पनौतीका केही जात्रापर्वहरू भित्रका केही कुरा : तुयुकाजी ताम्राकार (पुस्तक चर्चा)

पनौतीका केही जात्रापर्वहरू भित्रका केही कुरा : तुयुकाजी ताम्राकार (पुस्तक चर्चा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।
पनौती नगरपालिकाको मुख्य वस्ती र बजारक्षेत्र रहेको वडा नं ७ को नाम नै पनौती हो । अनेक विशेषता र महत्व रहेकै कारणले गर्दा पनौतीको स्थान उच्च रहेको छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक आदिका कारणले पनौतीको महत्व प्राचीन कालदेखि रहँदै आएको छ । यस्तो महत्वपूर्ण नगर पनौतीमा वर्षभरि मनाइने महत्वपूर्ण चाडपर्वहरूलाई पुस्तकको रुपमा प्रकाशित भएको छ— पनौतीका केही जात्रापर्वहरूको नाममा । यस्तो महत्वपूर्ण पुस्तकका सर्जक हुन् साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू ।
पनौतीमा हरेक महिना विभिन्न प्रकारका जात्राहरू, पर्वहरू मनाइँदै आएको पाइन्छ । जेष्ठ पूर्णिमाको दिन हुने इन्द्रेश्वर महादेव, उन्मत्त भैरव तथा भद्रकाली र ब्रह्मायणीको जात्रा, माघ शुक्ल द्वादशीको दिन हुने मानेश्वरीको जात्रा,फागुन महिनाको होलिपूर्णेका दिन हुने सङ्कटा जात्रा लगायतका विभिन्न समयमा हुने भीमसेन जात्रा, गणेश जात्रा, नारायणको जात्रा, बुद्ध जात्रालगायत बाहिरबाट ल्याएर चलाउनुपर्ने नमोबुद्ध जात्रा, नवदुर्गा जात्रा, हरसिद्धि जात्राका साथै शाँखु र भक्तपुरबाट श्रीस्वस्थानीको ब्रतालुसमेत आई त्रिवेणीघाटमा स्नान गर्ने पर्वहरू विशेष महत्व राख्ने धार्मिक पर्वहरू हुन् । यी जात्रापर्वहरूका बारेमा गहन अध्ययनका साथ पुस्तकमा वर्णन गरिएको देखिन्छ ।
त्यसैगरि दशैको घटस्थापना देखि विजया दशमीसम्म एकाबिहानै उठेर नवरथ जाने परम्परा, स्वँतकी जात्रा, दाफा भजन, लाखे नाच, देवी नाच आदि परम्पराहरू चल्दै आएका छन् । त्यसैगरि होलीपुन्हि, क्वातिपुन्हि, सकिमनापुन्हि, गठामुग, गाइजात्रा, शिवरात्रि, धल्चा हालेगु, माध हालेगु आदि पनौतीका सांस्कृतिक सम्पदा नै हुन् । कतिपय जात्रापर्वहरू हाल लोप भएका छन् । क्वँ द्य जात्रा, खँ द्य जात्रा,
टिप्वाँ जात्रा, जालु द्य जात्रा, क्वन्ना द्य जात्रा आदि लोप भएका केही जात्रापर्वरू हुन् । यी र यस्ता अनेकौ जात्रापर्वहरूको गहन अध्ययन गरेर लेखिएको कुरा प्रस्तुत पुस्तकले देखाउँछ ।
पुण्यमाता र रोसी खोलाको बीचमा रहेको पनौतीको दक्षिणतर्फ उब्जाउपूर्ण फाँट छ । यस्तो स्थानमा हरेक वाह्र वर्षमा एक महिनासम्म माघ महिनाभर मकरमेला लाग्दछ । उत्तरतर्फका
सुन्दर हिमालको दृश्यपान गर्दै गौरीशङ्करको दर्शन गर्ने चलनले प्रकृति र संस्कृति बीचको सम्बन्धको गहनतालाई दर्शाउँछ । पाटनबाट आएको तान्त्रिकले बासुकी नागको अपहरण गर्दा नागले बचाउन हारगुहार गर्दा पनौतीका मान्छेहरूले नसुनेपछि यहाँका मान्छेका कसैको पनि अकुत सम्पत्ति नहोस् र खानलाई  भने पुगोस् भनी श्राप दिएको किंवदन्ती छ । यी र यस्ता किंवदन्ती बोकेका जात्रापर्वहरूका बारेमा लेखकले गहन अध्ययन गरेर पुस्तक तयार पारेका छन् ।
माथि उल्लेखित सम्पूर्ण कुराहरू लगायत लावण्य देशको सन्दर्भले यो पुस्तकको महत्व अझ बढेको
देखिन्छ । इतिहासविद, संस्कृतिका मर्मज्ञ, विद्वान् श्री हरिराम जोशीज्यूले पुस्तकको भूमिका लेख्ने क्रममा पनौती नै प्राचीन लावण्य देश हो जहाँ स्वस्थानी कथामा वर्णित गोमा ब्राह्मीनीका पुत्र नवराजलाई हात्तीले माला पहि¥याएर राजा बनाएको अर्थात्  उनी नै गणराज्यको प्रथम राजा भएको अभिमत उक्त पुस्तकमा रहेको छ । यो कारणले पनि पनौतीका केही जात्रापर्व नामक पुस्तकको महत्व बढेको देखिन्छ ।
पुस्तकको भाषाशैली सरल र सरस रहेको छ । जात्रापर्वलाई लेखकले विज्ञानसँग पनि जोड्न खोजेको देखिन्छ । पुस्तकका जात्रापर्वको बयान मात्र छैन । त्यसलाई विश्लेषण गर्ने काम पनि लेखकले गरेका छन् । पनौतीका प्रत्येक मानिसले आफ्नो थातथलो र नगरको जानकारी राख्न पनि उक्त पुस्तक हरेकको घरमा हुनु आवश्यक छ । पनौती बारे बुन्न इच्छुक जो कोहीले उक्त पुस्तक पढ्यो भने यथेस्ट जानकारी पाउन सकिन्छ । उक्त पुस्तक लेखेर लेखकले आफ्नो मातृभूमिप्रति अगाध श्रदा, स्नेह पोखेको देखिन्छ । यस्तो पठनीय र गहनतम् पुस्तक प्रकाशनका लागि लेखक धन्यवादका पात्र हुन् । उनलाई अनेक बधाई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।