बेरोजगार : अन्जु शर्मा (लघुकथा)
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
‘निता ! अफिस जानेबेला भयो, अझै खाना पाकेको छैन ?’ उसले भन्यो ।
‘पकाएको छैन, कसरी पाक्छ ?’ उनले भनिन् ।
‘तिमी खाना नबनाएर यो गेटअपमा किन ?’
‘आजदेखि म पनि अफिस जाँदै छु, त्यसैले समयमा पुग्नु यो गेटअप ।’
‘हैन, तिमीलाई कस्ले जागिर खानु भन्यो ? बच्चालाई स्कुल पठाउन ढिला भयो, स्कुल बस छुट्छ । मेरो अफिसमा मिटिङ छ लुगामा आइरन गरेको छैन । तिमी भने…‘उ रिसाएर बोल्यो ।
‘किन रिसाउनु हुन्छ ? रिसाउन त मलाई पनि आउँछ । जागिर खान जा भनेर कसैले भनेको हैन, हजुरले आफै भन्नुभएको हो । के म जागिर खान अयोग्य छु र ? आखिर हाम्रो योग्यता त बराबर हो ।’
‘मैले कहिले जागिर खाउ भने ? नचाहिने कुरा’ उसले ठूलो स्वरमा हप्कायो ।’
सधैँ सधैँ मलाई बेरोजगार भन्ने हजुर नै हैन ? आखिर घर बाहिरको काम गर्दा मात्रै रोजगार हुने भए, म किन बेरोजगार बसुँ ?’
उनका कुराले उसको ब्रम्ह खुल्यो खुलेन थाहा भएन तर नजबाफ भएर उनलाई हेरिरह्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक