प्रेरणा : सत्या अधिकारी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
उनी अफिसमा जागिरेथिए । म कलेज पढ्दै थिएँ । आतेजातेको बाटो एउटै थियो । नजर जुध्यो । मन मिल्यो । हाम्रो बिहे भयो ।
हाम्रो मायाप्रेम देखेर छिमेकीहरु परेवा जोडी भन्दै जिस्काउँथे । बिस्तारै हामी दुईबाट चार भयौं । दुई सन्तान हाम्रो संसार बने । जेनतेन गुजारा चल्दै थियो । खाने मुख बढ्यो । जिम्मेवारी बढ्यो तर कमाइ बढेन ।
घर खर्चको कुरालाई लिएर हाम्रो खट्पट सुरु हुन थाल्यो। शान्तिको खोजीमा मेरा पाइला बिस्तारै भट्टितिर सोझिन थाले। त्यो साँहिली मोरी चौपट्टै राम्री लाग्न थाली । उसले मलाई कहिल्यै गाली गरिन । बरु मीठो मुस्कानले गिलास भरिदिन्थी । म धेरैजसो साहिलीसंगै समय बिताउन थालेँ । प्रायः
गन्हाएरै घर फर्कन्थेँ । अनि ढोकैबाट हाम्रो युद्ध सुरु हुन्थ्यो । सधैँको हाम्रो झगडाले छोराछोरी दिक्क हुन थाले । आँखाभरि आँसु लिँदै एकदिन छोरीले भनी, ‘तपाईँहरु सधैं किन झगडा गर्नुहुन्छ ?’ छोराले धम्की दिन थाल्यो, ‘सधैं यै चाला हो भने घरै छोडि दिन्छु ।’
‘कम्मरको पटुकी फुकाएर आत्महत्या गर्छु’ भन्दै ऊ त्रसित पार्थी । म के गरूँ ? मगजले काम गर्न छोड्दै थियो। बानीको अगाडि मजबुर थिएँ । परिवारको सुख गुमाउन पनि म चाहन्नथेँ ।
‘यो रक्सीको लत कसरी छुटाउने होला ?’ अब केही त गर्नुपर्यो भन्ने सोच आयो । एक साँझ साहिँलीकोमा जान्न भनेर प्रण गरेँ । तर तलतलले औडाहा गर्यो । बहलिनका लागि भनेर छतमा गएँ । टहल्दै थिएँ । घरको टुँडालमा एक जोडी परेवा चुच्चो जोडेर बसेका थिए । धेरै बेरसम्म हेरिरहेँ । विगतको कल्पनामा म हराएछु । मेरा आँखा रसाए अनि हृदय पग्लियो । कोठामा गएँ । उसले भनि, ‘आज भट्टि नजाने ?’ म लाजले भुतुक्क भए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक