कामको पूजा : कुमार काफ्ले (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।
त्यो बेला न उज्यालो थियोे न त झमक्कै रात परेको थियोे । झम्के साँझमा उसले गाउँ छोडेको थियोे । गाउँ छोड्दा उसको मनमा ज्यानै सिरिङ्ग पार्ने मुक्ति र परिवर्तनका अनेक योजना थिए ।
त्यतिबेला ऊ न बालक थियोे न त वयस्क भइसकेको थियोे । त्यो युवा देश दुनियाँ बदल्न भनेर क्रान्तिमा होमिएको थियोे । सात वर्षसम्म विभिन्न मोर्चामा रहेर युद्ध लडेको थियोे ।
‘सर्वहाराको राज्यसत्ता स्थापना नगरी थाकिदैंन…..’ जुरुक्क कुम उचाली उचाली बोल्थ्यो । हुन पनि उसका कुरा सुन्नेहरूको रगत उम्लन खोज्थ्यो र रौं ठाड्ठाडा हुन्थे । उसकै योजना सुनेर, बुझेर कैयौं युवाले उसले झैँ घर त्यागेका थिए, जीवन बलिदान दिन राजी भएका थिए ।
युद्ध सकियो र ऊ आफ्नै थातथलो फर्कियो । खेतीपाती, पशुपालनमा रमाउन थाल्यो । पुरानै दिनचर्या शुरु भयो तर फरक तरिकाबाट, आधुनिक तरिकाले ।
‘त्यत्रो वर्ष ज्यान हत्केलामा राखेर लडिस्, अहिले के पाइस् ?’ यस्ता सवालको सामना दिनकै गरिरहन्थ्यो ऊ । कुरा काट्नेहरू बढेका थिए, पढेका थिए ।
‘देश संघीयतामा गयो, राज्य धर्मनिरपेक्ष भयो ……..’ ऊ शालीनताका साथ जवाफ फर्काउथ्यो । तर मान्छेहरू ओठ लेब्र्याउथें । उसले काम गरेको देखेर मान्छेहरू अनेक कुरा काट्थे, ‘त्यत्रो विधि दुःख गरेर पनि अझै घोटिनु परेको छ, कठैबरा ! विचरा !’
कतिले त सोधि नै हाल्थे, ‘तिमीसँगैका साथीहरू कोही नेता, मन्त्री र ठेकेदार भए; तिमी चाहिँ यस्तै ससाना काम गरेरै मर्ने भयौ है ?’ उसलाई झोक चल्थ्यो र पुरानै शैलीमा जोशका साथ जुरुक्क कुम उचालेरै जवाफ दिन्थ्यो,
‘मलाई मन्त्री र ठेकेदार हुनु छैन साथी हो, म मेरै कामलाई पूजा गर्छु ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।