हेराइ : पदमप्रसाद दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
‘तपाईं त के हो एकछिन सँगै बसेर गफ गर्ने फुर्सत पनि निकाल्नु हुन्न, सधैं हतारो सधैं चटारो’ पत्नीले दिक्क मान्दै पतिसित कुरा बिसाइन् ।
‘के गर्नु यिनै हाम्रा छोराछोरीका लागि मरिहत्ते गरेको, यो त बाध्यता हो । तेति त बुझिदिनु पर्छ नि !’ पतिले सम्झाए ।
‘त्यो त हो तर कहिलेकाहीँ यसो रमाइलो पनि गरौं भनेको पो त !’ पत्नीले नम्र भावले भनी ।
‘अनि सुन्नु न ! मैले बजारबाट केरा र चिउरा किनेर ल्याएकी छु, हिजो जमाको ठेकीमा दही पनि छ, एकछिन आरामसँग बसेर खाउँ न ल !’ खुशी हुँदै पत्नीले दही चिउरा ल्याई । दुवैले मीठो
मानेर खाए । खाँदै गर्दा पत्नीले पल्लो घरको बरन्डातिर हेरेर भनिन्, ‘हेर्नुस् न ! तिनीहरुले कति मैला लुगा सुकाएको । लुगा धोएपछि राम्ररी साबुन पानीले पखाल्नु पर्छ नि !’ पतिले राम्ररी हेरे तर केही बोलेनन् । पतिले उनको कुराको वास्ता नराखे पछि चिया लिएर आउँछु भनी भान्साकोठा भित्र पसिन् उनी ।
आफ्नै घरको झ्यालको सिसा धुलै धुलोलेभरिएर धमिलो देखिने भएको रहेछ । उनले हत्तपत्त कपडाले सिसा पुछे । अब बाहिर छर्लङ्ग देखिने भयो । त्यसैबेला पत्नीले चिया लिएर आइन् । उनको आँखा पÞmेरि पल्लो घरमा सुकाएको लुगामा पर्यो । आश्चर्य मान्दै भनिन्, ‘हन मेरा आँखा बिग्रे कि क्या हो ती लुगा अहिले सफा देख्छु त !’ पत्नीले आँखा मिच्तै भनिन् । ‘तिम्रा आँखा बिग्रेका होइनन् हेर्ने दृष्टिकोण बिग्रेको हो । अघिका मैला लुगा अहिले कसरी सुकिला भए ? आफैं बिचार गर ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक