हिउँको रापमा बसीबियाँलो : लता के.सी.( समिक्षा)

हिउँको रापमा बसीबियाँलो : लता के.सी.( समिक्षा)

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १८।

नेपाली लघुकथासङ्ग्रह लेखनको इतिहासमा २०८०सालको कार्तिक १३ गते लघुकथाकृति हिउँको राप झको लोकार्पण भएको छ । स्रष्टा डा. कुसुमाकर शर्मा गौतमको यो पहिलो लघुकथासङ्ग्रह हो तर किताब पढिसक्दा पहिलो हो भनेर पत्याउन गाह्रो हुन्छ । स्तरीय र परिपक्व लेखन, शैलीमा मिठास घोलेर पस्किएका अधिकाँश लघुकथाहरू उत्कृष्ट छन् ।

हुन त डा. गौतम तीस दशकका स्रष्टा हुन् । २०३९ सालमा ‘म को हुँ ?’ शीर्षकको  कविता  हटारु नामक पत्रिकामा प्रकाशित भैसकेको छ । कथा, लघुकथा, कविता, निबन्धजस्ता साहित्यिक बिधामा उनको कलम चलेको पाइन्छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र नेपाली साहित्य समाज क्यानाडाको आजीवन सदस्य बनेर नेपाली भाषा र साहित्यको उत्थानका लागि परेका छन् ।
उनीसँग अनलाइन परिचय  हुन  मेरो हकमा  प्रविधि र हाम्रो लघुकथा केन्द्रले ठूलो महत्व राखेको छ । सन् २०२२ जनवरीमा केन्द्रको सदस्य लिएपश्चात् लगत्तै उनले लघुकथा पोष्ट गर्न थाले । लगभग दुई दर्जन लघुकथाहरू मैले पनि पेजमा पढेकी थिएँ । त्यसैबेला उनको सबल लेखन योग्यतालाई मैले मापन गरिसकेकी थिएँ, जो हिउँको रापमा प्रष्ट भएको छ । उनी विगत १ वर्षदेखि केन्द्रमा विश्लेषकका रूपमा  पनि आबद्ध छन् ।
२०२० साल असोज महिनामा पूर्वी रूकुममा जन्मिएका स्रष्टा गौतम हाल क्यानाडा निवासी हुन् । कुनै बेला नेपाल सरकारको खानेपानी तथा ढल निकास विभागमा काम गरेपनि हाल उनी क्यानाडाको अल्बर्टा प्रान्तको वातावरण मन्त्रालयमा पानी प्रशोधन वैज्ञानिकको रूपमा काम गर्दै छन्।  नेपालीहरूको महान पर्वहरू दसैँ, तिहारको अवसरमा स्वदेश आएका स्रष्टा गौतमको हिउँको राप असोज ३० गते प्रत्यक्ष भेटमा हात लागेको थियो । चाड पर्वको अवसरमा समय व्यबस्थापन गर्न हम्मे हम्मे परे पनि उल्लेखित ५९ वटा लघुकथाहरू ३ दिन लगाएर खर्लप्पै रित्याएँ  ।
स्रष्टा गौतमका लघुकथामा नेपालका हिमाल, पहाड र तराईँ मात्र होइन, क्यानाडाको हिउँ र परिवेश पनि बोलेको छ । किताबको नामले जति उत्कण्ठा जगाउँछ, भित्र उल्लेखित लघुकथाहरूले उत्ति नै चाखलाग्दा छन् । हिउँको राप सुन्नासाथ मेरो मनमा प्रश्न उठेको थियो, ‘चिसोमा पनि राप हुन्छ र ?’
किताब हात परेर पढिसक्दाको पो थाहा भयो, राप त मन र मष्तिष्कको बिम्ब बनेर लेखिएको रहेछ । सर्जकले आत्माभिव्यक्तिमा लेखेका छन्, ‘संसारमा एउटा मान्छेको अनुहार अर्को मान्छेसंग नमिलेझैँ एक हिमकणको आकार र बुनोट अर्को हिमकणसंग मिल्दैन भनिन्छ । त्यही भएर होला, म प्रत्येक हिमकणमा छुट्टै अक्षर देख्छु । तिनै हिमकणरूपी अक्षरहरूको संगालोबाट हिउँको राप सिर्जना भएको हो ।’ पहिलो लघुकथा उपहार सर्सर्ती पढेँ । भाँचिएको लाहुरे फूलसंग आफ्नो छोराको विकलाङ्ग अवस्थाप्रति स्रष्टाको  कल्पना अति  नै मार्मिक लाग्यो । त्यसपछि पाना पल्टाउँदै गएँ । डाँडाका जूनमा पुग्दा ज्योतिषीको भविष्यवाणी फेल भएको  थाहा पाएँ । खुसी र सम्बृद्धिमा सहरमा बसेर सुख पाउनु अनि रोग  निम्त्याउनुभन्दा गाउँको प्राकृतिक वातावरणमा स्वस्थ्य रहेर खुसी हुनु राम्रो भन्ने विषयमा द्वन्द पस्किएको छ ।  आत्मियतामा मान्छे नचिनी नै शङ्का र दोष लगाउने मानवीय स्वभाव उदाङ्गो भएको छ । सम्मानको प्रतीक खादाको दुरूपयोगलाई अहम् प्रश्नले प्रश्न उठाएको छ । पद्धति र हिसाबले प्रशासनिक विकृतिलाई खोतलखातल पारेको छ । सम्बृद्धिले बिकासमा नाममा कुर्लिने नाराहरूप्रति प्रहार गरेको छ । सन्तानलाई बोर्डिङमा  पढाउने र विदेश पठाउने अभिभावकलाई अर्तीले झापड कसेको छ । पाखण्डीले आफ्नो दोष नदेख्ने मानिसको चरित्रलाई उदाङ्गो पारेको छ । छद्मीले बच्चालाई बिगार्ने दोष ठूलाको हुन्छ भनेर सतर्क गराएको
छ । लिखित सम्झौतामा पदीय लोलुपता र भ्रष्टाचारप्रति औँला उठेको छ । समस्या र महामारीमा पनि सकारात्मक पक्ष  पहिल्याउन सक्नु पर्छ भन्ने भाव व्यक्त गरेको छ, विपत्तिले । राहतले नारी मनोविज्ञान पस्केको छ । उज्यालोतिर, संयोजन  परिवर्तनले अग्रगामी सोच पस्किएको पाइन्छ । वरिपरि देखिने घटना र जीवनका हर क्षण लघुकथा बन्न सक्छन् भन्ने आशय व्यक्त भएको छ, लघुकथा शीर्षकको लघुकथामा । बुख्याचाले समय र परिस्थिति अनुसार मानिसले आफूलाई परिमार्जन गर्न सक्दा मात्र सफलता पाइने  विषयको उठान गरेको छ । बोधले पदीय दम्भप्रति लक्षित गरेको छ ।
यसरी हिउँको रापलाई सरसती नियाल्दा आघुनिक प्रवृत्तिलाई चड्काएको, अन्तराष्ट्रिय  प्रभावमा राष्ट्रियता बिकेको, प्रदूषित प्रकृतिप्रति स्रष्टाको चिन्ता र माटोको सुवास छरेको भाव मीठो
लाग्यो । त्यस्तै मानवीय शङ्का र आचरण, देशको कृषि, व्यापार र उद्योगको दुर्गती, अव्यबस्थित पद्धति, प्रगतीवादी र अग्रगामी सोच  पनि पढ्न पाइन्छ । नकारात्मकभित्र सकारात्मक सोचको भावना बिकास गर्नु पर्ने सन्देश, पदीय दम्भको चित्रण, फोहोरी राजनीतिक खेल आदि विविध भाव व्यक्त भएको पाइन्छ । अधिकांश लघुकथाहरू व्यङ्ग्यप्रदान र कौतुहूलपूर्ण छन् । पानीको फोहोरा, दिमागको ढक्कन, मास्क जस्ता लघुकथाले कडा प्रहार गरेका छन् ।
स्रष्टा गौतमका धेरै लघुकथाहरू  बुझ्न  मैले दुई  तीनपटक पढेँ । समयको मूल्य लघुकथामा  घटनामा आएका टर्निङ प्वाइन्टले आङ जिरिङ्ग पनि बनायो । उनका लघुकथाहरूमा एकातिर सामाजिक बेतिथिहरूलाई मज्जाले प्रहार गरिएको छ भने अर्कोतिर आर्थिक  दूरावस्थाको मार्मिक र कारूणिक चित्रण पनि रहेको पाइन्छ ।  शिक्षा क्षेत्र र  पठन संस्कृतिको खस्कदो अवस्थालाई लेखन शिल्पले  सजाएको पाइन्छ । सुधार र प्रगतीका बाटाहरू पनि पहिल्याएका छन् ।  विविध विषयभावलाई कथ्यको आकर्षणले लघुकथाहरू उनिएका छन् । गुणात्मक पक्ष जोगाउने  हकमा सर्जक निकै चनाखो भएका देखिन्छन् । शीर्षक एकाध लघुकथा बाहेक सबै सार्थक छन् । भाषा सरल, सहज, सभ्य र बोधगम्य छ ।  कुनै कुनै लघुकथामा समापन बिस्तार भएको छ । ब्यङ्ग्यको भरमार प्रयोग भएपनि  बिम्ब र प्रतीकको प्रयोग न्यून छ । पात्र बिधान उचित छ । नेपाली भाषाको मीठास शब्द शब्दमा छरिएको छ । देश र विदेशको परिवेश समावेश भएकाले पाठकलाई किताब पढी सक्ने हुटहुटी लगाउन सङ्ग्रह  सक्षम बनेको छ  ।
साझा प्रकाशनले प्रकाशित गरेको हिउँको राप ७२ पृष्ठमा समेटिएको छ । मूल्य रू. २००।– मात्र रहेको छ । स्रष्टाले आफ्ना माता पितालाई  कृति समर्पण  गरेका छन् । लघुकथाको  पहिलो पुस्तक नै पठनीय र अनुकरणीय रहेकाले स्रष्टा गौतमलाई हार्दिक बधाई छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।