मेरा पाँच मुक्तकहरु : निर्मलरमण पराजुली
कपन अनलाइन
काठमाण्डौ ,माघ २८ ।
(१)
शिरमा मेरो ढाका टोपी, यो छाती भित्र देश
प्यारो लाग्छ नेपाली भनी, मलाई चिनाईदिने भेष
धन दौलत सुख सयल, खोज्दै विदेश जानु भन्दा
ढिंडो खाई देशमै बस्नु, बरु त्यो पो हुन्छ बेश ।
(२)
कति बस्छौ नारी तिमी, कुसंस्कारमा जेलिएर
अझैसम्म विभेदरुपी, खाडलभित्र छेलिएर
छातिभित्र साहस बोकि,उठ्न सिक अब आफैं
बाँच्नुहुन्न हेला हिंसा, अत्याचारमा पेलिएर ।
(३)
मर्दा केहि लान्न भन्थ्यौ, गयौ सिन्दुर पोते लिएर
मुटु फुट्ला जस्तै हुने, कस्तो यो पिडा दिएर
कस्ती रैछे अलक्षिनी, लोग्ने टोकी भन्छन सबै
गाह्रो भयो मलाई बाच्न, दिन रात आशु पिएर ।
(४)
मेरी सासु यस्ती उस्ती भन्दै रात, दिन खैरो खन्नेहरु
आमा जस्ती सासुलाई हेला, गरी दुष्ट बन्नेहरु
छन् हाम्रो समाजमा एस्ता नारि, अझै प्रशस्तै छन
त्यहि सासुले पाएको छोरोलाई, मेरो मुटु भन्नेहरु ।
(५)
बाढी आई बगाई लाग्यो, बस्ने मेरो बास हरायो
बाढिले नै मार्यो छोरो, बाढी सङ्गै लाश हरायो
चुनाब आउँदा म छु भन्थे, कुर्सिका लागी लडिरहेछन
दुख पर्दा आशु पुच्छन भन्ने, भित्री मनको आश हरायो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक