‘माटोको सुवास’–भित्रको प्रकाश : रामसागर अधिकारी ( पुस्तक समिक्षा )
कपन अनलाइन
काठमाडौं, बैशाख २६।
काठमाडौं, बैशाख २६।
आमा ज्योति श्रेष्ठ र बाबु गोपिकृष्ण श्रेष्ठको सन्तानको रुपमा वि.सं. २०३१ साल भदौ १ गते सुनसरी जिल्लाको हरिपुरमा जन्मिएकी कवि मञ्जु श्रेष्ठज्यूको स्थायी थातथलो महोत्तरी जिल्लाको बर्दिबास–१ रहेको छ भने कर्मथलो विराटनगर भएको छ । शिक्षण पेशामा आवद्ध कवि मञ्जुज्यूले वि.सं. २०७२ सालमै ‘बालुवाको घर’ भन्ने कथासंग्रह प्रकाशित गरेर साहित्य क्षेत्रमा उपस्थिति जनाइसक्नु भएको छ भने वि.सं. २०७५ सालमा उहाँको छन्दोबद्ध कविता संग्रह ‘माटोको सुवास’ ‘छन्द बाटीका नेपाल’ (विराटनगर) ले १००१ प्रति प्रकाशित गरेको हुँदा पाठकमाझ आइसकेको छ । म पनि वार्णीक र मात्रिक दुबै छन्दको साधक भएको हुदाँ पद्यमा जस्तो स्वाद र सन्तुष्टी गद्यमा पाउँदिन, नभएको कुरा कसरी पाउने ?
अचेल ‘समय खराब भयो’ भनेर मान्छे भन्छन् तर म चैं समय खराब भएको होइन, मान्छे पो खराब भएको देखिरहेको छु, बुझिरहेको छु । छन्दको ज्ञान नभएकाहरुले छन्दवादीलाई र छन्दका कृतिलाई हेलाँ पो गर्न खोज्छन् । हो यस्तै हेलाँमा परेर यो पुस्तक मेरो हातमा आइपुग्यो । विराटनगरका एकजना साहित्यकार भनाउँदाले “ए अधिकारी जी ! तपाइँ पनि छन्दवादी पर्नु भो हैन ? यि यो छन्दमा पढ्नुहोस्” भन्नु भो, अनि नपढ्ने भए किन किनेको त ? भनेर सोधेको “विमोचनकोे निम्ता मान्न गइयो, त्यहाँ बाँडिएको हुँदा एउटा ल्याएँ” भन्दै मलाई दिनु भो । मैले यसो समातेर पछाडी हेरको त सुनेकै नाम, चिनेकै मान्छेको कृति पो रहेछ , अनि, भित्रतिर पल्टाएर सरर हेरेको त ४९ वटा कवितामा १४ वटा वार्णीक छन्द प्रयोग भएको देखें । त्यसपछि मैले प्राथमिकतामा राखेर यस कृतिको अध्ययन र लेखनमा समय खर्चन सुरु गरें । मलाई सर्जक स्वयंले एउटा कृति नदिएर ठीक गर्नुभयो भन्ने पनि लाग्यो तर ‘ढिकीमा कुटे पनि, ओखलीमा कुटे पनि चामलसँग मतलब’ भएको हो । किनभने मेरो समालोचना संग्रहमा छन्दोवद्ध कृति र महिलाका कृति पनि समावेश गरौं भन्ने लागेको छ, यसबाट मरो दुबै काम भयो ।
अचेल अल्पज्ञानी गुरुहरु बढेका बढेकै छन् । आफूले लेख्दा वा वकालत गर्दा वादविहीनताको पक्षमा उभिइ– सकेकाहरुले पनि अरुको कृति हेरेर हेप्न सकिने रहेछ भने ‘यो कृति कुनै वादमा आएन, यसको काम छैन, यस्तो हुनुहुुँदैन” भन्दै विवाद मच्चाएको पनि मेरै कानले सुनिसकेको हुँदा यो कृतिको समालोचनालाई पनि संरचनागत (संरचनावाद) समालोचनाको संज्ञा दिएर उतैतिर लाने जमर्को गर्दैछु । यो कुनै मिलेमहतोको, दान दक्षिणाको, आग्रह, पुर्वाग्रह र दुराग्रहको विषयबस्तु होइन । अचेल निसर्त र निस्वार्थ रुपमा अरुका कृति पढेर, समीक्ष, भूमिका, अथवा समालोचना लेख्नेको अनिकाल परेको छ भने पैसा पचाउन भूमिका, समीक्षा वा समालोचनाको नाममा व्यत्ति–स्तुती लेख्नेको बाढी आएको छ । त्यस्तो परिपाटिले पाठक, सर्जक, सिकारु लगायत भाषा साहित्यलाई समेत धमिलो र अमिलो पार्ने हुँदा यो विकृतिबाट बच्न सके राम्रो हुन्थ्यो ।
आवरण पृष्ठ बाहेक जम्मा ७२ पृष्ठ रहेको यस पुस्तकमा ३ पृष्ठ खालि छोडिएको छ भने यस पुस्तकसँग सम्बन्धित विविध विषयबस्तुले १९ पृष्ठ ओगटेको छ र बाँकी ५० पृष्ठमा ४९ वटा कविता समेटिएको छ । यसमा ‘बाढी’ शीर्षकको कविता २ पृष्ठको रहेको छ । यो कविता संग्रहको लागि छन्द बाटीका नेपालका अध्यक्ष साहित्यकार हरि कट्टेलज्यूको प्रकाशकीय लेखन रहेको छ भने साहित्यकार रमेश खकुरेल, प्राज्ञ एव. साहित्यकारहरु दधिराज सुवेदी र विवश पोखरेलज्यूका तर्फबाट शुभकामनाका शब्दहरु प्राप्त भएका छन् । यस कृतिको भूमिका लेखनको गहन कार्य भने प्रा.डा.गोपाल भण्डारीज्यूले गर्नु भएको देखिन्छ । कृतिकारले आफ्ना कुराहरु लेख्नु भएको छ तर यसमा समर्पण भने समावेश गरिएको छैन ।
यस कवितासंग्रहमा नारी, हेरेर के बस्तछौ ?, आग्रह, शान्तिको कामना, समय बितेपछि, यो जीन्दगी, दुनियाँ, हे आमा, फेसबुक, बुवा, मेरो आँगन, बाढी, तिमीसँग, आमा र सर्जकसँग शीर्षक भएका १५ वटा कविताहरु शार्दूलविक्रीडित छन्दमा लेखिएका छन् भने म पानी घडाको, इच्छा, गल्ती बताऊ, हे युवा, निराश, चाहना, फूलको कथा, तिमी जाग, नयाँ वर्ष, अदृष्य शक्ति र नबोली–नबोली शीर्षकका ११ वटा कविताहरु भुजङ्गप्रयात छन्दमा रचिएका छन् । त्यस्तै अनुष्टुप छन्दमा लेखिएका ५ वटा कवितामध्ये ‘आमाको याद’ भन्ने कविता अनुष्टुप छन्दको विधुन्माला भन्ने भेदमा छ भने ‘वन, खै त नेपाल हाँसेको ?, प्रशवको बेला र देश शीर्षकका ४ वटा कविताहरु अनुष्टुप छन्दको पथ्यावत्र भेदमा रचिएका छन् । फूल, वालापन, बृद्धको बिलौना र दशैं शीर्षकका ४ वटा कविताहरु मन्दाक्रान्ता छन्दमा रचिएका छन् भने दाजुसँग, आह्वान र यूवा शक्ति शीर्षकका ३ वटा कविता इन्द्रबज्रा छन्दमा रचिएका छन् । त्यस्तै मान्छे र हे माली शीर्षकका २ वटा कविता शालिनी छन्दमा र कविता र मन शीर्षक भएका २ वटा कविता तोटक छन्दमा रचिएका छन् । त्यस्तै गरेर शिखरिणी छन्दमा एउटा (माटो), स्रग्विनी छन्दमा एउटा (देश होस इज्जत), बसन्ततिलका छन्दमा एउटा (रहस्य), पञ्चचामर छन्दमा एउटा (आँशु), उपजाति छन्दमा एउटा (सडक बालकको कथा), कुसुमविचित्रा छन्दमा एउटा (झण्डा) र दोधक छन्दमा एउटा (मानव), समेत ७ वटा कविताहरु रचिएको देखिन्छ । यसरी हेर्दा उहाँको वार्णिक छन्दप्रतिको मोह र छन्द–साधना समेत उच्चकोटिको देखिएको छ ।
यसमा संग्रहित ४९ कवितामध्ये १७ वटा ५ श्लोकका, १५ वटा ४ श्लोकका, १० वटा ६ श्लोकका, ४ वटा ७ श्लोकका, एउटा ८ श्लोकको, एउटा १० श्लोकको र एउटा ३ श्लोकको रहेका छन् । शास्त्रीय मान्यता अनुसार ४ पाउको श्लोक भएका फुटकर कविताहरु ५ श्लोककै उत्तम मानिन्छ । त्यसैले उहाँको काव्य साधना र काव्यकला समेत साउनको मूल बढेझैं बढिरहेको छ भन्दा अत्युक्ति हुँदैन । हुन त चन्द्रमाको दागि देख्ने र देवकोटाका त्रुटी खोज्ने अल्पज्ञानी गुरुहरुका लागि यो कृति ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने झैं हुनसक्छ तर खराब पक्षको बहुमत भन्दा असल पक्षको अल्पमत नै अनमोल हुन्छ, या नै कि एक क्वीन्टल फलामको मूल्य भन्दा एकतोला सूनको मूल्य बहुत बेसी हुन्छ । त्यसैले उहाँका कविता र उहाँको काव्यकारितामा अथवा साधनामा खोट लाउने ठाउँ छैन, कवि मञ्जु श्रेष्ठज्यूले यो अद्वितीय काम गर्नु भएको छ।
यस कृतिको बारेमा बोल्नेहरुले अक्षरस नपढी बोलेको समेत यहाँ स्वयं प्रमाणित भएको छ । भूमिका लेखन जस्तो गहन कार्य गर्नु भएका प्रा.डा.गोपाल भण्डारीज्यूले कविताको परिभाषा हाल्नु भएको छैन । यस संग्रहमा जम्मा २५४ श्लोक मात्र छन् तर उहाँले २५५ श्लोक उल्लेख गर्नु भएको छ भने विद्युन्माला छन्द अनुष्टुपकै भेद हो भन्ने थाहा नपाएका कारण छुट्टै छन्दको नाम दिइएको देखिन्छ ।
अल्पज्ञानी र पैसावाला व्यापारीले कविताको अनेकौं परिभाषा गरेर मपार्इंत्व छाँड्न खोज्छन् तर म भने पूर्वीय साहित्याचार्य भामहको परिभाषामा पूर्ण सहमत छु जसअनुसार कविता भनेको “अनुभूतिले रङ्गाइएको बुद्धि हो” जुन बुद्धिले मानव समुदायलाई समय सापेक्ष परिवर्तन गर्दै सकारात्मक र सुधारात्मक बाटोमा अगि बढाउन थप उर्जा प्रदान गरोस् ।
कवि मञ्जुज्यूका कवितामा विषय विविधा छ, देशभक्तिभावको औलोदौलो छ, मायाँ मानवताको सवालमा विभेदरहित छन्, लैंगिक समानताको पक्षमा छन्, प्रगति र परिवर्तनको पक्षमा छन्, शीघ्र विकास र तीव्र सम्बृद्धिको पक्षमा छन्, व्यक्तिगत स्वार्थ र संकीर्णता केही छैन, शिष्टता, संयम्ता, मार्मिकता, भाव गाम्भीर्यता, युग बोध्यता जस्ता कुराहरुको कमि छैन । शब्दहरु सरल कोमल, प्राञ्ज्वल र लालित्यपूर्ण छन्, कविले चाहेको सोच, संस्कार र समाजमा खोट लाउने ठाउँ छैन । वर्तमान परिप्रेक्षमा यो स्तरका कविता र यत्तिको छन्द साधना गर्ने स्रष्टाहरु निकै कम छन् । कविको बलबुता अनि बौद्धिकताले भ्याएसम्म कविताहरु चिरिच्याँट्टै पार्ने कोशिस भएको छ, साह्रै मनगढन्ते, स्वाँगी, ढ्वाँगी र चोरीकोे गन्ध पाइँदैन, कवितामा कविको मौलिकता झल्किएको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।