भुइँचालोका कुरा : प्रेम घिमिरे ‘अग्नि कवच’ (लघुकथा)
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
काठमाडौं,माघ १३ ।
‘हुने हुनामी टारेर टर्दैन ।’ परिस्थितिलाई आत्मसात् गर्दै उनले लामो सुस्केरा हाले । धनमाल नष्ट भएपनि ज्यान बचाई दिएकोमा मनमनै ईश्वरलाई धन्यवाद दिए ।
मुसाको दुलोमा धानका दाना खोजे जस्तै गरी भग्नावशेषमा अन्नका दाना र लत्ताकपडा खोज्दै गरेका टेक बहादुरले नव दुलहीको गाला सुम्सुम्याए झैँ दुबै हातले भोको पेट सुम्सुम्याए र सोधे –‘तरुल पाकेन ?’ कान्लामाथिको पाटामा आगो फुक्दै गरेकी फूलमायाले भनिन्– ‘दाउरै बल्दैन ।’
मनीषले एउटा रातो बुट्टे कपडाको धुलो टक्टक्याउँदै भन्यो – ‘बा ! बा ! यी ! बहिनीको घाँघर भेटियो ।’ मनीषा फुरुक्क पर्दै आई । दाजुसँग घाँघर लिएर नाङ्गो आङ ढाकी । पिठ्यूँमा ठाडो चिरो परेर च्यातिएको रहेछ । फूलमायाले च्यातिएको छेउ जोडेर गाँठो पार्दिईन् ।
मनीषा मुस्कुराई । परबाट हेरिरहेका टेकबहादुरले मनमनै कल्पना गरे– ‘मान्छेको फाटेको मनलाई पनि यसरी नै गाँठो पारेर जोड्न सके पो !’
आकाशमा घुम्दै आएको हेलिकप्टर कुइरीमण्डल धुलो उडाएर नजिकै अवतरण ग¥यो । पाक्दै गरेको तरुलमा पनि धुलो मिसियो । वरपरका सबै मान्छेहरू भेला भए । राहत बाँड्न मन्त्री आएका रहेछन् । झोलेहरूले एक घर एक त्रिपाल र केही खानेकुराको भाग लगाए । मन्त्रीले वितरण गरे । भाषणमा उनले– ‘हाम्रो पार्टी गरीब, दुखी र निमुखाहरूको पार्टी भएकाले भूकम्पपीडित तपाईंहरूलाई घर बनाउन, दानापानी र औषधिउपचार गर्न प्रतिपरिवार रू. दश लाखका दरले राहत उपलब्ध गराउँछौँ’ भने । ‘चारानाको मुर्गी बाह्रानाको मसला’ भनेझैँ राहतभन्दा ठूल्ठूला आश्वासनका पोका थोपरेर मन्त्री उँडे । मनीषाले बालसुलभ प्रश्न गरी –‘बा ! ए बा ! हवाइजाजमा को आको ?’ टेकबहादुरले – ‘मन्त्री आएका’ भने । ‘मन्त्लीको घल हाम्लो जस्तो भाछैन बा ?’ मनीषाले सोधी । ‘छैन छोरी’ –टेकबहादुरले जवाफ दिए । मनीषा– ‘त्यछो भए मन्त्लीको घलमा कहिल्यै भुईँचालो आउदैन हो बा ?’ टेकबहादुर – ‘आउँछ छोरी कुर्सी हल्लिएको बेला मन्त्रीहरूको घरमा पनि ठूलो भूइँचालो आउँछ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।