विद्यालयको सम्मानमा :त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
१. डुङ्गा यो जसरी चल्छ ? त्यसरी देश चल्दछ
जाने यात्री पुगी टाढा दीयो भैकन बल्दछ
त्यसैमा देखिने गर्छ छायाछवि समाजको
त्यतै देखिन्छ छर्लङ्ग ऐंसेलुखर्क आजको ।
२. तर्नेले फूल हुर्काए पुग्छ मन्दिर मन्दिर
तर्नेले मूल भेट्टाए चल्छन् जीवन सर्सर
अकर्मण्य परे तर्ने तार्नेले दोष पाउँछ
सन्तान श्रेष्ठ होस् छाती आमाको नै रमाउँछ ।
३. यो डुङ्गा छ सधैँ यस्तै पुग्छन् तर्ने कता कता
तस्वीर यसको बोक्छन् आफू जान्छन् जता जता
जता पुग्छन् त्यतै लेख्छन् बोल्छन् ऐंसेलुको लय
पहिचान यही दिन्छन् फूर्तिले नलिई भय ।
४. यहाँबाट गएकाले के गरे कसरी गरे
भँगाला पनि छन् धेरै त्यहाँ ती कसरी तरे
हिसाब सब तार्नेले राख्ने गर्छ निरन्तर
सन्तान निष्ठुरी होलान् आमाले भुल्न मिल्छ र
५. बगैँचा यो थियो फूल गीतभै घन्किए कति
देशका पाखुरी बन्दै शानले चम्किए कति
विदेशमा पुगी नौलो फैलिए सीपले कति
योग्यता क्षमता त्यै हो दियो यो स्कूल जति ।
६. हे¥यौ खोज्यौ नियालेर बोलायौ धन्य हौ भन्यौ
प्रशंसा यिनको गर्दा प्रशंसित स्वयं बन्यौ
यहाँबाट गएका नै बन्छन् कतै कि वा घुन
नठान्नु कहिल्यै आमा घोटेर बस्नु चन्दन ।
७. जहाँ पुगौँ जता टेकौँ प्यारो त्यै बाल्यकाल छ
यै इन्द्रावतीको छाल गंगा भन्दा विशाल छ
ऐंसेलुखर्क यो हाँसोस् बडहरे रमाउँछ
यो बगोस् भेल जस्तो भै नेपाल गड्गडाउँछ ।
८. जहाँ जाऊँ यताको त्यै गुराँस हात हात छ
बोटबाट टिपेको त्यै ऐँसेलु पात पात छ
सल्लाघारी सुसेलेको संगीत गीत बन्दछ
भन्दैन किन को ? प्यारो लप्सीको बोट चिन्दछ ।
९. म आएँ ढोगमा ल्याएँ कोरेर चार अक्षर
छातीमा प्यारको गङ्गा बगेकै छ निरन्तर
नभन्नू अब फर्कन्न डुङ्गा तरेर यो गयो
बैगुनी म हुँदै हुन्न आमाको स्नेह प्यारको ।
१०. सकिन्न कहिल्यै लेखी वात्सल्य प्रेमका कथा
नभुल्नु बाँड्न यै भन्छु परेमा दिलका व्यथा
मेट्ने छैन दिएको यो टीका निधारको झन
भन्दै विदा यहीँ माग्छु म आचार्य त्रिलोचन ।
सहकार्य : कपन बानेश्वर साहित्यीक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।