नमिठो अतित : शिवराज शाही (लघुकथा)
कपन अनलाइन
काठमाडौं असार ९।
जसले आफ्नो आमालाई सम्मान गर्छ । उसले संसारका हरेक नारीलाई सम्मान गर्छ ।
म विहान उठेर नृत्यकर्म सक्काएर दुई घन्टा पढ्थे । अनि हतार हतार खाना खाएर स्कुल जान घर बाट निस्कन्थे । घर देखि स्कुल पुग्न म्याजिक चढेर जानु पर्थ्यो । चोकमा ढिला पुग्यो भने बस्नलाई सिट नै पाइदैन थियो । सिट पाए पनि साँघुरो सङ्ग खादिएर बस्नु पर्ने हुन्थ्यो । केटीहरु सङ्ग बस्दा त तेस्तो केही लाग्दैन थियो । तर केटाहरु सङ्ग बस्नु पर्यो भने मेरो सातो जान्थ्यो । कोही केटाहरु त सङगै बस्दा पनि अलि सहज भएर बस्थे । तर कोही भने मौकाको फाइदा उठाउदै मेरो शरिरमा टाँसिन आउथे । मलाई भरङ्ग रिङ्गटा चल्थ्यो । एकदम नराम्रो महसुस हुन्थ्यो । किन छोरी भएर जन्मेछु जस्तो लाग्थ्यो ।
किन छोरी भएर जन्मे यो समाजमा ? किन पापीहरू मै सङ्ग टाँसिन आउछन् ? सबै नारीहरू आफ्ना आमा, दिदिबहिनी जस्तै हुन् भनेर किन सोच्दैन ति पापीहरू ?
दिनभर मनमा यस्तै यस्तै कुरा खेलिरहेका हुन्थे । राती सुत्दा पनि यस्तै कुरा सोच्थे । मेरो मस्तिष्क मा डरले रामै सङ्ग जरा गाडेर बसेको थियो ।भोली पनि यस्तै त हुने होला नि । फेरी कुन पापीको सिकार बन्नु पर्ने हो । अर्को दिन घटने सम्भावित घटना सम्झेर अबेर सम्म निद्रा लाग्दैन थियो ।
भोलीपल्ट पनि त्यस्तै हुन्थ्यो, जुन कुराले मेरो मनमा डर को बिउ रोपेको थियो । त्यो मैले दिनदिनै भोगिरहेकी थिए । म दिन दिनै लुटिए जस्तो लाग्थ्यो । मेरो खुसी को कसैले हत्या गरे जस्तो लाग्थ्यो । म लुटिदै गए । दिनदिनै मेरो मनस्थिति बिग्रदै गयो ।
तर जे जस्तो भएपनि आफूलाई परेको समस्या कहिल्यै घरमा भनिन् । बरु मनमनै कुरा लुकाएर बसिरहे । मेरो दुःख सुनाएर बाबा ममिको मन दुखाउनु चाहिन । बरु आफ्नै मन दुखाइरहे । बरु आफ्नै मन जलाइरहे । यसरी नै मेरो एक बर्ष बित्यो । मनमा डर कहिल्यै हटेन । पछि मैले त्यो स्कुल छोडेर घर नजिकैको स्कुल पढ्न थाले ।
अझै पनि कुनै पुरुष सङ्ग बसेर यात्रा गर्नु पर्यो भने त्यो नमिठो अतितले झस्काइरहन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।