पगरीवाला : छायादत्त न्यौपाने बगर ( लघुकथा)
कपन अनलाइन
काठमाडौँ, भाद्र २।
काठमाडौँ, भाद्र २।
अचेलका छोराछोरी साँच्चै कति बाठा ! छोरी भनेर के गर्नु ? च्याप्पै घाँटी समाती, म त ट्वाँ…!
बाबा ! तपाईंको बोली र व्यवहारमा मेल छैन, पटक्कै छैन । तपाईं उपदेश दिन मात्र सिपालु ! अनुशासन, मानवीय संवेदनाको सम्मान गर्नु, पदीय जिम्मेवारीको ख्याल गर्नु, अनधिकृत सुविधामा राल नकाढ्नु, मान्छेका अगाडि शिर झुक्ने काम कहिल्यै नगर्नु ! यस्तै यस्तै कति हो कति आदर्श फलाकेर नथाक्ने ! मौकामा ? आफै लम्पसार !
छोरीका यी कुराले टाउको रन्थनियो । छोरो उसै गरी खनिन्छ ! राहत जुट्ला कि भनेर बुढीको अनुहार नियालेको त ओठ लेप्र्याएर खुच्चिङ गर्छे बा !
परिवारले नै यसरी उल्लीबिल्ली पारेको सह्य भएन । हुने कुरै होइन । भित्रैदेखिको साहस तानेर जङ्गिदै – तिमीहरू के भन्दै छौ हँ ? छोरीले बोलीव्यवहामा तालमेल बिग्रेको भनेकी मलाई ! यसको मतलब म बौलाहा ?
नरन्किनुस् बाबा ! रन्केर जितिंदैन । यहाँ…प्रस्टै छ नि । तपाईंले सहवीरको विषयमा कविता लेखेर, प्रशस्ती गाएर धुमधाम उतिबेला । आज अर्कासित त्यो लठुवा लम्फु अध्ययनको गहिराइ नभाको भनेर मुख फाल्न मिल्छ ? कहिले देवता जस्तो कहिले दानव जस्तो भनेर कल्पनामा बहकिन सुहाउँछ तपाईंलाई ?
बाको अनुहार कालोनिलो देखेर –अझ कसलाई के भनेँ ? त्यो पनि मैले नै भन्दिनुपर्ने ? तपाईंलाई थाहा छैन ?
छोरीको कथन नसकिँदै– हो बाबा ! यो तेलबेसारे बानी सच्याएर विद्वानहरूले खुरापात गर्न छाडे समाज परिवर्तनमा समय लाग्ने थिएन । हाम्रो राजनीति, स्वास्थ्य, शिक्षा, उद्योगका क्षेत्रहरू तहसनहस हुनुमा कहाँ के पाइन्छ भनेर स्वार्थवश नौडाँडा चहार्दै हिँड्ने तपाईंहरू जस्ता बौद्धिक पगरीवालाकै करामत
हो ! के तपाईंलाई होइन जस्तो लाग्छ ? गफले कर्तव्य नगरेजस्तै स्वार्थले स्वाभिमान बचाउँदैन बाबा ! सानो मुखले ठुलो कुरा ग¥यो नभन्नुस्, सबैलाई थाहा छ सत्य तितो हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।