प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पोखरामा सुरु
कास्की, २७ जेठ । पोखरामा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको संसदमा विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताअन्तर्गत पोखरामा समूह ‘ए’ मा परेका क्षेत्र नं १ विराटनगर, क्षेत्र नं ३ काठमाडौँ, क्षेत्र नं ५ नेपालगञ्ज, क्षेत्र नं ८ पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लवबीच भिडन्त हुनेछ ।
समूह ‘बी’ अन्तर्गतका क्षेत्र नं २ वीरगञ्ज, क्षेत्र नं ४ भैरहवा, क्षेत्र नं ६ बैतडी, क्षेत्र नं ७ जनकपुर र क्षेत्र नं ९ कञ्चनपुरको प्र्रतियोगिता पनि आजैदेखि चितवनमा सुरु भएको छ ।
क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ८, पोखराले आयोजना गरेको प्रतियोगिता असार २ गतेसम्म चल्नेछ ।
आज सशस्त्र प्रहरीको एपिएफ क्लब र क्षेत्र नं १ विराटनगरबीच उद्घाटन खेल भइरहेको छ । दोस्रो खेल क्षेत्र नं ५ नेपालगञ्ज र क्षेत्र नं ८ पोखराबीच हुनेछ ।
वैशाख २२ गतेदेखि सुरु हुने भनिए पनि विनाशकारी भूकम्पपछि प्रतियोगिता सरेको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै विकास समितिका सभापति तथा सभासद् अधिकारीले खेलाडीबाट राजनीतिज्ञहरुले सिक्नुपर्ने धारणा राख्नुभयो । “प्रतिस्पर्धाबाट स्थापित हुने हो, श्रेष्ठता हासिल गर्ने हो, यो नै लोकतान्त्रिक विधि हो”, उहाँले भन्नुभयो, “राजनीतिज्ञहरुले खेलाडीबाट सिक्नुपर्छ ।”
क्रिकेटले नेपालको शीर उँचो राख्न मद्दत गरेको बताउँदै उहाँले खेल पर्यटनको विकासका लागि पनि क्रिकेटका पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोडसमेत दिनुभयो ।
क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ८ का उपाध्यक्ष देवेन्द्र प्रजुले विद्यालयस्तरसम्म क्रिकेट खेल लैजानसके क्रिकेटले फड्को मार्ने दावी गर्नुभयो ।