राप्रपा (नेपाल) समानान्तरका अध्यक्ष लावतीको निधन
काठमाडौँ, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) समानान्तर केन्द्रीय समितिका अध्यक्ष पद्मसुन्दर लावतीको आज यहाँ निधन भएको छ ।
उहाँका छोरा सगुनसुन्दर लावतीका अनुसार चार दिनदेखि अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा लावतीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उहाँको निधनको अस्पतालले आज दिउँसो १ः२३ बजे पुष्टि गरेको हो ।
लामो समयदेखि मिर्गौला, कलेजो, मधुमेह र हृदयरोगबाट थलिनुभएका लावती पछिल्लो केहीदिनदेखि उपचारका लागि उक्त अस्पतालमा भर्ना हुनुभएको थियो ।
विसं १९९६ साउन ५ गते हालको पाकिस्तानको बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटृामा जन्मनुभएका लावती २०१३ सालदेखि विद्यार्थी राजनीतिमा होमिनुभएको थियो ।
विसं २०२४ सालमा पाँचथरका युवामध्येबाट राष्ट्रिय पञ्चायतको सदस्य बन्नुभएको थियो । उहाँले विसं २०२९ सालमा पहिलो पटक उद्योग राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । अध्यक्ष लावती राजनीतिक जीवनमा १२ पटकसम्म मन्त्री बन्न सफल हुनुभएको थियो ।
उहाँले गृह, सामान्य प्रशासन, कृषि, उद्योग तथा वाणिज्य, सञ्चार, स्वास्थ्य, भूमिसुधारजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको थियो ।
नेपालको राजनीतिक इतिहासमा उहाँ अत्यन्त प्रखर वक्ताका रुपमा परिचित हुनुहुन्थ्यो । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) हुँदै सो पार्टीमा विवाद देखिएपछि समानान्तर केन्द्रीय समितिको अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।
उहाँका दुई छोरा मुलुक बाहिर रहेकाले उहाँहरु आएपछि अन्त्येष्टि कार्यक्रम हुने पारिवारिक स्रोतबाट जानकारी दिइएको छ ।