तारेभीरको कहर : विष्णुप्रसाद शर्मा पराजुली ((निबन्ध)
कपन अनलाइन
काठमाण्डौ ,माघ २०।
एक दशक पहिलेसम्म शिवपुरी, बागद्वार र चिसापानीबाट ओरालो झरेको चितुवा थान डाँडा, तारेभीर, विष्णुमुहानतिर देखापथ्र्यो । मान्छेको पदचाप सुनेपछि कहिले लुसुक्क ककनीतिर त कहिले गोकर्णतिर लम्कन्थ्यो, समाचार बन्थ्यो । चितुवाको त्यस समाचारले शहरबासी रोमाञ्चित हुन्थे र भन्थे, “अहा ! चितुवा देख्न पा’ त ! ” ।
दुई दशक पहिलेसम्म गोकर्णेश्वर र बूढानीलकण्ठ नजीकका गाउँले घाँसदाउरा लिन थानडाँडाको वन र टाढा भनेको हालको हेलिप्याड, जसलाई तारेभीर भनिन्छ, सम्म पुग्थे । खासमा हेलीप्याडबाट नागीगुम्बातिर उक्लँदा त्यसको पूर्वी पखेरामा शिवपुरीको धारसँगै जोडिएर घोप्टो परेर गोकर्णको मन्दिर र वाग्मती नदीलाई हेरेको जस्तो देखिने लालीगुराँस, कटुसको रुख र झाडीसहितको कालो चट्टाने पहरो हो तारे भीर । पखेरामा टाँसिएको जस्तो देखिने तारेभीर गाउँ र नागीगुम्बा काठमाडौँ उपत्यकाबाट टक्लक्क देखिन्छ, जसरी अन्यत्रबाट चन्द्रगिरि, जामाचो र फुलचोकी देखिन्छन् । त्यहाँबाट पूर्वमा गोकर्ण, उत्तरतिर बाग्द्वार, शिवपुरी तथा चिसापानी र पश्चिममा विष्णु मुहान, ककनीतिर जाने निकुञ्जको अग्निनियन्त्रक मोटर बाटो छ ।
राजधानीको बूढानीलकण्ठ, कपन, गोकर्ण, बौद्धदेखि पाँच–छ किलोमिटरको दूरीमा रहेको ‘तारे भीर’ त्यही पहरालाई मात्र नभनी त्यस क्षेत्र र गाउँलाई नै भन्ने गरिन्छ । तारे भीर जुन पहरो हो, त्यसको दक्षिणी अनुहारचाहिँ होचै भए पनि साँच्चिकै कोप्रो भीर परेको छ भने पूर्व र पश्चिम पखेराबाट त्यसका टुप्पामा पुग्न सकिन्छ । तारे भीर क्षेत्र सल्लो, कटुस, चिलाउने, लालीगुराँससहितको सदाबहार हरियो वन हो । त्यहाँ रहेका बाक्लो झाडी, घाँस, ऋतुअनुसार फुल्ने सयौँ थरीका पूmलले गर्दा त्यो क्षेत्र वर्षभरी नै अतिनै रमणीय देखिन्छ । यो क्षेत्र लामपुच्छ«ेको बासस्थान नै हो भने अन्य थुप्रै चराचुरुङ्गी यहाँ पाइन्छन् । पन्ध्र वर्ष पहिले त्यहाँ पदयात्रा गर्दा हरिणले सहजै बाटो काटेको देखिन्थ्यो । राष्ट्रिय निकुञ्जको सीमावर्ती भएकैले पनि निकुञ्जमा पाइने वनस्पति, चरा, र जङ्गली जनावर यहाँ पाइन्थे ।
सीमावर्ती क्षेत्रको थुम्काबाट दक्षिणतर्फ हेर्दा पूर्वमा नगरकोट, चाँगुनारायण, विमानस्थल, पशुपति, बौद्धनाथ, असन, इन्द्रचोक, टुँडिखेलदेखि पश्चिममा ककनीसम्मको फराकिलो उपत्यका मज्जाले देखिन्छ । फूलचोकी, चन्द्रागिरि, नागार्जुनदेखि ललितपुर, मकवानपुर सम्मका महाभारत शृङ्खलाका लोभगाल्दा पर्वत तरेली परेर गाँसिएका देखिन्छन् । दुई दसक पहिलेसम्म ती पहाडका फेदमा अवस्थित विशाल फाँट देखिन्थ्यो । त्यस फाँटमा धान, मकै, तरकारी, बोडी, सिमी आदि थरीथरीका अन्नबाली उब्जन्थ्यो । शिवपुरीको शिर र यसको काख वरपर मूल भएका वाग्मती, विष्णुमती, रुद्रमती, इच्छुमती नदीहरू रारातालको सफा पानी जस्तै कञ्चन देखिन्थ्यो । आकाश चौपट्टै सफा र गाढा नीलो देखिन्थ्यो । नीलो आकाश, सेता हिमाल, वरपर महाभारत पर्वतले सिँगारिएको काठमाडौँ उपत्यका जेम्स हिल्टनले ‘लस्ट होराइजन’पुस्तकमा भनेझैँ ‘साङ्ग्रिला’ हिमाली बासिन्दाले भनेझैँ ‘वायुल’ र भानुभक्तले भनेझैँ ‘अलकापुरी’ र पुराणमा भनेझैँ ‘स्वर्ग’ थियो । सुन्दर ठाउँ, सुन्दर गाउँ, सुन्दर हिमाल, नागबेली बनेर बगेको नदीलाई हाम्रा पूर्वजले स्वर्ग भन्थे । मलमुत्र नबगोस भनेर देवीदेवताको नाम राखेर पुज्थे । पछिल्लो पुस्तालाई सचेत पार्थे । तिनले सुन्दर जगत् र सुखी जीवनलाई स्वर्ग भने । हो, त्यस्तै स्वर्ग हिजो काठमाडौँ उपत्यका थियो । तारे भीरबाट हेर्दा विशाल उपत्यका साँच्चिकै मनमोहक देखिन्थ्यो ।
सुन्दर, आकर्षक र मानवलाई लोभ्याउने क्षमता राख्ने प्राकृतिक सुन्दरतालाई मानिसले स्वर्ग भनेका हुन् । हाम्रो प्राचीन ग्रन्थमा हिमालय क्षेत्रलाई स्वर्ग भन्ने गरिएको छ । आजकलका युवायुवतीले जब अग्लो हरियो पहाडको छातीलाई सुम्सुम्याउँदै सेताम्मे झरना निश्छल रूपमा छङ्छङ र झरझरको धुनसँगै झरेको देख्छन्, त्यसलाई स्वर्ग भनिहाल्छन् । र यदिसँगै आफ्नो प्रेमी वा प्रेमिका जो भा’नि रोमाञ्चित हुँदै च्याप्प समातेर म्वाँई खान्छन् । शिवपुरीमा पुग्नेहरू जब नीलो आकाशको अँगालामा बाँधिएर हिमालका चुलीहरूले एकार्कालाई म्वाइँ खाएको देख्छन्, त्यसलाई स्वर्ग भन्दै अँगालोमा बाँधिएर सेल्फी खिँच्छन् । उच्च लेकतिर जाँदा जब हरियो पाटनमा ढकमक्क फुलेका बुकी पूmलसँगै याक, चाँैरी र भेंडाच्याङ्ग्रा चरेको देख्छन्, त्यसलाई स्वर्गीय आनन्द भएको भन्छन् । हो, त्यस्तो सुन्दरतालाई लेखक, कविले थप उपमा दिएर स्वर्ग भनिदिए । त्यो वास्तवमा स्वर्ग हो । मरेपछि पुग्ने भनेको स्वर्ग यथार्थभन्दा फरक काल्पनिक स्वर्ग हो, जो छैन र हुँदैन । हाम्रा वैदिक ग्रन्थमा मानव जातिलाई मर्यादामा रहेर आदर्श जीवन गुजारा गर्न प्रेरित गर्ने उद्देश्यले स्वर्ग र नर्कको कल्पना गरिएको हो । यद्यपी हाम्रो हिमाली उपमहाद्विपका धेरै बासिन्दा मृत्युपछिको स्वर्गमा चैन गर्ने कुरामा विश्वास गर्छन् । वाश्तवमा, यथार्थमा अनुभूत गर्ने गरी, हिजोका दिनमा कान्तिपुर साँच्चिकै अलकापुरी नै थियो ।
तारे भीरतिरबाट हेर्दा त्यस उपत्यकामा मन्दिरै मन्दिर, विहार र स्तूपै स्तूप अत्यधिक देखिन्थे । त्यसैले समुद्रपारबाट आउने विदेशी लेखक तथा यात्रीले “ओहो ! यो त मन्दिरै मन्दिर भएको स्वर्ग जस्तो शहर रहेछ” भने । सिल्भाँ लेभी, जोसेफ टुची र टोनी हेगनले त्यसै भनेर इतिहास, संस्कृति, जनजीवन र भूगोलका पुस्तक पनि लेखे ।
अहिले त्यस्तो रहेन, परिवर्तन भयो । अहिले त शिवपुरी, चन्द्रागिरि, फूलचोकी, नागार्जुन र गुर्जु डाँडालाई छेक्ने गरी भवन ठडिएका छन् । उपत्यका भवनले भरियो । मन्दिर भवनले पुरिए । मूर्तिहरू विदेशिए । वन पातलो भयो । चितुवा शिवपुरी वरपर छैन । हरिण र भालु शहरबाट उत्सर्जित कोलाहल र प्रदूषणले आक्रान्त बनेका छन् । रुख, बिरुवा, पूmल तीस वर्षको उमेरमै कुपोषणले चाउरिएकी बैतडीकी बहिनीका गाला जस्तै भएका छन् । नदीहरू मूलदेखिनै मलमूत्रमा परिणत भई रूप परिवर्तन गरेर दुर्घन्धित र गाढा नीलोबाट हाँडीको मोसो जस्तै कालो लेदोमा परिणत भएका छन् । खेत, बारी, नदी, खोला, पखेरा, वन, सार्वजनिक जग्गा मासेर शहरमा रुपान्तरण गरिएको छ । नागार्जुन पर्वत जत्रै फोहरका डङ्गुर थुप्रिएका छन् । त्यही थुप्रोमा भुनभुनाएका झिङसँगै युद्ध गर्दै फुटपाथेहरू सहरमा निस्सासिएका छन् । हो त्यस्तैलाई आधुनिक र विकसित भन्ने हो भने प्राचीन नेपाल खाल्डामा विकास भएको छ । त्यसको परिणाम कोभिड र डेँगुको प्रसाद आधुनिक मन्दिरबाट नागरिकलाई वितरण गरिएको छ ।
सरकार त छ, तर ऊ नाक थुनेर टोयोटा, मर्सिडिजमा हुइँकिन्छ । श्रीमती, ज्वाइँ, साली, सालालाई थप अधिकार सम्पन्न बनाउन राजनीतिक गठबन्धन गरिरहन्छ र सरकारले नागरिकलाई आधुनिक विकासका नाममा डेँगुको प्रसाद वितरण गरिरहन्छ । आपूm नेता चाहिँ विदेशी हुइँकिन्छ । भानुभक्तको त्यस अलकापुरीमा उनका सन्तान आज बडो मुश्किलले ढलबाट प्रवाहित अक्सिजन तानिरेहका छन् । तारे भीर सभ्य भनिने मानवद्वारा गरिएको अति प्रदूषणबाट उत्तिकै आक्रान्त बनेको छ ।
कपन गुम्बा, कपन गढी, कपन भन्ज्याङ, जगडोल भन्ज्याङ, थानडाडा, छिनेको पहिरो, तारे भीर, नागी, गुम्बा, विष्णु मुहान, ककनी, बागद्वार, शिवपुरी, सुन्दरीजल, चिसापानी क्षेत्रमा नियमित पदयात्रा गर्न थालेको करिव पच्चिस वर्ष भएछ । तारेभीर र नागि गुम्बातिर साताको दुई दिन पदयात्रा गर्न थालेको पनि पन्ध्र वर्ष नाघेछ । जगडोल भन्ज्याङबाट तारेभिरतिर उक्लँदा बाख्रा चराउँने, घाँस खुर्कँने, तारेभीरतिरबाट सामान लिन र कोदो, मकै बेच्न झर्ने मानिस बाहेक त्यसबेला विहान हिंडने मानिस पटक्कै भेटिन्नथे । कहिलेकाहिँ हरिण फुत्त गोकर्ण र चुनीखेलका खोल्सातिर फुत्त भागेको देखिन्थ्यो । एक पटक त चितुवा त्यो क्षेत्रबाट गोकर्णतिर झरेको समाचारनै बन्यो । चराचुरुङ्गी, लाली गुराँस, सुनाखरी लगायत वर्षभरि फुल्ने सयौँ थरीका फूलको वास्नाले हिंडेको थाहै हुन्नथ्यो । म अलि ढिलो निस्कँने गरे पनि चितुवा देख्न पाए हुन्थ्यो भन्ने चाहना मनमा हुँदाहुँदै पनि भित्रभित्रै भने कतै चितुवाले गालामा झ्याम्म झापड दिने हो कि भन्ने भित्री डर पनि त्यत्तिकै लाग्थ्यो । तर म हिड्थे, हिडिरहेँ ।
पुरानो एउटैमात्र गोरेटो थियो, त्यहीँ गोरेटोबाट मानिस ओहोर दोहोर गर्थे । जगडोल भन्ज्याङदेखि नै सल्लाको बाक्लो वन थियो । अग्ला, सुरिला सल्लाका बोटहरू सुस्साउदा मुटुसम्मनै खुसी छिथ्र्यो । लामपुच्छ«े, कालिज, ढुकुर, जुरेली सहित थुप्रै चराचुरुङ्गी रूखका डालीमा नाच्ने र झाडीमा लुकेको देख्दा हर्षले मन तिनै चरीहरूसँग पखेटा फिँजाएर उड्थ्यो । कपनको बसाई भएकाले प्राकृतिको त्यो मनोरम वातावरणको भरपूर स्वाद लिन पाउँदा आपूmलाई विशेष लाग्थ्यो ।
समय बदलियो । बस्तिहरू बाक्लो भए । भन्ज्याङसम्मै बाटो पिच भयो । त्यो क्षेत्रमा क्रमशः मानिसहरू हिंडन थाले । त्यसैगरी पखेरामा प्लास्टिकहरू देखिन थाले । हुँदाहुँदै यतिसम्म भयो कि यो क्षेत्रमा उपत्यकाकै मानिसहरू ओइरिन थाले । मुख्य तारेभीर नजिकका पखेरा पनि तारे भीर नै भनिए । टहरे रेष्टुरेण्ट गाउँसम्मै बने । मानिस पुरानो गोरेटो छोडेर जताजतैबाट हिंडन थाले । पखेरा भरी गोरेटा भए । पूmलका बोट मासिए । घाँस मेटियो । सल्लाका विरुवा मासिए । अनि, वरपर, तलमाथि, पखेरोपखेरी, झारझुर, घाँसपात सबैतिर मिनरल वाटर, कोक आदिका बोतल, बियरका क्यान र सिसाका बोतल, बिस्कुट, भुजिया, लेस, चिप्स, चाउचाउ आदिका प्लाष्टिकका खोष्टा घाँस पुरिने गरी छरपष्ट भए । त्यस्तै थुप्रामा शहरका भुस्याहा कुकुर झुम्मिएको देखिन थाल्यो । चराचुरुङ्गी सल्लाको डालीमा बसेर त्यस्तै विरहको गीत गाउँदै वल्लो डालीबाट पल्लो डालीमा भुर्र भुर्र उड्न थाले । पैंयुटारमा रहेको क्लवले सरसफाईको लागि अभियान नै चलायो । तर मानिसमा आपूmले ल्याएको फोहोर आफैले बोकेर फिर्ता लैजानुपर्छ, फोहोर फाल्न हुँदैन, पुरानो गोरेटोमा पैतालाको छाप मात्र छोडने हो जताततै हिंडने होइन, फोहोर गर्ने होइन भन्ने चेत पटक्कै पलाएन । यद्यपि त्यहाँ पुग्ने शिक्षित, सभ्य, धनि, शहरिया नै हुन् । त्यसरी म हिंडदा हिंडदै तारे भीर वरपरका सबै पखेरा हेर्नै नहुने गरी फोहोरका पखेरामा परिणत भए । शनिवार र विदाको दिन त पखेराहरू मानिसको झुण्डले भरिन थाल्यो ।
चार वर्ष पहिले, हाल वुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, ज्ञानेन्द्र बानिया सहित केही साथीहरू चुनीखेलदेखि उक्लेर तारे भीरतिर जाँदै थियौँ । शनिवारको दिन थियो । पखेरा भरी युवायुतीहरू देखिन्थे । एक ठाउँमा आपूmले ल्याएको खाजा खाएर कोकको बोतल, बियर, प्लास्टिक र मिनरल वाटरका बोतल छोडेर हिडेको हामीले देख्यौँ र आफ्नो फोहोर आपूmलेनै लैजान आग्रह ग¥यौँ । त्यसबेला सहरिया देखिने ती युवाले “ अरूले फालेका छन्, हाम्ले किन नफाल्ने । तँ को होस् हामीलाई अर्ती दिने ?” भनेर बाटो लागे । त्यो प्रवृत्ति निक्कै झ्याम्मिएको छ । अहिले मिठाराम अधिकारी वुढानीलकण्ठ नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ । फोहोर र रूख काटिएको जानजारी मैले उहाँ सहित वडा प्रमुखलाई दिने गरेको छु ।
एक दिनको कुरा हो, थानडाडाको उकालोमा उक्लँदै थिएँ । नगरकोटतिरबाट हुँदै गरेको सूर्योदय सल्लाका रूखको चेपबाट लोभलाग्दो देखिएको थियो । अघिल्लो दुई दिन झरी परेर वातावरण शान्त, स्वच्छ, सुन्दर, चिल्लो बनेको थियो । आकाश चौपट्टै नीलो देखिन्थ्यो । वन बर्खाजस्तै चम्किलो हरियो देखियो । काठमाडौँबाट देखिने हिमाल नयाँ हिउँ थपिएर होला, अचम्मै सेता, कोमल र सुन्दर देखिए । पानी परे पनि त्यस बेला चन्द्रगिरि, शिवपुरी, नगरकोटमा हिउँ भने परेन । त्यस्तो सुन्दर वातावरणमा म रमाउँन सकेको थिइनँ । त्यही फोहोरले ध्यान खिच्थ्यो । म भावुक हुँदै सभ्य भनिने हामी मानव जातिलाई गाली गर्दै गएँ, मनमनै ।
त्यस दिन अचम्म भयो । म उकालोमा हिंडदै गर्दा, म सँगसँगै सल्लाका बोट, बुट्यान, पूmल, घाँस, भँगेरा, जुरेली, लामपुच्छ«े, चिभे म सँगसँगै हिंडे जस्तो लाग्यो । यसो हेर्छु देख्दिनँ । तर सयाङसुरुङ, भार्रभुर्र आवाज सहित सुवासको अनुभव गरेँ । त्यसैबेला सल्लोले बाटो छेकेर–
“ हे मानव बाबु, हामीले तिम्रो के बिगार गर्यौ ? तिमी आपूmलाई त सभ्य भन्छौ तर तिमीहरू हामी प्रकृतिका सन्तान जसले तिमीहरूलाई बाँच्ने अक्सिजन दिन्छौँ, को हत्या गर्छौ ? तिमी उभिने जमीन बलियो बनाउँछौँ, तिमीहरू हाम्रै नास गर्छौ ? त्यतिले नपुगेर हामी उभिने पखेरामा हेर त, तिम्रा सन्तानले कति फोहोर गरेका ? हुन त तिमी मानिसहरू जस्तो कू्रर, पापी, दुष्ट यस संसारमा अरू कुनै प्राणी छैन किनभने तिमी सभ्य भन्ने मानिस नै हौ जसले आफ्नै मानव सन्तानलाई आफ्नो स्वार्थका लागि मार्छौ ।” भनेको सुनेँ ।
यसो हेर्छु हो त । फोहोर उत्तिकै । मानिसले नै त हो मानिस मार्ने । थानडाँडाबाट छिनेको पहिरातिर पहाडको धारैधार बूढानीलकण्ठ र गोकर्ण देखिने गरी शिवपुरी चुलीको सन्तान तारे भीरलाई टाढैबाट ढोग गरेर अघि बढेँ । त्यो दिन सल्लो, झारपात, विभिन्न थरीका पूmलका बोट, धरतीमाता, भँगेरा, लामपुच्छ«े, काग, जुरेली सबै संँगै हिंडेका थिए । उकालो चढ्दै जाने क्रममा धरती माताले मलाई झपार्दै भनिन्–
“ म धरती नहुने हो भने मानव जाति कसरी, के खाएर, कुन ठाउँमा, कति दिन बाँच्न सक्छ ? आपूmलाई सभ्य मानव होमो सेपियन्सको सन्तान भनेर नथाक्ने तिमीहरू यस धरतीलाई कति कुरूप बनाएका छौ हँ ? बियर पिएर, मत्तासुर भएर सिसा फुटाएर मेरै छाती रोप्दा तिमीलाई किन दुख्दैन हँ ? हेर त, यी मेरो छातीभरी ठोसिएका बियरका बोतलका ती सिसाका टुक्राहरू ? अनि तिमी कसरी सभ्य भयौ त ?”
म लाचार थिएँ । त्यो मानवले नै गरेको फोहोर थियो । साँच्चिकै बाटाभरी बियरका बोतल र प्लाष्टिक यत्रतत्र फालिएको थियो । सिसाका टुक्राहरू छिरोलिएका थिए । रुखका फेदबाट आँशु टप्केको देखिन्थ्यो । धरतीको महत्त्व बुझे पनि, धरतीमाथि अन्याय गरेको ज्ञान भए पनि मैले जवाफ दिन सकिनँ । मेरा पाइला सुस्तरी उकालिँदै थिए । त्यस्तैमा ससाना बोट, फूल र घाँसले एकै चोटि धरतीको प्रश्नलाई समर्थन गर्दै भने –
“यस मानव जातिले हामीलाई कुरूप पार्दा खुशी भए पनि आफु कुरूप भएको छ । हाम्रो नाश गरेको होइन, आफ्नो आयु छोट्याएको हो । आपूm बाँच्नका लागि हामीलाई मायामोह गर्नु पर्नेमा हामीलाई नाश गर्ने ? अब छिट्टै मानवले मानवको नाश गर्दैछौ । होशियार !”
वास्तवमा म तर्से । यताउती हेर्छु कोही त देख्दिन तर त्यस्तो डरलाग्दो आवाज सुन्छु । त्यसबेलासम्म सल्ला, कटुस, चिलाउने, लालीगुराँस, चराचुरुङ्गी, पूmलहरूको लस्कर निकै लामो भएको जस्तो लाग्यो । मलाई जीवनमा पहिलो पटक, धरती, वनस्पति र जीवजन्तुको त्यो विद्रोहको हुँकारले तर्साई रहेको थियो । पखेराभरी प्लाष्टिक, मिनरल वाटरका बोतल, बियरका बोतल पनि मलाई जिस्क्याउँदै मेरै वरपर नाचे जस्तो लाग्यो । हाम्रो सभ्यता प्रति प्रश्नै प्रश्नको ओईरो लाग्यो ।
म हेलीप्याडसम्म पुग्दा वनस्पतिको सङ्ख्या उत्तिकै बाक्लियो । तारे भीरतिरबाट भालु, हरिण पनि त्यहींँ आएर पर्खेका रहेछन् । उनीहरूले पनि मर्यादाकै कुरा उठाए । हरिणले बडो मार्मिक ढङ्गले कहेको मनको बह मेरो कानमा यसरी घन्क्यो, “हाम्रो जन्मजात शत्रु बाघभन्दा आज हामी दुईखुट्टे तिमी जस्ता सभ्य जनावरदेखि त्रसित छौँ । यसै पनि पृथ्वी तातेकाले मनग्गे घाँस उम्रन छाडेको छ । कतै कतै यसो हरियो देखेर थुतुनाले टिप्न खोज्यो, धार परेर बसेको सिसा गाडिएर रगताम्मे हुन पर्छ । के यस्तै हर्कत गर्ने तिमी मानव भनिने जातलाई सभ्य भन्नुपर्ने हो ?” मलाई चड्याम्म कसैले हाने जस्तो लाग्यो, जहाँ ममात्र थिएँ ।
त्यहाँ सबैले हरिणका कुरामा सहमति जनाए । त्यहाँ उपस्थित वनस्पति, चराचुरुङ्गी, जङ्गली जनावर सबैले ‘मानव जातिलाई सभ्य भन्न नमिल्ने र त्यसको पुनव्र्याख्या गरी षड्यन्त्रकारी हिंस्रक जाति’ भन्नुपर्ने भन्ने बँदेलका तर्फबाट आएको प्रस्ताव अनुमोदन गरे ।
मेरो कञ्चटबाट आएको पसिनाका धारालाई सुटुक्क पुछेँ । मैले जीवजन्तु र वनस्पतिकै समर्थन गरेको भए तापनि अत्तालिएको थिएँ । संयमित हुँदै गाउँ नाघेर तारे भीरको काखसम्म नै पुगेँ । मलाई लाग्यो, त्यसबेला वनस्पति, जीवजन्तु र चराहरूको सङ्ख्या हजारौँ भएको थियो र तारे भीरका टुप्पामा दुइटा चितुवाको पनि उपस्थिति थियो । त्यहाँ विहङ्गम बहस भयो । त्यसैबेला वनस्पति र जीवजन्तुका तर्फबाट तीन प्रतिनिधि छानिए । वनस्पतिका तर्फबाट पाको सल्लो, चराका तर्फबाट लामपुछ्रे र जङ्गली जनावरका तर्फबाट हरिण । म त्रसित थिएँ । अन्तमा मलाई उनीहरूले निम्न कुरामा सहीछाप गर्न बाध्य पारेः
क. मानव जातिले वनजङ्गलमा आफ्नो पदचाप छाड्नेबाहेक अन्य कुनै क्रियाकलाप नगर्ने ।
ख. मानव जातिले प्रयोग गर्ने वस्तु आफैँले फिर्ता लैजानु पर्ने ।
ग. भूमि, वनस्पति र जीवजन्तु स्वतन्त्र रूपमा विचरण गर्न र बाँच्न पाउनु पर्ने । मानव पुर्खाले बनाएको प्राचीन गोरेटो बाटो र बिसौनी मात्र उपभोग गर्ने ।
अन्त्यमा तारे भीरले वनस्पति, जीवजन्तु, चराचुरुङ्गी र मलाई सम्बोधन गर्दै भने, “आदिकालदेखि मैले मानव जातिको भलो चाहेँ । मेरै गर्भबाट पानीका मुहान बगाइदिएँ, मेरा सन्तानबाट अक्सिजन फैलाइदिएँ, मैले नै उब्जनी गराइदिएँ । त्यति गर्दा पनि त्यस जातिले मेरा छातीमा बोतल फुटाएर रोप्ने गरेकाले म मर्माहत भएको छु । हे मानव ! तिमीले हाम्रो मर्म र तिम्रो भविष्य बुझेका छौ । त्यसैले हामीलाई हाम्रै प्राकृतिक रूपमा छाडिदेऊ, हामीलाई विनापीडा स्वतन्त्र रहेर तिम्रो आयु लम्ब्याउने चेष्टामा सहयोग गर । अन्यथा, मैले प्रलय रचेँ भने तिमी क्षणभर मै खरानी हुनेछौ । ”
त्यसबेला म रोएको रहेछु । आँशु पुछेँ । तारे भीरको कहर भीरका लागि नभई समग्र मानव जाति, वनस्पति र जीवजन्तु र सारा पृथ्वीको संरक्षणका लागि थियो । मेरा वरपर भएका सबैलाई नमन गर्दै भनेँ, “ भूमिमाताको स्याहार गर्ने कर्तव्य सभ्य भनिने मानवकै हो । म योे सन्देश विश्वभर फैलाउँछु ।” त्यसपछि चितुवाहरू लुसुक्क शिवपुरीतिर उक्ले । हरिणहरू गोकर्ण र चिसापानीतिर फर्के । वनस्पति र चराचुरुङ्गी आआफ्नो बाटो लागे । त्यसपछि म पनि सबैसँग मज्जैले गफिन पाएँ भन्ने कल्पनामा साच्चिै बगेका आँशु पुछेर विष्णु मुहानतिर तेर्सिएँ ।