मस्यौदा कुर्दा कुर्दै दिन बित्यो, सिंहदरबारभित्र बैठकै बैठक

मस्यौदा कुर्दा कुर्दै दिन बित्यो, सिंहदरबारभित्र बैठकै बैठक

काठमाडौँ, १४ असार । संविधानसभा, संविधान मस्यौदा समितिले मस्यौदा सभाध्यक्ष सुवास नेम्वाङलाई बिहान ११ बजे बुझाउने भनिए पनि मस्यौदा कुर्दा कुर्दै दिन बितेको छ ।

आइतबार राति मस्यौदा समितिले पारित गरेको प्रतिवेदनमा केही शब्दावलीलाई लिएर प्रमुख दलबीच विवाद बढेपछि तोकिएको समयमा मस्यौदा बुझाउन सकिएन । सभाध्यक्ष नेम्वाङलाई मस्यौदा बुझाएपछि दिउँसो ३ बजेका लागि तय भएको संविधानसभाको बैठक मस्यौदा प्राप्त नभएपछि दिनभर बस्न सकेन । मस्यौदामा बाँकी रहेका केही विषयमा सहमति हुन नसकेको भन्दै पुनः साँझ ७ बजेका लागि निर्धारण गरिएको थियो ।

11185818_10206710327226493_1625846269_n

मस्यौदा नै तयार नभएपछि केही सभासद्् सिंहदरबारमा ओहोरदोहोर गरेर बस्नुभएको थियो भने केही सभासद् संविधानसभा भवन नयाँ बानेश्वरमा पुगेर मस्यौदाको प्रतीक्षा गर्नुभएको थियो । मस्यौदा समितिले दिने निर्णयका आधारमा पटक पटक संविधानसभाको बैठक सार्न संविधानसभा सचिवालय बाध्य भयो । दलबीच देखिएको विवाद मिलाउन शीर्ष नेतादेखि दोस्रो तहका नेताको सक्रियता बढे पनि दिनभर नै समस्या समाधान हुन सकेन ।

मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा बुझाउने कार्यक्रम तय भए पनि केही संवैधानिक भाषामा सहमति हुन नसकेपछि संविधानसभा बैठक पटक पटक सारियो ।

संविधानसभा सचिवालयमा भेटिनुभएका सभासद् रेवतीरमण भण्डारीका अनुसार दलबीच बहुलवाद, धार्मिक स्वतन्त्रता कि धर्मनिरपेक्षता, नागरिकता, पिछडिएका र सीमान्तकृत वर्गका विशेष संरचनालगायत विषयमा गाँठो परेको छ । मस्यौदा समितिले पारित गरेको मस्यौदाका केही शब्दावलीमा एकीकृत नेकपा(माओवादी) र मधेसकेन्द्रित दलका सभासद्ले असहमति प्रकट गरेपछि छलफलको समय लम्बिएको हो ।

मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमा रहेका विवादित शब्द मिलाउन प्रमुख दलका शीर्ष नेताका साथै दोस्रो तहका नेता द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त छन् । सभासद् भने बैठकको पर्खाइमा संविधानसभा भवन नयाँ बानेश्वरमा छन् ।

अर्का सभासद् अइन्द्रसुन्दर नेम्वाङले नागरिकताका विषयमा मस्यौदामा उल्लिखत केही शब्दमा विवाद भएका कारण मस्यौदा कुर्दा कुर्दै दिन बितेको प्रतिक्रिया दिनुभयो ।

संविधान मस्यौदा समितिले संविधानसभामा पेश गर्ने प्रारम्भिक एकीकृत मस्यौदाको विषयलाई लिएर आजै मधेशवादी दलले विरोध गर्ने निर्णय पनि गरे । उनीहरुले ‘संविधानसभा नियमावली २०७०’ निलम्बन गरी द्रुत मार्गबाट संविधान निर्माण गर्ने बहानामा सार्वभौमसत्तासम्पन्न जनता र जनभावना विपरीत ठूला दल जान खोजेको भन्दै विरोध गर्ने निर्णय सार्वजनिक गरे ।

संविधानसभामा आज पेस गरिने मस्यौदाको कडा प्रतिरोध गरिने जानकारी दिँदै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘अन्तरिम संविधान २०६३’ को भावना उल्लङ्घन गर्दै ठूला दलले ल्याएको मस्यौदा आदिवासी, जनजाति, मधेसी र सीमान्तकृत समुदायप्रतिको धोका भएको बताउनुभयो ।

मस्यौदा संविधानसभामा बुझाइए मधेसकेन्द्रित दलले कडा प्रतिवाद गर्ने निर्णय गरिएपछि संविधानसभामा मर्यादा कायम गर्न मर्यादापालक समेत सतर्क देखिएका थिए ।

आजै एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको भावना विपरीत गएर संविधानको मस्यौदा गरिए त्यो मान्य नहुने निर्णय ग¥यो । एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको गठबन्धनमा आबद्ध १४ दलको बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, अघिल्लो संविधानसभाले गरेको निर्णय तथा दलबीच भएका सहमतिको विपरीत नजान समेत आग्रह गरेको छ ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मस्यौदा समितिका सभापति सिटौलाले मस्यौदा लेखनमा एकलौटी गर्न खोजेको आरोप लगाउँदै हुनुहुन्थ्यो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आजै हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्रलगायत विषयमा आफूहरुलाई मत विभाजन गर्न नदिए संविधानसभामा अवरोध गर्ने निर्णय ग¥यो । राप्रपा नेपालले सङ्घीयताभन्दा पनि स्थानीय स्वायत्त शासन विधिलाई अगाडि बढाउन र सो सम्बन्धमा मत विभाजन गरेर बहस र छलफलमा भाग लिन नदिइए आफूहरुलाई मान्य नहुने धारणा सार्वजनिक ग¥यो ।

मस्यौदा कुर्दा कुर्दै सभासद् र दलका नेता मात्रै होइन सञ्चारकर्मी आज सिंहदरबारमा व्यस्त रहे । अनेक अड्कलबाजीबीच पटक पटक सारिँदै आएको बैठकको आशामा सञ्चारकर्मीको दिन बित्यो ।

साँझ ७ बजेका लागि तोकिएको संविधानसभा बैठक पनि निर्धारित समयमा बस्न नसक्ने देखिएपछि संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई सभाध्यक्ष नेम्वाङको कार्यकक्षमा अब के गर्ने भन्दै छलफलका लागि पुग्नुभएको थियो ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल मस्यौदामा सहमति नभए पनि संविधानसभा केही दिन पहिले निधन हुनुभएका पूर्वसांसद पदमसुन्दर लावतीको सम्मानमा शोक प्रस्ताव पेस गरेर बैठक चलाए हुन्छ भन्ने सुझाव दिँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो ‘‘ नमिलेका विषयमा रातभरि सहमति हुँदै गर्छ, बैठक चाहिँ नसारौँ ।’’

मस्यौदा समितिको पूर्ण बैठकले मस्यौदा पारित गरेको भए पनि दलहरुका आआफ्नै अडान, केही शब्दावली र केही व्यवस्थामा परिवर्तन गर्न खोज्दा उब्जिएको विवाद दिनभरि नै मिल्न सकेन ।

विवाद मिल्ने आशामा सविचवालयले राति ९ बजेका लागि बैठक बोलाए पनि अझै तोकिएको समयमा नै बैठक बस्नेमा भने आशङ्का छ ।

रासस बाट रमेश लम्साल र भीष्मराज ओझा

तपाइँको प्रतिक्रिया ।