‘अनुपम—देवता’ : एक आदर्श सामाजिक उपन्यास : चन्द्रकान्त आचार्य (समिक्षा)

‘अनुपम—देवता’ : एक आदर्श सामाजिक उपन्यास : चन्द्रकान्त आचार्य (समिक्षा)
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।
उपन्यासकार मित्र शंकर भारतीको उपन्यास ‘अनुपम देवता’ तेस्रो संस्करण ग्लोबल बूक्स डिस्ट्रिब्युटर्सले २०८० मा प्रकाशित गरेकोछ । पहिले पढिसकेको यो उपन्यास फेरि पढ्दा अहिलेको समयकालागि अझ सान्दर्भिक लागेकाले यस सम्बन्धमा आप्mनो पाठक प्रतिकृया प्रस्तुत गर्न उपयुक्त लाग्यो ।
भाष्कर—भावना
काठमडौँका धेरै धनी सेठको छोरा भाष्कर र काठमाण्डौकै मध्यम वर्गको परिवारकी छोरी भावना यौटै कलेजमा बि.एस्सी. पढ्दै गरेका हुन्छन् । यो उपन्यास २०३५—३६ सालतिर लेखिएको हो र पहिलो संस्करण त्यति बेलै निस्केको हुनुपर्छ । हाल यस तेस्रो संस्करणको काठमाण्डौमा भएको विमोचन कार्यक्रममा बोल्दै लेखक शंकर भारतीले १४—१५ वर्षको उमेरमा लेख्दा नाम या पैसा कमाउने ध्येय न भै यौटा विचार आएर लेखिएको कुरा गर्नुभएकाले त्यो समयको याद भयो । जुन समयमा अझै काठमाण्डौमा क्याम्पस भएका थिएनन्, तिनलाई कलेज भनिन्थ्यो २०२८ सालसम्म । त्रिचन्द्र कलेज, अमृत साइन्स कलेज र पाटन कलेज मात्र थिए जस्तो लाग्छ । म आप्mनो घर अर्घाखााचीबाट बनारसमा अध्ययन गरी २०२४ सालमा काठमाण्डौबाट छात्रवृत्तिमा इञ्जिनिययरिङ् अध्ययनको लागि सोभियतसंघ गएको समय हुदा यस उपन्यास लेखनको समय विशेष रुचिकर लागेको छ । त्यस समयमा काठमाण्डौको कलेजमा पढ्ने भाष्कर र भावनाबीच प्रेमको अंकुर पलाउन लागेको कुरा यस उपन्यासमा धेरै मीठो तरिकाले बताइएको छ । यी दुई सहपाठीलाई एक अर्कोसंग नगिच हुन कुनै साथीले व्यवधान पुराएका छैनन् । कुनै पत्राचारको झझल्को पनि देखाइएको छैन । त्यति बेलाका चल्ती हिन्दी सिनेमा या हिन्दी उपन्यासमा जस्तो कुनै भिलियन देखिने र त्यसलाई परास्त गर्ने हिरोका व्यवहार यसमा कतै देखिएका छैनन् । अध्ययनको क्रममा सबै साथीहरूसंग मिलिजुली पढ्दा, वनभोज जाँदा विभिन्न समयमा यी जोडी संगै हिड्ने, कुरा गर्ने आदि प्रसंगबाट  एक अर्कोसँग धेरै नजीक भएको कुरा अति नै रोचक र व्यवहारिक तरिकाले प्रस्तुत गरिएको हुदा पाठकलाई उपन्यासले तानिरहेको हुन्छ । सुस्त सुस्त वार्तालापको माध्यम र संगै हिड्ने, भाष्करको गाडीमा भ्रमण गर्ने गरेर यिनीहरू धेरै नजिक हुन्छन् र एक अर्कोविना बाँच्न नसक्ने प्रतिबद्धता जनाउँछन् । पाठकलाई यिनीहरूको प्रेम झांगिदै गएकोमा झन्पछि झन् पुस्तक रुचिकर हुदै जान्छ । उता बि.एस्सीमा राम्रो श्रेणीमा सफल भएर भाष्कर र भावनाले संगै बेलायत पढ्न जाने विचार गर्छन् ।
त्यस समयमा साइन्सका धेरैजसो विद्यार्थी छात्रवृत्तिमा कोलम्बो प्लानमा भारत र सोभियतसंघ जाने गर्दथे, कतै पाकिस्तान र यूरोपका अन्य मुलुकबाट पनि फाटफुट छात्रवृत्ति आउँथे । तर बेलायतमा खासगरी चिकित्सा विषयमा छात्रवृत्ति आएको त्यति सुनिएको थिएन । यस उपन्यासमा भने भाष्कर र भावना बेलायतबाट डाक्टरी पढ्न छात्रवृत्ति पाएर लण्डन जान गुण्टा कस्ने रमाइलो वार्तालाप शुरु गर्छन् । यो इतिहासको दस्तावेज होइन, कल्पना र वास्तविकताको दोभान हुँदा लेखकलाई किन ती पात्रहरूलाई बेलायत पठाउन लागेको भनेर प्रश्न गर्न मिल्दैन । म आपूm पछि २०५७ सालमा आएर पहिलो उपन्यास ज्वाला र २०६२ मा दोश्रो मित्रता प्रकाशन गर्दा प्रमुख पात्रहरूलाई युक्रेन र रूसतिर पठाउन समर्थ भएको हूँ । प्रसंगवश लेखिहालुँ मेरो उपन्यास मित्रताले शंकर भारतीको सिफारिसमा २०६२ को रामराज पन्त स्मृति पुरस्कार प्राप्त गरेको हो । त्यति बेलासम्म हाम्रो परिचय थिएन र मैले उहाँका उपन्यासहरू त्यसपछिमात्र पढेको हो ।
भाष्कर र भावनाले बेलायत जाने अवसर पाए पनि भावनाको परिवारबाट मात्र स्वीकृति मिल्यो, भाष्करका पिताजीले एक्लो छोरालाई बेलायत पठाउन स्वीकृति दिएनन् । प्रेमको गाँठो दरिलो भैसकेको परिप्रेक्षमा एक अर्काविना बाँच्न नसक्ने जोडीलाई कठिन अवस्था सिर्जना भयो । भाष्करलाई जान न मिलेपछि भावना पनि नजाने प्रयत्न पनि यिनीहरूले गरे, तर बेलायत जस्तो देशबाट मेडिसिन पढ्न आएको अवसर छाड्न भावनाका माता—पिताले मानेनन् र भावनाले जवर्दस्ती नजाने निर्णय लिन सकिनन् । उनी एक्लै बेलायत जाने अवस्थामा पुगिन् । त्यति बेलाको किशोर लेखकलाई बधाइ दिनै पर्छ जसको लेखाइले ५०—५५ वर्षपछि अहिलेका पाठकहरूको मथिङ्गल खलबलाइदिन्छ । अहिले धेरै हुनेखानेका छोराछोरीहरू पढ्न भनेर विदेश जाने अनि उतै हराउने गरेका परिदृश्य यत्रतत्र छन् । धेरैजसो माता—पिता एक्लै घर कुर्ने अवस्थामा छन् भने कति वृद्धाश्रममा आश्रय लिन बाध्य छन् । तर त्यस बेलाको किशोर भाष्कर आप्mनी परमप्रिय साथी भावनासँगै बेलायत गएर डाक्टर बन्ने अवसर गुमाउँदै आप्mनो एक्लो बुबा सेठको आग्रह टार्न नसकेर विना काम घरमा नै बस्न सहमत भयो । ऊ सहमत त भयो तर प्यारी भावनालाई बेलायत पठाएर यहाँ आरामले बस्न सकेन ।
भाष्कर—सुभद्रा
भावना विना एक्लै काठमाडाँैमा बस्न नसकेपछि भाष्करलाई सेठको आप्mनो मौजामा तराइ
पठाइन्छ । त्यहाँ पनि भावनाको सम्झनामा दुःखी जीवन बिताउँदै गर्दा अर्की शोषित पीडित नारी सुभद्राको दुःख दर्दले भाष्कर भावुक हुन्छन् । भारत बेचिन लागेको बेलामा बल्लतल्ल उम्केर तराइको  त्यस ठाउँमा जीवन गुजारा गर्न कोशिष गर्दागर्दै रूप लवण्यकी मूर्ति ती चेली मानिस भनिने दानवको अत्याचारमा पिल्सिएकी हुन्छिन् । तिनको त्यो दारुण परिस्थिति देखेपछि भाष्करको दयालु मन उत्प्रेरित हुन्छ र ती दानवीय व्यक्तिहरूको अत्याचारबाट यिनलाई उन्मुक्ति दिएर आप्mनी पत्नीको मान्यता दिई समाजमा यिनको उत्थान गर्छन् । तर समाजमा पत्नीको मान्यता दिएर पनि भित्री रुपमा पवित्र भावना राख्ने भाष्करको उच्च आचरणबाट प्रभावित सुभद्राले उनकी प्रेमिका भावनासँग जसरी पनि मिलाउने प्रयत्न गर्दै ऐन मौकामा आत्महत्या गरेर पनि भाष्कर—भावनाको जोडीलाई मिलाइदिएकी छन् । उनले यसरी आत्म उत्सर्ग गर्दा भाष्करलाई अनुपम देवताको दर्जा दिएकी हुन् ।
संयोगका कुरा
पंक्तिकार चन्द्रकान्त आचार्यको उपन्यास मित्रता पहिलो पटक अनुपम—देवता प्रकाशित हुनुभन्दा तीस वर्षपछि प्रकाशित भएको हो र यी दुई उपन्यासका लेखकबीच परिचयसम्म नभएको कुरा माथि बताइसकिएको छ । तर पनि संयोग यस्तो परेको छ कि दुई उपन्यासको मर्म मिल्दोजुल्दो छ । त्यसैले मित्रता उपन्यसको लागि प्रा.डा.जङ्गब चौहानले लेखेको भूमिकाबाट यौटा अनुच्छेद उद्धृत गर्न उपयुक्त लाग्यो जो यस प्रकार छः
‘यो उपन्यास पढ्दा साहित्य भनेको समाजको दर्पणमात्र होइन, सामाजिक रूपान्तरणको बाहक पनि हो जुन सर्वप्रथम व्यक्तिले आफैंभित्रबाट सुरु गर्नुपर्छ भन्ने तथ्यको सम्झना हुन्छ । समाजको नांगो यथार्थ, भद्दा, तिक्त, मानवताविरोधी, मृत्युपूजक र विध्वंसकारी हुनसक्छ । यस किसिमको यथार्थ चित्रणले मात्र सामाजिक परिवर्तन सकारात्मक दिशातिर जाँदैन, न त मानव संसारको संवेदना र गरिमामय चिन्तनले फस्टाउने अवसर नै पाउँछ । अतः समाजको चित्रण र व्याख्यामा मात्र सीमित नभएर त्यसलाई आमूल परिवर्तन गर्न कटिबद्ध उच्च नैतिक मनोबल भएका पात्रहरूको खोजी गर्दै तिनका माध्यमबाट एउटा उदाहरणीय मानव समाजको परिकल्पना गर्न खोज्नु उपन्यासकारको प्रशंसनीय कदम मान्नुपर्छ ।
‘अनुपम देवता’मा लेखक शंकर भारतीले त्यस्तै पात्र सिर्जना गरेको मैले अनुभव गरेको छु । त्यसैले यस्ता सिर्जनशील आदर्श पात्रहरूको संयोगले उपन्यासलाई अत्यन्त स्तरीय बनाएको छ र यस्तो सामाजिक उपन्यास तेस्रो संस्करणमा आइपुग्नु अहो भाग्यको कुरा हो । म मित्र शंकर भारतीलाई बधाइ दिन्छु र संपूर्ण पाठकवृन्दमा नमन !
तपाइँको प्रतिक्रिया ।