त्यस गाउँका मुखिया थिए विक्रम बहादुर शाही । उनका बाबुको निधन भएपछि परम्परा अनुसार बाबुको अविभारा छोराको काँधमा आएको थियो । मुखियाकी श्रीमतीको नाम मनमायाँ थियो । मुखिया मुखिनी तन्नेरी नै उमेरका थिए । उनिहरूका दुइवटा सन्तान थिए । १२ वर्ष जतिकी जेठी छोरी उसको नाम कोपिला थियो, र १० वर्ष जतिको कान्छो छोरा उसको नाम कमल थियो ।
छरितो परिपार भित्र औधी मेल थियो । आमाबाबु दुबैजना छोराछोरीलाई असाध्यै मायाँ गर्थे । समयको खाना र घरको मायालु वातावरणले होला साथिहरूको अगाडि कोपिला र कमल रिष्टपुष्ट र फुर्तिला हुनुको साथै आमाबाबुका आज्ञाकारी सन्तान थिए । उनिहरू बाबुआमालाई नसोधी केही गर्दैनथे ।
लेख्न पढ्न नजानेका विक्रम बहादुरका बाबुले आफू मुखिया बनेपछि गाउँमा सबैले पढुन् भन्ने उद्देश्यले एउटा प्रार्थमिक स्कुल खोलेका थिए । यसै स्कुलमा पढेर क्रिम वहादुरले प्रार्थमिक शिक्षा हासिल गरेका थिए । उनी मुखिया बनेपछि स्कुलको मुहार अझ फेरियो । सदरमुकाम धाएर सरकारबाट सहयोग दिलाएर निम्न माध्यामिक सम्मको पढाई हुने स्कुल बनाईदिए । अरु गाउँलेका केटाकेटी सँगै कोपिला र कमल दुई दिदीभाई पनि त्यसै स्कुलमा पढ्न जान्थे ।
विक्रम बहादुर गाउँका मुखिया भए पनि आफ्नो घरखेतको काम त गर्नै पथ्र्यो । उनको काममा उनकी पत्नी मनमायाँले सघाउँथिन् ।स्कुलदेखि बाहेकको समयमा कोपिला र कमलले पनि घरमा आइपरेको सानोतिनो काम सघाउँने गर्थे । बाबुआमा घरमा नभएको बखतमा दिदीभाइ मिलेर बस्तुलाई घाँस पराल हाल्नु, नजिकैको पँधेरोबाट पानी भर्नु बेलुकि अबेर भए पकाउँने तर्कारी पनि काटेर ठिक्क पारेर राख्नु आदि गर्थे । कमल सानै भएकोले कोपिलाले भन्थी
“ तँ नगर है भाइ ! सक्दैनस्” कोपिला छिट्टी र छरिती थिई भाइले भन्दा पहिला आफै गरेर भ्याउँथी । दिदीले काम गरुन्जेल कमल पनि अघिपछि लागेर केही न केही गर्न खोज्थ्यो । कोपिला भाइलाई मायाँ गर्दै भन्थी
“गरुँगो भाडो न उचाल है भाइ त सक्दैनस् ऐले आमाले देख्नुभो भने मलाई गाली गर्नुहुन्छ”
“तिमिलाई पनि त गाह्रो हुन्छ नि दिदी ! आमा नआउँदै म गाईलाई कुडो दिईहाल्छु” कमलले समातेको भाडो हत्तपत्त कोपिला समाउँन पुग्थि । आमाको अगाडि भाइले काम गरेको देख्दा मनमाया रिसाउँथिन् र भन्थिन् “दिदी भएर यतिसानो भाइलाई काम लगाउँछेस् ?” मनमायाँ अल्लि रुढिवादि परम्परा मान्ने खालकी थिइन् घरको काम छोराले होइन छोरीले गर्नुपर्छ, बिहे गरेर गएको घरमा माइतीको इज्यत राखेर राम्ररी काम गरेर सबैलाई रीझाउन सक्नुपर्छ अरुपनि के के फलाकी रहन्थिन् उनलाई छोरीले घर नखालिन् कि भन्ने पीरले सताउँथ्यो, तर बिक्रम बहादुर भने श्रीमतीको कुरालाई उति ध्यान दिन्थेनन् । उनी अल्लि आधुनिक विचारका जस्ता छोराछोरी दुबैलाई उत्तिकै मायाँ गर्नु पर्छ, आफ्नै सन्तानको हुन्, भेदभाव नगरी पढाउँनु पर्छ भन्ने खालका थिए । कमल भने आमाको आँखा छलेर दिदीलाई काम सघाउँथ्यो ।
बिहान खाना खाएर दिदी भाइ सँगै विद्यालय जान्थे, बाटोमा अरु साथीहरू पनि भेटिन्थे,तर कोपिला र कमल कहिल्यै एक्लाएक्लै हिड्दैन थे । दुबैजना सँगै कक्षा पाँचमा पढ्थे । पढिसकेर घर फर्कदा अरु साथीहरू यता उता लाग्थे । चुत्रो, एैसेलु बयर, बेलौती आदि बनमा के के पाइन्छ टिपेर खान डौडिहाल्थे । कोही त नजिकैको खोलामा पौडीखेल्न पुग्थे तर कमल र कोपिला भने कतै नअल्मलिएर सरासर घरमै आइपुग्थे । यस्तै प्रकारले दिनहरू च्लिरहेकै थियो ।
कोपिला बाह्र पुगेर तेह्र लागेकी थिई एकदिन बिद्यालयबाट घर फर्कदै गर्दा उसले लगाएको जामाको पछाडी रातै थियो, कमलले अत्तिदै भन्यो “ओइ दिदी ! तेरो जामाको पछाडि रातै रगत जस्तो पौ छ, के भयो हँ ?” कतै घाउ त भएन ?” कमलले अत्तिदै सोघेपछि कोपिलाले फर्केर हेरी नभन्दै रातै रहेछ । उसलाई कता कता डर लाग्यो, केहिदिन अगाडि मात्रै आमाले भनेकी थिइन् “अब दिनदिनै ठुली हुँदै गएकी छस्, हलक्क बढेकी पनि छस्, कतै स्कुलमा पर सर्लिस् होस् गर्नू नि” पर सर्ने कुरा नबुझेर उसले आमालाई सोधेकी थिई “यो पर सर्नै भन्या के नि आमा ?”
“सरिरबाट रगत बग्छ, पछाडि लुगा रातै हुन्छ त्यसो भयोभने डौडिदै घर आउनु नि लोग्ने मान्छेको मुख हेर्न हुँदैन, छाउँगोठमा बस्नुपर्छ”
आमाले भनेको कुरा मिल्दोजुल्दो देखियो । कोपिलाले थरथर काप्दै भाइलाई भनी “तँ घर जा भाइ, आमालाई पठाइदे, म यतै बस्छु, आमाले यस्तो भयोभने कसैको मुख हेर्न हुदैन, छाउँगोठ बस्नुपर्छ भन्नुभा छ” कमलले केही बुझेन, दिदिको रुन्चे अनुहार देखेर अरु धेरै नबोलिकन सरासर घर गयो र आमालाई भन्यो “आमा दिदीलाई त के भयो के, लुगाभरी रगतै रगत लाग्या छ, कतै घाउ भएछ कि, घर आउँन मानिनन्, आमालाई बोलाइदे भनेर म डौडिदै आएँ छिटो गर्नुस् न दिदी भा ठाउँमा जान प¥यो”
“तँ यतै बस्, ए ! कमलको बा ! छोरी त छाउभई जस्तो लाग्यो ल ल झट्टै गोठमा पराल सराल हालेर ठिक्क पार्नु प¥यो, म पछ्यौरी लिएर जान्छु त्यसलाई लिन, झट्टै गरेर अल्लि टाढै बस्नु नि फेरि अनुहार देख्खिएला” अरु के के फलाक्दै हस्याङ फस्याङ गदै कोपिलालाई लिन डौडिहालिन् । मुखिया पनि गोठ मिलाउँन तिर लागे । यो सबै हेरीरहेको कमलले बासँग सोध्यो, “किन गोठ ठिक पारेको बा ! यता को सुत्छ र ?”
“तेरी दिदी” मुखियाले छोटो जयाफ दिए । आश्चर्य मान्दै कमलले सोध्यो यस्तो ठाउँमा किन सुत्ने ? यस्तो गाइले खाने परालमाथि कसरी सुत्ने ? दिदीलाई बिजाउँदैन ? सधै सुतेको घरमा सुत्न के हुन्छ ?” मुखियाले अल्लि झर्किदै भने, “कति कराउँछ यो, छाउँ भएको भान्छेलाई कता घरमा राख्नु ? सबैले यस्तै गोठमा राख्छन् तेरी दिदी पनि एतै सुत्छे १५दिन भैगो नि” ओहो १५ दिन सम्म मेरी दिदी यस्तो ठाउँमा बस्ने सम्झीदै कमललाई रुन मन लाग्यो । उ रुदैरुदै घर फर्कियो ।
प्रकृतिको नियम अनुसार प्रतेक स्वच्छ किसोरीहरू १२, १४ वर्षजतिमा सारिरिक परिवर्तन सुरु हुन्छ, कोपिलामा पनि यस्तै परिवर्तनको सुरुवात भएछ अर्थात उसको मासिक धर्म सुरु भयो । मनमायाँले लगेर त्यो सानो छाउँगोठमा राखेर घर फर्की ।
“अब १५दिनसम्म दिदी भा ठाउँमा जाने हैन नि, भन्द्याछ, फेरि लुसुलुसु जालास् नि ? तैले दिदीको मुख हेर्न हुन्न यस्तो बेलामा, पाप लाग्छ नि” कमललाई ठुल्ठूलो स्वरमा मनमाया अथ्र्याउदै थिई । कमल केही नबुझेर मुर्तिजस्तै मझेरिमा उब्भी राखेको थियो । साँझ खाना पाकेपछि मनमायाँले सुख्खा भातमाथि थोरै दाल हालेर छोरीलाई दिएर आउँछु अनि खाउँला भन्दै बाहिर निस्कीन् । हेरिरहेको कमलले बासँग “भन्यो आमाले दिदीलाई दुध लैजानै बिर्सनुभएछ म दिएर आउँ बा !”
“छाउको बेलामा दुध खानुहुन्न” बाबुले छोटो जवाफ दिए ।
“किन र बा दिदीले दुध खान नहुने ? के हुन्छ र ?”“खै ! त्यस्तै चलन छ, अरुले पनि त्यसै गर्छन्, हामीले पनि गर्नै प¥यो” कोपिलालाई भात दिएर मनमायाँ भित्र पस्दै थिइन् कमलको कुरा सुनेर हकार्दै भनिन्
“कति सोधिरन्छ यो केटो ? नचाहिने कुरा त वास्तै नगर्नु नि, यस्तो वेलामा दुध खान दिए त हाम्रा कूलकुलायन् रिसाई हाल्छन् नि, फेरि गाई नै मरिहाले के गर्नु ? यस्तो बेलामा त चिल्लो, पीरो, अमिलो केही खान हुदैन, अझ हाम्रा पालामा त नून धरि दिन्थेनन्, ऐले नून सम्म चल्या छ”
कमलले फेरि भन्यो, “त्यति सानो बाख्रालाई पनि नपुग्ने ठाउँमा दिदी कसरी सुत्छिन् आमा ! यतै एउटा कोठामा राखे हुन्न ? माथि बुइगलको कुनामा राख्नुस् न बरु म पनि जान्न”
“हुदैन भने पछि हुदैन, अरु गाउँलेले गरे पनि मुखियाले त्यसो गर्न मिल्छ ? भोली गाउलेले सोधे भने के जवाफ दिने ? मुखिया भएर गाउँको नियम बिगार्न त भएन नि”
विक्रम बहादुरले प्रसँग बदल्दै भने “आइजो छोरा अब भात खाने, भोग लागेन तलाई ? स्कुलबाट आएदेखि रुमल्लि राख्या छ” मनमाया भन्छातिर लागिन्, कमल छेउमै टुक्रुक्क बस्यो । सधै सँगै बस्ने दिदीको पिर्का आज खालि थियो । आमाले थालभरि भात, भात भाथी कालो दाल र रायोको साग अनि गोलभेडाको अचार हालेर दिइन् । सँगै एउटा बटुकोमा दुध पनि थियो । सबैजना खानथाले तर कमललाई दिदीको थालको भात सम्झेर खानै मन लागेन, टोलाईराख्या देखेर मनमायाले अल्लि ठूलो स्वरले भनिन्
“छिटो खा न ! के हेरिराख्या होला आफूलाई कस्तो थकै लागिसक्यो, यत्तिको भाँडा माँज्नै बाकिछ, एस्सो काम सघाउँथी थन्की हाली” उनी आफ्नै दुखेसो पोख्न थालिन् । कमल खाएझै गर्नथाल्यो मुस्किलले आधा पनि खान सकेन,जुरुक्क उठेर गाईको कुँडोमा लगेर हालिदियो, बाहिर चुठेर आएर कसैसँग नबोली आफ्नो कोठातिर लाग्यो ।
कोठाको दुइतिर ससाना खाट थियो, एउटा कमलको र अर्कौ उसकी दिदी कोपिलाको थियो । खाटको बिचमा एउटा सानो टेबुल थियो, त्यसै टेबुलमाथि छरपट्ट किताव कापिहरू थिए, भुईमा ओछ्यएको राडीमाथि बसेर दुबै दिदीभाइ आफ्नो गृहकार्य गर्दथे । कमल लाई आज आफ्नो कोठा शुन्य लाग्यो । सधै दिदी भाइ सँगै बसेर पढ्ने गरेको अनि आफूलाई नआएको कुरा दिदीले सिकाउँने गरेको झलझलि सम्झिन थाल्यो । झोक्राएर बसेको कमललाई भलक्क याद आयो ओहो ! दिदी कसरी सुतेकी होली त्यस्तो साँगुरो ठाउँमा परालमाथी ! डौडिदै हेर्न जान मन लाग्यो, ढोकासम्म पुग्यो तर बाहिर आमा भाँडा माजिरहेकी थिइन्, गालिगर्ने डरले जान सकेन । फर्केर आएर बिछ्यौनामा पल्टियो, दिनभरिको थकाइले होला भसक्क निदायो ।
कमल बिहान बिउँझिदा आमा घरमा थिइनन् बा पनि काममा जान खोज्दै थिए, “बा ! आमा खोइ” उसले सोध्यो, “पधेरा गकी होली, ल ऊ त्यो कुडेमा दुध छ हालेर खादै गर ऐले आमा आउँछे, पढेर बस् नी ! म एकभारी घाँस लिएर आउँछु” छोरालाई अथ्याउँदै निस्किए । कमल सरासर भान्छामा गयो, एउटा गिलासभरि दुध हाल्यो र दिदी भएठाउमा गयो ।
“दिदी ! ए दिदी उठत !” दिदीले भित्रबाट भनी
“भाइ तँलाई हेर्न हुन्न भन्या छ, ऐले आमाले देख्नुभो भने मार्नुहुन्छ, उता जा, यता नआइजो” कोपिलाको बोलि सुनेर केही खुसी भएझै कमलले भन्यो, “ल ल ! म तिमीलाई हेर्दिदन, बरु छिट्टै यो दुध खाइहाल त आमा एैले हुनुहुन्न, तिमीलाई भोक लाग्यो होला भनेर मैले सुटुक्क ल्याको आमाले त दुध दिन हुन्न भनेर हिजो पनि दिनुभएन”
“हुन्न भने कसरी खानु त भाइ ?”कोपिलाको कुरा सुनेर कमलले भन्यो “आमालाई कस्ले भनछ र ? तिमी भन्दिनौ, म भन्दिन, थाहै हुन्न, ल झट्ट खाई हाल त” कोपिलाले सानो प्वालबाट बटुको छिराई कमलले दुध खन्याइदियो । आमा न आउँदै डौडेर घरमा आएर बस्यो । एकैछिनमा आमा आइन् खाना बनाइन् कमललाई खाएर स्कुल जान भनिन् । सधै दिदीभाइ साथै जान्थे, एक्लै जान अप्ठ्यारो लाग्ला भनेर छिमेकी की छोरी शान्तासँगै पठाईन् । कोपिलाकै उमेरकी शान्ता कहिलेकाँही घरमा आउजाउ र खेल्दाकी साथी भएकीले कमलले दिदीजस्तै गरेर साथैमा आउजाउ गर्न थाल्यो ।
यसैगरी चार दिन बित्यो, कमल कोही नभएको मौका छोपेर दिदीलाई घरमा भएको खानेकुरा लगिदिने अनि बाहिर बसेर बात मारिरने गथ्र्यो । पाचौ दिनको दिन बिहानै देखि कमलले दिदीलाई घर ल्याउँने कुरा गर्न थाल्यो “सान्तादिदीको मामाघरमा चारदिन भएपछि घर ल्याउँछन् रे आज पाचदिन भयो, दिदीलाई घर ल्याउँ न बा !”
