जिया बुबा (बा–आमा) : कविराज शाही (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ ६।
तपाईंकै वरिपरि हुने यो मन
आजकाल कुनै सहरको बन्द कोठामा
गन्तव्य बिनाको यात्रीझैँ छ
त्यो डाँडामा घरीघरी पिठ्यु खोज्ने यो शरीर
आजकाल मसान घाटमा राख्ने लास जस्तै छ
घरमा सुख खोज्ने यो जीवन
आजकाल हाँगा नभएको बास जस्तै छ ।
जिम्मेवारी के हो भनी बाको काँधले सिकाउँछ
अन्धकार कति डर लाग्दो हुन्छ भनी मध्य रातले सिकाउँछ
बोलाईको पनि मूल्य कति हो भनी बाको बोलीले सिकाउँछ
बुढो हड्डी दमको रोग गाह्रो होला गाउँमा
त्यसकै मलम खोज्दै छु नचिनेको ठाउँमा
यदि समय पनि उधारोमा पढ्ने भए
दुई चार वर्ष लिन्थे होला ।
बाको जिम्मेवारी आमाको कर्तव्य
सँगसँगै चिन्थे होला ।
भगवानसँग त्यही उदारोको सट्टा
अर्को जन्म नै दिन्थे होला ।
किनकि सात जुनीमा पाउने माया
एक जुनीमै पाईसके
हर घडी करोडौँको मुस्कान हेर्ने म
आजकाल खै करोडौँ दिँदा नि मुस्कान पत्याउँदैन होला
तपाईँ अभागीलाई त
मैले सताए जसरी सत्रुले नि सताउँदैन होला ।
सानो हुँदा सोध्नु हुन्थ्यो नि
ठुलो भाछी के बन्छस ?
त्यतिबेला मुखमा जवाफ आउँदैनथ्यो
तर आज भन्छु कुनै शिखर चुम्नु छैन मलाई ।
बस तपाईंको सुख भएर जिन्दगीभर बाँचु
ताकि त्यो दुःखले नि भन्नु नि
सुख कुन बजारमा पाइन्छ मूल्य कति पर्छ ।
तपाईँको आशीर्वाद पाएको भए
सगरमाथा अझै अग्लो हुन्थ्यो होला ।
तपाईँको दुःख जो कोहीलाई साटे
जिन्दगी भर रुन्थ्यो होला
कसैलाई रामायण नै सुन्न मन छ भने
तपाईँकै सुत्ने बेला भन्ने कथा सुन्थ्यो होला ।
आमाको काख र बाको साथ पाको भए
सगरमाथा चुम्थ्यो होला ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक