परिणाम : शेखरकुमार श्रेष्ठ (लघुकथा)

परिणाम : शेखरकुमार श्रेष्ठ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।

औँसीको तिथि थियो । सुधा बर्बराउन थाली ।  औँसी र पूर्णिमा तिथिमा प्रायः यही समस्या थियो । छोरीको अवस्था देखेर दुवै जोईपोइ प्रकाण्ड मनोज्योतिष कहाँ पुगे । मनोज्योतिषीले चामलका तीनओटा गेडा झिकी धुले सिलौटामा चामल खसाए खसाल्न लगाए ।

सुधाकी आमा बोलिन्, ‘छोरीको बिहेपछि पनि यही समस्या आउँछ कि ?’
सुधाका बाबु बोले, ‘औँसी आएपछि छोरी मुर्दावाद भन्छे । पूर्णिमा तिथिमा जिन्दावाद भन्छे ।’
मनोज्योतिष बोले, ‘गर्भे समस्या देखिन्छ ।’
‘किन र ? हामी दुईको अन्तरजातीय प्रेम विवाह हो । त्यही समस्या हो त ?’, सुधाकी आमा
बोलिन् । ज्योतिषीले टाउको हल्लाए, ‘त्यो होइन ।’
‘हामी दुईको भेट सङ्घर्षमा भएको हो । चिनाजानी भएपछि प्रेमसँगै बिहे भयो । बच्चा भयो । बच्चा ठुलो भयो’, सुधाका बाबु बोले ।
‘हो, त्यसै आन्दोलनले तपाईँहरूको यो बच्चीलाई अभिमन्यु बनायो’, निधार खुम्च्याउँदै ज्योतिषी बोले ।
‘त्यसोभए अब के हुन्छ ? समाधानको बाटो गरिदिनुप¥यो ।’ आमाले भनिन् ।
ज्योतिषले चामलको गेडा खसाली भने, ‘अँ, जबसम्म तपाईँ दुईले गर्नुभएको आन्दोलनले सार्थकता पाउँदैन तबसम्म यो बच्चो यस्तै हुन्छ । यो बच्चो मात्र होइन, यसबाट जन्मने सन्तान पनि यस्तै हुन्छ ।’
‘यस्तै भयो भने हाम्रो वंश कष्टमा परिहाल्छ नि ?’– दुवै जोईपोइले मनमनै सोचे ।
मनोज्योतिषीले दुवैको मनको कुरा समेटी भने, ‘टुङ्गो नलागेको हरेक चिजले समस्या ल्याउँछ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।