यात्रा अनन्त लिंगेश्वर महादेवको : महेन्द्र चालिसे
कपन अनलाइन
काठमाण्डौ ,असोज १९ ।
‘दाई धेरै भयो कतै घुम्न नगएको, जाने हैन भन्या ?’ भेटियो कि साथीभाइहरुको प्रश्न नै यही हुन्छ ।
‘जाने, कार्यक्रम बनाउँन त’ उनीहरूलाई मैले दिने जवाफ यही नै हुन्थ्यो । तर उनीहरू कोही कार्यक्रम बनाउन तयार हुँदैन थिए । ‘दाई ढुङ्गखर्कबाट १२–१५ किलोमिटर दक्षिण एउटा नारायणथान छन्, यती उचाईमा छन् कि त्यहाँबाट विहारमा गुडेको रेल देखिन्छ रे’ एक दिन आरुवारी चोकमा चिया पिउँदा पिउँदै बद्री पौड्यालले भन्नुभयो । ढुंगखक त म पहिल्यै गइसकेको थिए – एउटा स्वास्थ्य सिविर चलाउन, तर यो नाराणथानको बारेमा चाहिं सुनेको थिइन । यदी साँच्चै हो भने जाउन त । साथीहरुसँग कुरा मिलाएर २०७९ भदौ १८ गतेका लागि जाने दिन तोकियो । त्यस भन्दा अघि भतिज आलोक चालिसे र पत्रकार निर्मल अर्याल र रचना पत्रिकाका संपादक प्रतिक घिमिरे विच भदौ ११ गते हाइकिङ्ग जाने कार्यक्रम वनेछ र त्यसमा मलाई पनि सामेल गर्ने सोच अनुसार आलोकले खबर ग¥यो । तर त्यो दिन कुशे औंसी परेकोले मैले ‘म त जान्न’ वरु १८ गतेलाई मैले कार्यक्रम राखेको छुँ, त्यसमा निर्मल, प्रतिक र तलाईं सामेल गर्छु, तर तैंले गाडि लग्नुपर्छ’ भनें उनीहरुले स्वीकार पनि गरे ।
यसरी २०७९ भदौ १८ गते हामि म, इन्दिरा चालिसे, प्रतिक घिमिरे, निर्मल, अर्याल, आलोक चालिसे, सीता चालिसे, पुरु चालिसे, प्रशुभा चालिसे, प्रजिता कोइराला, पुर्णचन्द्र जोशी, नारायण जोशी, तारा जोशी, गणेश बराल, शोभा बराल र बद्रीनाथ पौड्याल तीन वटा गाडि लिएर घरबाटै खानेकुरा बन्दोवस्त गरी पिकनिक कम हाइकिङ्ग बनाएर काभ्रे जिल्लाको वेथानचोकस्थित नारायणथान जाने कार्यक्रम तय भयो । १५ गते बिहान मर्निङ्वाकबाट फर्कंदा निर्मल अर्याललाई भेटियो र निर्मलले दाई मेरो त पर्सि जान मिल्ला जस्तो छैन” भने । ल ठिकै छ १५ को सट्टा १४ जना हुनै भैयो र आलोकलाई खवर गरें । तर जुनसुकै कुरा पनि साइत जुर्नुपर्छ भने जस्तै १७ गते विहान आलोकले मेसेज ग¥यो “लौ मलाई त भाईरलले समात्यो, त्यसैले यात्रामा समावेश हुन सक्तिन ।
त्यसपछि पूर्णचन्द्र जोशीले पनि त्यही खालको मेसेज गर्नुभयो । समुहबाट ४ जना सामेल नहुने भए किनकि आलोक विरामी भएपछि सीतालाई तिमीचाहिं हिंड भनेर मैले भन्ने कुरा पनि भएन र उस्ले जाने कुरापनि भएन ।
मलाई कता कता मनमा असहज अनुभूति भयो, त्यो ठाउँमा जाने साइत नै नजुरेको हो पो हो कि ? अनि खोपासीस्थित अच्युत गुरागाइंलाई सम्पर्क गरेर त्यो ठाउँको बारेमा सोधे– “अच्युत, हामी वेथानचोक नारायणथान आउन लागेको त्यहाँसम्म हाम्रो गाडि जान्छ कि जांदैन बुझेर खवर गर त । “हुन्छ दाई, म एकै छिनमा खवर गर्छु भन्छ र पछि फोन गर्छ र भन्छ “दाई यहाँ जानलाई ढुंगखर्क बसपार्कसम्म आफ्ना सानो गाडिमा जान सकिन्छ रे त्यसपछि त्यहाँबाट ७ किलोमिटर सम्म त्यही
