यसमा मेरो के दोष : राजेश अधिकारी (कविता )

यसमा मेरो के दोष : राजेश अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं, जेठ २६।
तिमीलाई सम्झिदैमा क्षुब्ध नहोऊ न प्रिये
किनकी मेरो कल्पनाको सागरमा सदैव
तिम्रा स्वप्निल झझल्काहरू पौडिरहन्छन्
यसमा मेरो के दोष ?
किनकी मेरो परिकल्पनाको हुन्डरीहरूलाई
कसैका चियोचर्चोका तगाराले छेक्नै सक्दैनन्
तिमीभित्र समाहित हुनबाट कसैले रोक्नै सक्दैनन्
लुकिछिपी हेरेकै भरमा नरिसाऊ न प्रिये
किनकी मेरा चोर आँखाहरूले अकारण
तिमीलाई हरदम चिहाएर हेरिरहन्छन्
यसमा मेरो के दोष ?
किनकी मेरा अनियन्त्रित आँखाहरू
मर्यादाको बन्धनमा बाधिनै सक्दैनन्
तिम्रो असिम सुन्दरतासँग विकर्षित हुनै सक्दैनन्
चाहदैमा रिसानी भए माफ होस् प्रिये
किनकी  मेरो अधिर मनले हरपल
तिमीलाई व्यग्रतापूर्वक चाहिरहन्छ
यसमा मेरो के दोष ?
किनकी अन्तरदिलभित्रको यो बेलगाम मन
छातीको झ्यालखानाभित्र कैद हुनै सक्दैन
प्रेमको स्वतन्त्र सगरमा नउडी रहनै सक्दैन
नजिकिन खोज्दैमा कुपित नहोऊ न प्रिये
किनकी मेरो प्रणयी ढुकढुकीले सदैव
तिम्रो स्पन्दनहरूसँग लुकामारी खेल्न चाहन्छ
यसमा मेरो के दोष ?
किनकी मेरा मधुर प्रेमका आवेगहरूलाई
दूरीका दुर्भेद्य पर्खालहरूले छेक्नै सक्दैनन्
तिम्रा चित्ताकर्षक मुस्कानहरूले नखिचिरहनै सक्दैनन्
च¥याइरहेको मुटुमा प्रेमामृतको मलम लगाइदेऊ न प्रिये
किनकी मेरो घायल मुटुले पलपलमा
तिम्रो न्यानो प्रेमास्पर्स खोजिरहन्छ
यसमा मेरो के दोक्ष ?
किनकी मायाको गुलेलीले लागेको गहिरो चोट
प्रेम प्रस्तावको स्विकारोक्ती बिना बिसेकै हुँदैन
तिम्रो प्रेममय स्पर्शको इलाज बिना ठिकै हुँदैन
सहकार्य : क्पान बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।