जिन्दगीको गीतभित्र देशको गीत : आविष्कार कला ( समिक्षा )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १९।
ताराप्रसाद वस्ती रेडियोको साथी । साहित्यको साथी ।
आवाजको साथी ।
साहित्यका विविध विधाहरू कविता, गीत, गजल, मुक्तक लगायत अन्य विधाहरूमा नयाँ र पुराना पुस्ताका साहित्यिक मनहरूलाई देशको जेठो प्रशारक संस्था रेडियो नेपालको स्टुडियोमा साहित्यिक मन्थन गरी देश र विदेशको कुना काप्चामा अन्तरमन र साहित्यिक ध्वनि पु¥याउने साहित्यिक मन ताराप्रसाद वस्तीको नयाँ गीत सङ्ग्रह तारापुञ्ज बजारमा आएको छ ।
धादिङका दुई पाखा जगाउदै बगेको त्रिशूलीबाट सिकेर होला । धादिङका ताराप्रसाद वस्तीले मानव जीवनमा आवश्यक दुई पाटाहरू जिन्दगीको प्रेम र देशप्रेम जगाउने गीत यस सङ्ग्रहमा सङगृहीत गरी साहित्यिक बजारमा पेश गर्नुभएको छ ।
तारापुञ्जमा साठी गीतहरू समावेश छन् । सङ्ख्याको हिसावले अधिकांश गीतहरू व्यक्तिको जीवन देखाइ, जीवन भोगाइसँग अत्यन्तै नजिकको सम्बन्ध राख्ने प्रकारका छन् । जिन्दगीको हर समयमा पार गनुपर्ने ती महत्वपूर्ण चरणहरू र जिन्दगीका कष्टपूर्ण अवस्थाहरूलाई सरल सहज र आफ्नै भाकामा गाउन सकिने लयमा धेरै गीतहरू आएका छन् । गीतकारले धेरै ठाउँमा पीडा, चोट, धात र विश्वासधातहरू नचाँहदा पनि जिन्दगीमा आइरहन्छ है भनेर गीतको माध्यमले नेपाली समाजलाई गीतिलयमा जानकारी र सूचित गरेका छन् ।
जीवन मेरो सुख्खा सुख्खा भयो तिम्रो भरमा परी
तै नि किन आउँछ फेरी तिम्रै याद घरी घरी ।
जीवन मेरो सुख्खा सुख्खा
कहिले माया–नङ मासु कहिले आगो–पानी
तन–मन सुम्पिदा नि पाइनँ आनी–
बानी । कहिले माया–नङ मासु
“उमेरमा स्याल पनि घोर्ले हुन्छ” भन्ने नेपाली उखानलाई गीतमा सचेतनाका साथ प्रस्तुत गरिएको छ । फक्रिदो बैँस, बल्दो उमेर जवानीको गन्धमा रम्न खोज्ने दुनियाँसँग हर समयमा सचेत हुनपर्छ भन्ने आशयको सामाजिक चेतनासहितको गीत मजाले पढ्न
पाइन्छ ।
किन हेर्छन् सबले मलाई के छ ममा कुन्नि
कलेजीमै राख्छु भन्छन् जाल बुनी
बुनी । किन हेर्छन् सबले मलाई
त्रिशूलीमात्र बगेर परदेश गएको छैन । त्रिशूलीकै उच्च बेगमा नेपाली जनहरू परदेशिएका छन् । पददेशिनुको पीडा र परदेशमा भोग्नु परेको पीडा अनि परदेशमा रहँदा घरपरिवार गाउँ, देश, समाज, आफ्नो रहनसहन, हाम्रो चाडपर्व, धर्म संस्कृति
सम्झदाका अझ अधिक पीडाहरू गीतमा
त्रिशूली बनेर बगेका छन् । त्यसैगरी गाउँघरमा रहेका बुढा बाबा आमाको पीडा, सँगै बस्नुपर्ने जीवनसाथी विदेसिदा जीवन सङ्गीनिले भोग्नुपरेको पीडा र साना साना नानी बाबुले बाल्यावस्थामा पाउनुपर्ने पिताको स्नेह नपाउदा ती बाल हृदयमा उठेका भावनाहरू गीतमा सररर आएका छन् । जनस्तरका बोलीमा हाम्रै कुरा लेखेको रहेछ भन्ने भान हुने शब्दहरू गीतभरि नै पढ्न पाइन्छ ।
सबै पक्षको व्यवस्थापन मिलाएर ती गीतहरू रेकर्ड गर्नसके ती गीतहरूमा रहेका जीवन भोगाइ र नेपाली समाजको वर्तमानको पीडा पाठकका साथ साथै श्रोता र दर्शकका सामु पनि पुग्ने थियो ।
धन त तिम्रो कमाइ होला मनचाहिँ कमाएनौ
तिमीले पठा धनले मेरो आँसु
थमाएनौ । मेरो साथ खोज्छ खोज्दैन ?
