सरकार : दिव्य गिरी (लघुकथा)

सरकार : दिव्य गिरी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।
अदालतमा न्यायाधीशको बेञ्चमा केही प्रहरी र हातमा हतकडी लगाएको एउटा दुब्लो अनुहार र पातलो शरिरको एकजना अभियुक्त थियो । अभियुक्तका चार पाँचजना आफन्त पनि बसिरहेका थिए ।
‘यसको अपराध के हो ?’ न्यायाधीशको पहिलो प्रश्न ।
‘श्रीमान्, यसले सरकारको बिरोध गर्दै सडकमा नारा लगाएर हिँडिरहेको थियो ।’ प्रहरी हवल्दारले अभियोग सुनायो ।
‘के यो कुरा साँचो हो ?’ न्यायाधीशको दोस्रो प्रश्नको उत्तर युवकले दिएन । ऊ चुपचाप बसिरह्यो ।
‘बोल् किन नबोलेको ? तँ सरकारको बिरोधमा नारा लगाएर हिँडेकोबखत हामीले तँलाई समातेको हो कि होइन ? भन् ।’ हवल्दारले अलिकति रिसाएजस्तो भावमा भन्यो ।
‘यसको प्रमाण छ ?’ यस पटक न्यायाधीधले प्रश्न हवल्दारतिर फर्केर सोधे ।
‘छ श्रीमान् ।’ यति भन्दै हवल्दारले उस्लाई आदेश दियो– ’तेरो पिठ्यू श्रीमान् न्यायाधीशलाई देखा ।’
ऊ अर्थात कथित अभियुक्त युवक न्यायाधीशतिर पिठ्यू फर्काएर उभियो ।
उसले लगाएको कालो टीसर्टमा  ठूलाठूला भङ्गेरे टाउके अक्षरमा सेतो रङले लेखिएको थियो – ‘मेरो देशको सरकार हरायो ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।