मान्छे : त्रिलोचन आचार्य (कविता )

मान्छे : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस  २।

मान्छे ? कहाँ छ र मान्छे, मात्रै शरीर देख्छु
बोक्ने विचार शुन्यता, मात्रै तस्बिर देख्छु
मात्रै तस्बिर देख्छु, म खास हूँ भन्न खोज्ने
यो अर्ब सम्पतिको, म दास हूँ भन्न खोज्ने
देख्छु असभ्यताको, बन्ने अविश्राम भान्छे
अपार स्वार्थ खेती, बेकार गर्दैछ मान्छे ।

छ्याङ्गै देखिन्छ हेरे, भित्र छ चित्र कालो
भन्दैछ उफ्री उफ्री, हेर मैँ छु उज्यालो
हेर मैँ छु उज्यालो, भनी चलाउँने चर्चा
विश्वास नित्य गर्नु, भनी छपाउने पर्चा
आडम्बर त्यो फाले, देखिन्छ मान्छे त नाङ्गै
बेरेर बस्छ टालो, फालौँ देखिन्छ छ्याङ्गै ।

बेत्ता छ हेर खोक्रो जो, लोभी झन् प्राणी त्यो
आफूलाई पुगे भयो, विबेकशुन्य बानी त्यो
विबेकशुन्य बानी त्यो, संसार ठान्दछ बैगुनी
कुहिन्छ उ फर्सी झैँ, व्यर्थ पठाउँछौँ चुनी
हिँड्दैछ बम बोकेर, उड्छन् र परेवा सेता ?
भनेँ नि मैले मान्छे, केवल घमण्डको बेत्ता ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।