पछिल्लो समय हाम्रा चाडपर्व, साँस्कृतिक मुल्य मान्यता मनाउँदा मौलिकता चटक्क बिर्सिएर भड्किलो देखावटी उपभोक्तावादी संस्कृति बढ्दै गएकोप्रति पनि गीतकारको राष्ट्रिय पीर निकै गहिरो छ । सुसंस्कारित सभ्यता ऋषिमुनिका सन्तान हामी, ती विद्वान पुर्खाले चलाएको सामाजिक चलनलाई मौलिक मान्यता अनुसार मनाउँदै अगाडि बढाएर भावी पुस्तालाई वास्तविक सांस्कृतिक धार्मिक र आध्यात्मिक पक्षका साथ सुम्पन नपाइने हो कि भन्ने डर गीतकारमा रहेको पाइन्छ । हाम्रो मौलिक भेष पहिरनमा आएको बढ्दो विकृतिका बारेमा पनि गीतकारले समाजलाई सचेत रहेर आफ्नो मौलिकता जोगाइराख्न गीतका माध्यमबाट आव्हान गरेका
छन् ।
दशैँ तिहार मौलिक चाड हाम्रो हो
हाँसी खुसी रमाउनु राम्रो हो
धोको फेरेर
चाडपर्व मनाऔँ गच्छे हेरेर । धोको फेरेर
गीतमा देशभक्तिको पाटो निकै उच्च रूपमा आएको छ । नेपाली वीरताको इतिहास, शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिहरू जोगाउदै आधुनिक भौतिक पूर्वाधारको विकास गरेर समुन्नत, सम्पन्न, सुखी र खुसी नेपाली बनाउन आव्हान गरेका गीतहरू यस सङ्ग्रहमा पढ्न पाइन्छ । गीतमा व्यक्त गर्नुपर्ने नेपाली देशभक्तिका पाटाहरू विभिन्न स्वरूपबाट गीतमा आएका छन् । चन्द्रसूर्य अङ्कित झण्डा खुकुरीकै भरमा विश्व विजेता बनेका हामी नेपालीको बारेमा लेखिएको
गीत सधैँ गाइरहँु जस्तो छ ।
चन्द्रसूर्य अङ्कित झण्डा उहिल्यै फर्फराको
खुकुरीकै चम्काइमा विश्व थर्थराको नेपाली हो जात हाम्रो वीर रगतको
विश्वभरकै सुरा हामी साक्षी विगतको प्राणभन्दा प्यारो लाग्छ
यस सङ्ग्रहका सबै गीतहरू मन मुटु र मस्तिकले एक साथ राख्न र गाउन मिल्ने खालका छन् । जीवनका गीतहरूले जीवनका हरेक पाटोलाई छपक्कै छोएका छन् । देशभक्ति गीतहरूमा देशभक्तिको भावना सगरमाथा जस्तै उच्च रूपमा प्रस्तुत भएको छ । सर्जक वस्तीले जीवन र देशलाई कलमको सहायताले लयबद्ध तवरले गीतको रूपमा उन्नु भएको छ । आगामी दिनमा उहाँको गीति लेखनको कलम निरन्तर अगाडि बढिरहोस् शुभ कामना ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।