ससुरो : मनोहर पोखरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ४।
‘त बुहारीलाई बोलाउँछस् कि अर्को विहे गर्छस् ।’ आमाले उही कुरा दोहोर्याउँदा म बिलखबन्दमा अल्झिएँ ।
बुबालाई स्याहार्दा र घरखेत भ्याउनु पर्दा चिनी रोगले गलेकी आमा दिक्क हुनुभएको बुझेँ । छरछिमेक, आफन्तले पनि कुरा काटेको सम्झिएँ ।
आमाले झर्कंदै भन्नुभयो; ‘यहाँ भातभान्सा बन्द छ । त्यसले राजधानी बसेर अधिकृतको तयारी गर्नुपरेको छैन !
आमाका कुरा मैले माने तर बुबाले मान्नुभएन । ‘खाना बनाएर कोही सानो हुँदैन, आजदेखि छोराले खाना बनाउँछ ।’ बुवाको यो कुरा खस्न नपाउँदै आमाजङ्गिनु भयो; ‘इज्जत कमाए त्यो अर्काकी छोरी हो । आजसम्म गर्न नदिएको काम छोराले गर्दैन् । पकाउने, पस्किने, खुवाएर खाने काम बुहारीको हो ।’
आमाको बढेको गनगन मेट्न मैले मोबाइलमा सुनितालाई भनेँ– ‘बुबाको स्याहारसुसार गर्नका लागि पढाइ छाडेर तु. आऊनत्र पछि पछुताउनु पर्ला ।”
सुनिताले पनि घरपरिवार भन्दा जागिर ठूलो होइन् भन्दै फर्कने कुरा गरिन् । हत्तपत्त बुबाले मोबाइल खोस्दै भन्नुभयो– ‘बुहारी नानी, तिमीआउन पर्दै पर्दैन । आयौ भने मेरो बिमार डब्लिन्छ ।’
यताआमा र म घोरिन थाल्यौं उता सुनिता बिलखबन्दमा फँसिरहिन् । बुबाले आँखाभरि आँसु पारेर मोबाइलमै भन्नुभयो– ‘नालायक छोराको बाबु बन्दाबन्दा म गलेको छु । अब लायक बुहारीको ससुरो बनेर तङ्ग्रिन चाहन्छु ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक