शालिकको छोरो : प्रेम घिमिरे ‘अग्नि कवच’ (लघुकथा)
कपन अनलाइनकाठमाण्डौ,फागुन ५।
‘आहा ! गाउँ त पुरै परिवर्तन भैसकेको रहेछ ।’ उसले बसबाट ओर्लने बित्तिकै मनमनै भन्यो । सुकेटार जाने बाटोको चोकमा सुन्दर शहीद पार्क बनेको थियो । ठूल्ठूला स्तम्भहरूमा लहरै पाँचवटा शहीदका शालिकहरू देखेर उसको मन प्रफुल्ल भयो । ऊ दौडिँदै शालिकहरूको अगाडि पुग्यो । शिर झुकाएर शहीदप्रति श्रद्धाञ्जली अर्पण ग¥यो । फर्कँदा पार्कको गेट छेउमै बसेको बालकलाई देखेर दश रूपैयाँको नोट कचौरामा राखेर ऊ गाउँको बाटो लाग्यो ।
पाँच वसन्त मलेसियामा बिताएर घर फर्किएको थियो जीवन । ऊ विदेशिँदाको सुकेटार गाउँको तश्विर सम्झँदा कहाली लागेर आउँछ । अहिले सुकेटारमा बाटो, विजुली, खानेपानी जस्ता समस्याको समाधान भैसकेको देखेर ऊ दंग छ । तर शहीद पार्कको गेटमा बसेर भिख माग्दै गरेको बालकले
भने उसको मनमा तुफान चलाएको छ ।
‘त्यो बालक को होला ? किन त्यसरी भिखारी बनेको होला ? यो उमेरमा त ऊ विद्यालय जानुपर्ने होइन र ?’ यिनै प्रश्नहरूको भुमरीमा फसेको छ जीवन ।
‘ए ! जीवन तँ कहिले आइस् ?’ पछाडिबाट आएको चिनेजानेको आवाजले जीवनको पाइला रोकियो । रमेश रहेछ । ‘आजै आउँदैछु नि !’ जीवनले जवाफ दियो ।दुबैले हात मिलाए । भलाकुसारी गरे । रमेशले गाउँको हालखवर बतायो । जीवनले विदेशमा भोगेका कथा सुनायो । प्रसंगबस जीवनले पार्कमा भिख मागेर बसेको केटाको बारेमा सोध्यो । रमेशको कुरा सुनेपछि ऊ छाँगाबाट खसेसरि भयो ।
नहोस् पनि किन ? गर्भमै हुँदा बाबु गुमाएको अजयको आमा पनि सडक दुर्घट्नामा बितेको चार वर्ष भैसकेछ । बाबुको अनुहारै नदेखेको अजयलाई रमेशले एकदिन ‘तिम्रो बुवा यो देशको अमर शहीद हो । तिमी यही शालिकको छोरो हौ’ भनेर चिनाई दिएका रहेछन् । त्यही दिनदेखि ऊ आफ्नै बुबाको शालिक अगाडि बसेर दिन बिताउन थालेछ । मनकारी मान्छेहरूले दिएको दुई÷चार रूपैयाँले जीवन गुजारी रहेको अजय सबैथोक गुमाएर पनि गर्वसाथ भन्दोरहेछ ‘म शालिकको छोरो ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।