“अचेल सबैले चलाइसके कोपिलाकी आमा ! हाम्री छोरीलाई पनि ल्याउँ न त, त्यो चीसो ठाउँमा कति बसोस्” विक्रम बहादुरले पनि सहमतिमा कुरा गर्न खोजे तर कोपिलाकी आमाले मानिन् “अरुले गरे भनेर भयो त ? मुखिया भएपछि गाउँलेको नियम बिगार्न पाहियो त, कतै केही भयो भने हामीलाई नै दोश दिन्छन् फेरि” मनमायाँले कुरा पर्न दिइनन् । उनी चुप्पै लागेर बसे । कमल एक्लै प¥यो, सुकसुकउँदै स्कुलतिर लाग्यो
बेलुकि स्कुलबाट फर्कने बिीत्तकै यताउति हेरेर कोही नदेखे पछि दिदीलाई बोलाउँन पुगिहाल्यो । सधै जस्तै गोठबाहिरबाट बिस्तारै बोलायो “दिदी ! ए दिदी उठ त, मैले मकैभटमास् ल्याएकोछु अलिकति थाप त” तर उताबाट केही आवाज आएन । निदाइन् क्यारे भन्दै अल्लि ठूलो स्वरले बोलाउँन थाल्यो “दिदी ! ए दिदी !” फेरि पनि अवाज आएन, ढोकामा लात्ताले हान्न थाल्यो, डाङडाङ डुङडुङ गर्दै थियो नजिकैबाट लामो कालो सर्पो सुलुक्क गयो । कतै दिदीलाई सर्पो ले त टोकेन ? मनभरि आशङ्का उब्जियो, जे त होला भनेर बलैले ढोका खोल्यो, भित्रपट्टि अचेत अवस्थामा लडेकी कोपिलालाई देख्यो । बा ! बा ! भन्दै अल्तालिदै घरतिर डौडियो । भर्खर घरमा आइपुगेका विक्रम बहादुर छोरो आत्तिदै कराउँदै आएको देखेर सोध्न थाले
“के भो ? किन अल्ताल्या ?” कमलले हकलाउँदै बोल्यो “बा ! सर्पो ! दिदीलाई सर्पोले टोक्यो”“हैन के भन्छ यो” भन्दै उनि गोठतिर डौडिन्छन् नभन्दै कोपिला निलो भएर सुतेकी थिई । हत्तन पत्त तान्दै गोठबाट निकाले । यत्तिकैमा मनमाया पनि आईपुगिन् । छोरिको यस्तो अवस्था देखेर डाको छोड्दै कराउन थालिन्
“मेरो बाबा ! तिम्लाई के भयो” झाँगल झुँगल गर्न थालिन् तर कोपिलाको प्रण गइसकेको थियो । हल्ला खल्लाले वरपरका छिमेकी र गाउँले सबैजसो जम्मा भए । सबैको निक्र्यौल भयो कोपिला अब मरिसकी, घाट लानुनै बेश हो ।
कमल सबै हेरिरहेको थियो, मान्छेहरूले दिदीलाई सेतो कपडामा बेरेर तल दोभानतिर लैजान लागे, कमल रुदै पछि लाग्यो तर केटाकेटिले घाट जान हुन्न भनेर बलैले समातेर राखे ।
आधिरातमा छोरीको काम सकेर विक्रम बहादुर घरमा आइपुगे, दुइचारजना छिमेकी साथमा मनमाया रुदै थिइन्, घरको मान्छे आएपछि छिमेकी पनि आफ्ना घरमा लागे । मनमायाले रुदैरुदै भनिन् “यस्तो होला भनेर के जान्नु र कोपिलाका बा ! छोरोले त घरल्याउँ भन्दै थ्यो, मैले नै पर्न दिइन, अब के गर्नु”
“जे हुनु भैगो अब पछुताएर के फाइदा ? बरु कमल खै ?” विक्रम बहादुर छोराको कोठाभित्र पसे । कुनामा डल्लो परेर बसेको कमललाई अँगालो हाल्दै भने, “तैले भनेको नमानेर हामीले आफ्नो छोरी गुमायौ, तेरी दिदीको हत्यारा हामी नै हाँै, तैले हामीलाई जे सजाय गरेपनि हुन्छ, अब हाम्रो सर्वस्व त नै होस्, यसरी कुनामा बसेर दुखमनाउँ गरेर अब तेरी दिदी फर्केर आउन्न छोरा”
रोइरहेका बाबुआमाको अनुहार पुलुक्क हेरेर कमले केही नबोली खाटमाथि चढेर कुनातिर मुन्टो फकाएर सुत्यो । भोलिपल्ट बिहानै जुरुक्क उठेर कमल कुटो लिदै बाहिर निस्कियो, विक्रम बहादुर पछिपछि गए । कमलले धमाधम छाउगोठ खन्न थाल्यो, उनीपनि छोरालाई सघाउन पुगे, मनमाया हेरिरहेकी थिइन् बाबुछोराले एक्कैछिनमा गोठ भत्काएर सम्म बनाए ।
कोपिला मरेर घरको दिनचर्या रोक्किएन । कमल पनि सान्तादिदी सँगै स्कुल जान्थ्यो, तर बाटोभरि देख्खिएका गाउलेका घरछेउको छाउँगोठ देख्यो कि भत्काइहाल्न मनलाग्थ्यो, नभन्दै एकदिन उसले सानो कुटो किताबको झोलाभित्र हाल्यो । कसैले नदेख्नि गरेर बाटो परेका गोठहरू खनेर ठुल्ठुलो भ्वाङ पादै हिड्न थाल्यो । यसैगरी उ आफ्नो मन शान्त पार्न खोज्थ्यो तर दिदीको याद भने कहिल्यै मेटाउन सकेन ।
दिनहरू निक्कै विते, सान्तादिदी कमलको साथी बनेकी थिइन्, स्कुल जादा आउँदा सँगै हुन्थिन्, कैलेकाहीँ घरमा आएर गृहकार्य पनि सिकाई दिन्थिन्, कमले आफ्नो दिदीलाई बिर्सन नसके पनि शान्तादिदी सँग निक्कै मिल्न थालेको थियो । एकदिन स्कुलबाट फर्कदा उसैगरी शान्ताको जामाको फेरोमा कमलले रातोरातो देख्यो । आत्तिदै कराउँन थाल्यो
“लौ तिमी त पर सरिछौ दिदी ! अब तिमीलाई पनि छाउगोठमा राख्छन्, अनि सर्पले टोकेर तिमी पनि मछ्र्यौ होला” शान्ता आत्तिदै थचक्क बसी, कमल डौडिदै घरमा गयो ।
हस्याङ फस्याङ गर्दै रुदैरुदै भन्न थाल्यो “शान्तादिदी पनि पर सरिछ बा ! उसको लुगाभरि रातै छ, अब उसलाई पनि गोठमा राख्छन् अनि उ पनि सर्पले टोकेर मर्छे हैन त बा ! मैले दिदी भन्ने मान्छे जति सबै यसैगरी सर्पले टोकेर मर्छन् अनि म मात्रै बाँचेर के काम ? मलाई पनि मर्न मन लाग्यो अब त बा !”
छोराको विलाप सुनेर विक्रम बहादुरको आँखा रसाएर आए, मनमायाले भनिन्,
“हेर कोपिलाका बा ! हामीले आफ्ना सन्तान त गुमायाँै, उबेलाँ बुद्धि पुगेन, छोराले लाखचोटि भन्यो घरमा ल्याउँ भनेर, चारदिन पछि ल्याएको भएपनि बाच्ने रछे, परम्पराको नाममा कोखा सन्तानलाई गुमाउँदाको पीडा कस्तो हुन्छ भन्नै कुरा म भोग्दैछु, अरुले पनि मैले जस्तै भोग्न नपरोस् ! हिड जाऊँ उनका धरमा र भनौ गोठमा नराख भनेर”
“हाम्ले भनेर मान्लान् र ?” विक्रम बहादुरले आशँका ब्यक्त गरे,
“किन नमान्नु, आँखा अगाडि हाम्री छोरी गएकी देखेकै हुन् फेरी तिमी मुखिया भको के काम ? यो रातमाटे गाउँभरि तिम्रो कुरा चल्छ, तिमीले आफै नियम बनाउन सक्छौ, सन्तानको मामलामा सबैले तिम्रो कुरा मान्छन्, मानेन् भने म सम्झाउँछु, कोपिला जस्तै अब अरु छोरीहरूलाई म अकालमा मर्न दिन्न, झट्ट गर” दुबैजना निकिए ।
दिदी मरेदेखि कमले आमासँग राम्ररी कुरा गर्दैथ्यो, कताकता आमालाई दोषी मान्थ्यो, आमाले जिध्दि नगरेको भए दिदी मर्दैनथी जस्तो लाग्थ्यो तर आज आमाको यो रुप देख्दा कमललाई आश्चर्य लाग्यो, शान्ता दिदीले छाउँगोठ बस्न नपर्नी भयो, अब मेरी आमाले जसरी पनि मिलाउँछिन्, पर नपुगुन्जेल सम्म उसले आमाको अनुहार हेरिरह्यो, स्कुलमा एकदिन मास्टरले भनेको कुरा सम्झियो “आमा भनेको आमै हो” साच्चे हो रहेछ आमा भनेको आमा नै हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।