आधुनिक श्रवणकुमार: गंगा खड्का ( लघुकथा)

आधुनिक श्रवणकुमार: गंगा खड्का ( लघुकथा)
कपन अनलाइन
काठमाडौँ, भाद्र २।
मेरी आमालाई मैले पोहोरको साल एउटा फोन दिएको थिएँ । मैले चलाइसकेको फोन भए तापनि एकान्तको साथी भनेर उहाँ साह्रै खुसी हुनुभएको थियो तर मेरो मन भने आमालाई एउटा नयाँ फोन किनिदिन नसकेकोले भित्रभित्रै खिन्न भएको थियो ।
यो साउन लागेदेखि आमाले फोन अलि बढी नै चलाउनुभएको आभास मलाई भइरहेको थियो । एकदिन आमा कोठामा बसेर मोबाइल हेर्दै रुन लाग्नुभएको रहेछ । संयोगवश  मैले देखेँ र आमालाई सोधेँ, ‘आमा किन रुनुभएको ? बाको सम्झना आयो कि क्या हो ?’
‘यो कसैको सम्झनाको आँसु होइन बाबु, यो त हर्षको आँसु हो ।’ उहाँले आँसु पुछ्दै भन्नुभयो ।
मैले आश्चर्यचकित हुँदै सोधेँ, ‘केको हर्षको आँसु आमा ?’
मोबाइलमा पशुपतिनाथको मन्दिर देखाउँदै आमाले भन्नुभयो, ‘तैँले आफूले टिकटिके मोबाइल चलाएर मलाई आफ्नो मोबाइल दिएको छस् । दमको रोगी मैले ओछ्यानमा बसीबसी पशुपतिनाथ लगायत सबै देवीदेवताको दर्शन मोबाइलबाटै गर्न पाएकी छु । तँजस्तो आधुनिक श्रवणकुमारलाई जन्माउन सकेको खुसीमा आँसु झरिहाल्यो बाबु ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।