एउटा कुरा : रञ्जना पराजुली लम्साल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
उमेरले असी पुग्नै लागेका हरिप्रसादको एउटा बानी साच्चिकै आकर्षकको थियोे ।
‘एउटा कुरा’ भन्ने वाक्यांशलाई बहुतै खेलाइ कुरा गर्न उनी खुब रुचाउँथे । उनका गफ सुन्नेहरु जब उनले ‘एउटा कुरा’ भनेर सुरु गर्न मात्र के थाल्थे बढो चाख मानेर सुन्नेको काम बितेको थाहै हुन्थेन ।
दुई श्रीमती अघि लगाइ छोराबुहारी, छोरीज्वाँई र नातिनातिनाले घेरेर उमेर वयोवृद्धवस्थामा प्रवेश गरेता पनि उनको हँसिलो, रसिलो र फरासिलो स्वभावले उनलाई स्वस्थ र सुन्दर पुरुषका रूपमा उभ्याइसकेको थियोे । उनका कुरा यस्तै हुन्थे ‘एउटा कुरा क्या त नि, मान्छेको उमेर पो बूढो हुने हो त मन बूढो हुने होईन क्यारे ।’ जीवनभरी नै उनको एउटा कुरा भनीभनी धेरै कुरा सिध्याए । त्यसैले सबैले उनलाई एउटा कुरा बा भनेर चिन्थे र त्यही नामले बोलाउँथे पनि । हरिप्रसादको नामको चर्चा यसरी वल्लो गाउँ पल्लो गाउँ सबैतिर चलेको थियो ।
दुईचार दिनदेखि बुढा अलि खिस्रीक पर्दै गए । त्यति धेरै बोल्न पनि छाडे । पिढिको डिलमा झोक्राएर बसेको देखिन थाले । सबैले आ–आफ्नै किसिमले चासो र चिन्ता देखाउँदै भेटघाट गर्ने क्रम बढाए । गाउँभरिकै जेष्ठ नागरिकलाई समाजले मर्यादा र सेवा पनि राम्ररी पुर्याए ।
एकदिनको कुरा, अकस्मात एकपछि अर्को गफ गर्दै हरिप्रसादको आँगनभरि धेरै महिला र पुरुष जम्मा भए । सबैले बुढा त सार्है पो भएकि भन्ने अडकल लगाए । कोहि हरिप्रसादको नजिक बसे भने कोही आँगनको डिलतिर बसि गफ गर्न थाले । गफको सिलसिला र गफका पात्रहरु फेरिने क्रममा बृद्ध उमेरकै काजीबाको पालो आयो।हरिप्रसादको नजिकै गएर ‘हरिदाई, बाँचिरहे के–के देख्न पाइने । तपाईं पनि सयौं बर्षसम्म बाँच्नुपर्छ है । ‘हरिप्रसादले ओठसम्म मुस्कान ल्याएर काजीबालाई हेरिरहे ।
सबै कुरा बुझेका काजीबालाई हरिप्रसादको मुस्कानलाई बुझ्न कति बेर लागेन र हत्तपत्त भने । ‘घनश्याम खत्रीकि कान्छी छोरी हेर्दाहेर्दै तरुनी भइसकिछे अस्ति मात्र काजीबा कान्छिको लागि केटो खोज्नुपर्यो भन्दै थिए ।’ त्यही बेला घनश्याम खत्रीकी कान्छी छोरी एउटा पोको च्यापेर हरिप्रसादकै घरमा
आइपुगी । कान्छीलाई हेर्दै काजीबा प्वाक्क बोलिहाले, ‘हरिप्रसाद दाइ, भनेको थिए नि, बाँचिरहन पाए के–के देख्न पाइन्छ, अ तपाईं पनि सयौं बर्ष बाँच्नुपर्छ है भनेर । लु अब तपाईंको एउटा कुरा फेरि सुरु हुने भो ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक