उनान्चास बर्ष पछिको त्यो पुर्नमिलन :महेन्द्र चालिसे (संस्मरण)
कपन अनलाइन
काठमाडौं, जेठ २६।
पूर्वमा पैदल नै गएपनि २०–३० मिनेटको दूरीमा नगरकोट र त्यस भन्दा अघि बढ्ने हो भने मण्डन देउपुर पश्चिममा ऐतिहासिक र प्राचिन शहर साँखु, दक्षिणमा भक्तपुर र उत्तर तर्फ गहिरो खाडल जसलाई बोजिनी भन्छन् र त्यस भन्दा पर सिन्धुपाल्चोक । यसरी चारैतिरबाट घेरिएको १२९१ मिटरको उचाईमा रहेको अतिरमणीय स्थल हुो ‘कार्तिके द्यौराली’ यो ठाउँ काठमाण्डौं साँखु हुँदै नगरकोट जाने बाटोमा पर्छ ।
आजभोलि काठमाडौंबासी र त्यस्का वरिपरि बस्ने के युवा, युवती, के प्रौढ सवै यसो फुर्सद भयो कि काठमाण्डौंका प्रदुषण छल्न कार्तिके पुगिहाल्छन् । काठमाण्डौंको मुटु अर्थात् रत्नपार्कबाट करिब २६ किमिको दुरीमा रहेको यो कार्तिकेमा आजभोलि निकै चहलपहल देखिन पाइन्छ । अग्लो ठाउँ भएकोले मौसम खुलेको समयमा पुर्वपट्टि सुर्योदयको दृष्य देखिन पाइन्छ भने उत्तर तर्फ स्पष्ट रूपमा हिउँले ढाकिएका हिमालय श्रृङ्खलाको लोभलाग्दो दृष्य आँखाभरी मन नअघाउन्जेल देख्न पाइन्छ । ५–६ जनाको समुह अथवा परिवार छन् भने ५ हजार पचपन्न शयमा लोकल कुखुराको मासु सहित दालभात खान पाइन्छ । त्यसैले पनि विदाको दिन त त्यस क्षेत्रका रिसोर्टहरूमा खुट्टा टेक्ने ठाउँ हुँदैन भन्छन् । त्यसैगरी युवा युवतीहरू रात वस्दै पनि त्यस क्षेत्रमा जाने गर्छन् ।
‘महेन्द्र तिम्रो हालसालै कतै बाहिर जाने कार्यक्रम छ कि छैन हँ ?’ करिब १८–२० दिन अघि एउटा सोच्दै नसोचेको मेसेज आउँछ मोवाइलमा । मेसेज पठाउने व्यक्ति थियो अर्जुन पुडासैनी जो मेरो ५१ वर्ष अघि ९ कक्षा पढ्न विद्यालय भर्ना भएको दिन चिनजान भएको साथी थियो । ऊ र म तत्कालिन चामुण्डा हाइ स्कुलमा ९ र १० कक्षामा सँगै पढेका थियौं र ३२ सालमा सँगैै एस.एल.सी.दिएर पास पनि सँगैै भयौं । अनि २०३३ सालमा कलेज पनि सँगै गयौँ, संयोग कलेज पनि एउटै थियो तर सेक्सन फरक । त्यसबखत कलेजमा आक्कल झुक्कल भेट हुन्थ्यो र हाइ हलोमै सम्बन्ध सिमित भयो र जीवनको गोरेटोमा दुवै एक अर्कासँग अलप भयौं ।
हो, त्यै साथीले मेसेज गरेको रहेछ । केही क्षण त अलमल्लमा परें– ‘हैन मेरो बाहिर जाने र नजानेसँगै अर्जुनको के सरोकार । फेरि जुन दिन उसले मेसेज गरेको थियो त्यसको ठिक १ महिना पछि एकै महिनाका लागि म बाहिर जाँदै थिएँ । सायद यही कुरा थाहा पाएर पो, उसको केही काम परेर सोधेको पो हो कि भन्ठानेर मेसेजको जवाफ लेख्न मात्रै सुरू गरेको थिएँ, उसैको फोन आइहाल्यो । फोन उठाएर हेलो पनि भन्न भ्याएको छैन उताबाट एकैचोटी अर्जुन कराउन थालिहाल्छ । ‘हैन यत्रो वर्ष भैसक्यो कोही साथीहरूसँगै कुनै सम्पर्क छैन, हद हुन्छनी । ल अब हामी चामुण्डा स्कुलको ३०–३२ साले एस.एल.सी.ब्याचका साथीहरूको भेटघाट गर्नुप¥यो । तिम्रो फुर्सद के छ, तिमी बाहिर गै रहन्छौ रे, हालसाल जाने कार्यक्रम छ कि छैन ? मैले २०–२५ जनासँगै सम्पर्क गरिसकेँ, सबैजना महेन्द्रको अनुकुल मिलाऊ भन्छन्, तिमीलाई त कसैले बिर्सेका रहेनछन्’ ऊ एकै सासमा मलाई केही भन्नै नदिइ यति भनिसक्छ ।
‘ए ! ल खुसी लाग्यो अनि तिमीहरूले भनेको कुरा ४९–५० वर्ष अघि त नाइ भनिन भने ऐले भन्छु होला त । ठीक छ म चाहिँ जेठ २८ गते १ महिनाको लागि बाहिर जान्छु ।’ म अर्जुनलाई जवाफ दिन्छु , ‘ल त्यसो भए पर्सि २१ गते जोरपाटीमा बिहान ७ बजे भेटौँ म सबैलई खबर गर्छु, जो जो आउन मिल्छ आउछन् अनि यही दिन निर्णय गरेर तिमी बाहिर जानु अघि नै एउटा पिकनिकको आयोजना गर्नुपर्छ’ अर्जुन बताउँछ ।
अर्जुनसँग यति कुरा भएपछि मनमा एक प्रकारको कौतुहल अनि केट्यौलोपन जागृत भयो । हामी पढ्दा ९ र १० कक्षामा ५२–५४ जना थियौँ, र दश कक्षामा लिइने टेष्ट परिक्षामा २६–२७ जना उत्तिर्ण भएका थियौँ र ती २६–२७ जनाले एस.एल.सी. दिएका थियौँ । त्यसपछि ती साथीहरूमध्ये अहिले सम्म १२–१५ जनासँगै आक्कल झुक्कल भेटघाट हुन्थ्यो । हामी साथीहरू कहाँ छन् के गर्दै छन् यस्ता कहिल्यै खोजिनिति गरिएन । जब अर्जुनले यो भेटघाटको योजना राख्यो, त्यसपछि त मनमा ती सबै साथीहरूको विगतको अनुहार भलै अहिले ती अनुहारहरूमा धेरे परिवर्तनहरू आइसकेको हुन सक्छन्, झल्झली देखिन थाल्यो ।
अर्जुनको प्रस्ताव अनुसार २९ गते जोरपाटीमा भेट्न गएँ, त्यसदिन जुन खुसी र उमंगले जोरपाटी गइयो, पुग्नासाथ आधा खुसी र उमंग हरायो । किनकी त्यसदिन त्यहाँ हामी जम्मा जम्मी १२ जना उपस्थित थियौं र त्यो १२ जनामा पनि हामी ७ जना जति त आक्कल झुक्कल भेट भैरहने साथीहरू नै थियौं । त्यो दिन जेठ १५ गते जति सकेका धेरै साथीहरू जम्मा भएर जहरसिंपौवामा पिकनिक जाने कार्यक्रम तय भयो र सोसल मिडियामा ‘एस.एल.सी. ब्याच २०३२ चामुण्डा मा.वि.गु्रप’ खोल्ने र त्यसमा सबैजना जोडिने र सबै सूचना, जानकारी त्यही पेज मार्फत गर्ने भनेर ।
सोही अनुसार उक्त पेज पनि खोलियो र सबैको नाम र फोन नं. त्यसैबाट एक अर्काले सेयर गरे । त्यसमा उल्लेख भएको सबै नामहरू परिचित लाग्यो तर एउटा नाम जसलाई मेरो दिमागले पहिल्याउन सकेन । सबै नामको एक एकवटा घुमिल चित्र मानस पटलमा आयो तर एउटा नाम ‘बाबा जोशी’ अहँ यो नामको व्यक्ति छात्र या छात्रा, मेरो दिमागले पहिल्याउन सकेन । कसैलाई सोधौँ ? तर अहँ आफ्नो कमजोरी देखाउन पनि मन लागेन । त्यसपछि फेसबुकमा खोज्न थालेँ त्यहाँ त पक्कै भेटिन्छ कि भनेर । नभन्दै फेसबुकले देखाएको बाबा जोशीहरू मध्ये एउटी बाबा जोशीको फोटोमा गएर आँखा टक्क अडिन्छ ती त त्यतिबेला बाबा जोशी नभएर शारदा कुइँकेल थिइन् । तर अहिले बाबा जोशी भैछन् ।
अब पर्खाइ थियो, जेठ १५ गतेको र त्यो दिन कहिले आउला जस्तो पनि भैरह्यो किनकि पचासौँ वर्ष पुरानो साथीहरूसँग पुर्नमिलन हुँदै थियो । सायद त्यो व्यग्रता सबैलाई थियो ।
सोसल मिडियामा गराइएको जानकारी अनुसार २०८१ साल जेष्ठ १५ गते सबै जना चामुण्डा स्कुलको प्रागङ्णमा भेट्ने र त्यहाँ हालका प्रधान अध्यापक र अन्य उपस्थितहरूबाट आशिर्वादका २ शब्द लिएर गन्तव्य तर्फ लाग्ने ।
१५ गते निर्धारित समयमा सबैजना जम्मा भयौं । जाने भनेर आएका दुई साथी धर्मलाल श्रेष्ठ र विनु पौडेल नजाने भनेर स्कुलबाटै फर्किए भने नगएपनि साथीहरूसँग यसो भेटेर फर्कन्छु भनेर आएकी सुजना पौडेल सबैको आग्रहलाई नकार्न नसकि गन्तव्यमै जानुभयो । यसरी त्यस समुहको अहिलेसम्म सम्पर्कमा आएका मध्ये म महेन्द्र चालिसे, अर्जुन पुडासैनी, गोपाल कर्माचार्य, परशुराम खनाल, मणि सुवेदी, शारदा कुइँकेल, भरत सुवेदी, सुजना पौडेल, उद्धव बिष्ट, रमेश पोखरेल, दुर्गा प्रसाद पुडासैनी, चन्द्रदेवी श्रेष्ठ, रमेश भट्ट, हेम ठकुरी, शिव पौडेल, चन्द्र शेखर गजुरेल, लक्ष्मण श्रेष्ठ, कमल खनाल, गोकुल कार्की, विदुर अर्याल, सुन्दर कार्की, विमला थापा, मधुसुदन पोखरेल, विनोद चापागाईं, रामकृष्ण पराजुली, केदार न्यौपाने र मुकुन्द सुवेदी गरी २७ जना विद्यार्थी र अर्जुन पुडासैनीको श्रीमती अहिल्या पुडासैनी सहित २८ जना सहभागीहरू प्रधान अध्यापक सरले उपलब्ध गराउनु भएको मिठो चिया पिएर कार्तिके द्यौरालीतिर प्रस्थान ग¥यौं । सवैजना आफ्नो वर्तमान उमेर बिर्सेर उही स्कुल पढ्दाको १४–१५ वर्षे उमेरवाला उमङ्गको साथमा ।
‘बुझ्यौँ महेन्द्र’ साँखुबाट उकालो लागेपछि चन्द्रदेवी श्रेष्ठ भन्छिन्– ‘इन्डियनले एउटा गोरी केटी देखाएर काली केटी बिहे गरिदिए जसरी यी लक्ष्मणहरूले हामीलाई झुक्याए नी ।’
बसमा सबैजना हास्छन– कुरा के भएछ भने पहिला यो कार्यक्रम जरसिंहपौवामा गर्ने भन्ने निधो भएको थियो तर पछि संयोजकहरूले स्थान फेरेर कार्तिके सारेछन् । त्यसैलाई सङ्केत गर्दै चन्द्रले भनेकी रहिछन् ।
सायद पुराना छात्रछात्राहरूसँगै एकवद्धता गर्न भनेर आफ्नो कार्य व्यस्तताका बावजुद पनि चामुण्डा स्कुलका वर्तमान प्रधान अध्यापक गुणराम आचार्य र सहायक प्रधान अध्यापक भण्डारीसर दिउँसो १२ बजेतिर एकैक्षण स्कुलबाट कार्तिकेसम्म आएर गफ गरेर फर्कनु भयो जुन हामीहरूको लागि गौरवको विषय थियो ।
दिनभर आ–आफ्ना अनुभव आ–आफ्ना विगतहरू एक अर्कासँग साटासाट गर्दै अनि सङ्गितका तालमा आफुलाई भुलाउँदै दिनभरी कार्तिकेमा बितायौं, चन्द्रदेवी श्रेष्ठले राखेको– ‘त्यो व्याचको तर्फबाट चामुण्डामा पढ्ने कमसेकम १ जना भएपनि असहाय विद्यार्थीलाई छात्रवृत्ति दिन एउटा अक्षयकोष खोल्नेकी’ भन्ने एउटा प्रस्ताव चाहि अर्को भेटघाटमा निर्धारण गर्ने भन्ने सङ्कल्पको साथ साँझ साढे ५ बजेतिर हामी त्यहाँबाट प्रस्थान ग¥यौँ ।
यस्तो भेटघाट होस या जमघट होस, त्यहाँ पुगेपछि तास खेल्नै पर्ने र यसो बिजुली सर्वत पिउनै पर्ने भन्ने मानसिकता पनि रहने कुरा कुनै नौलो हैन । सोही अनुसार हाम्रो यो समूहमा पनि केही साथीहरू गएदेखी फर्कने बेलासम्म त्यसमा व्यस्त भैदिनाले सायद हुनैपर्ने जति रमाइलो नभएको हो कि भन्ने पनि अन्दाज गर्न सकिन्थ्यो । जे जस्तो भएपनि ४९–५० वर्ष पछि भएको यो पुनर्मिलन कार्यक्रमलाई शुभारम्भ मानेर आगामी दिनहरूमा अझ बढी यादगार बनाईने छ भन्ने आशा चाहिँ लिन सकिन्छ ।
सहकार्य : क्पान बानेश्वर साहित्यिक साप्ताहिक