स्कोरपियो पाइन्छ, यो लिएर जाने अनि त्यहाँबाट २ किलोमिटर हिंडेपछि नारनथान पुगिन्छ रे । तर मेरो सल्लाह मान्नुहुन्छ भने अहिले वर्षामा दाईहरु नआउनुहोस बरु मंसिर लागेपछि आउनुहोला, बाटो एकदम विग्रेको छ । दाईको एक त सानो गाडी अर्को तपाईंहरु कोही व्यवसायिक ड्राइभर हैन, त्यसैले । अच्युतको कुरा नमान्ने प्रश्नै भएन तर घुम्न जाने योजना, तय भैसक्यो । अब कता जाने त ? खुल्दुली लागि हाल्यो । त्यसपछि विभिन्न ठाउँ संझन थालें । जहाँ म गएको छैन ।
त्यही क्रममा झरुवारासी स्थित सन्तानेश्वर महादेवतिर जाउँ कि भन्ने सोंचें तर बर्षाको बाटो के कस्तो छ कुन्नि ? केही अगाडी शिवलिङ्गको बारेमा एउटा प्रबचन सुनेको थिएँ, त्यहाँ एक जनाले गुण्डुमा अनन्त लिंगेश्वर महदेव छन् तर प्रचार प्रसार नभएर होला प्रायःलाई थाहा छैन भनेका थिए । त्यो संझना साथ ल अब हाम्रो यात्रा त्यही प्रचार–प्रसार नभएको अनन्त लिगेश्वर क्षेत्र हुने भयो भनेर सवै साथीहरुलाई खवर गरें । अब प्रतिकलाई पछि कतै हिडेर जाने ठाउंमा प्राथमिकता दिने अठोट गर्दै आलोकलाई प्रतिकलाई खवर गर भनें र हामि १० जना विहान साढे ६ बजे आरुबारीबाट अनन्त लिगेश्वर जान हिंड्यौं ।
महादेवको खेल मैदानको रुपमा परिचित पाशुपत क्षेत्रमा उत्पत्ति भएका अनेकौं ज्योतिर्लिंगमध्ये अनन्तलिंगेश्वर पनि एक हो । भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ४ मा रहेको यो अनन्त लिगेश्वर मन्दिर मूल सडकबाट २२५ वटा ढुगाको सिंढी उक्लिएपछि गुराँसै गुराँसको जंगलको विचमा रहेको छ । मूल सडकबाट पूर्वपट्टि गुण्डु गाउँ पर्छ भने यो मन्दिर रहेको गाउँ चाहिँ दधिकोट रहेछ । अनन्त लिंगेश्वर मन्दिरको मूल पुजारी नवराज जंगमका अनूसार पहिले पहिले यो शिवलिंगलाई अन्तर लिगेश्वर, अनन्त लिगेश्वर, अनन्ते लिगेश्वर आदि आदि भन्दा भन्दै अनन्त लिगेश्वर भनिन थालिएको हो जस्को अन्त्य नै छैन ।” पुजारी भन्छन् ”जहाँ सम्म यी शिवलिंग उत्पत्तिको सवाल छ भनिन्छ हजारौं वर्ष अघि त्यस क्षेत्रमा ऋषि मुनिहरु तपस्या गर्न आएका थिए रे । तपस्या गर्ने क्रममा उनीहरुलाई पानीको आवश्यक परेपछि ती तपस्वी मध्ये १ जनाले मन्त्र जप गरेर आफ्नो त्रीसूल जमिनमा घुसारे ।
ती ऋषीले जमिनमा त्रिसुल घुसारेको ठाउँबाट पानीको साटो रगत आयो रे । त्यसपछि ऋषीले हत्तपत्त आफ्नो त्रीसूल जमिनबाट निकाले, त्रिसुलमा पनि रगत लागेको देखेर ऋषीहरुले त्यस ठाउँमा उत्खनन् गर्न थाले । अलिकति खनेपछि त्यहाँ शिवलिंग देखाप¥यो जहाँबाट त्रिसुलको घाउले रगत आइरहेको थियो । त्यो लिंगको फेद या अन्त्य भेटाउनका लागि उत्खनन् जारी नै राखियो तर तत्कालिक समयमा नाप्ने आधार त के थियो कुन्नी तर जनवोलीमा ४–५ सय मिटर तलसम्म खन्दा पनि त्यो लिङ्गको फेद भेटिएन र उत्खनन गर्न रोके र त्यस लिंगको अन्त्य फेला पार्न नसकेकोले यस्को अन्त्य नै छैन र यो अनन्तसम्म फैलिएको छ, त्यसकारण यो लिंगको नाउं अनन्त लिंगेश्वर राखिएको हो । मुल पुरोहित नवराज जंगमका अनुसार अनन्त लिंगेश्वरलाई ‘लोकपाल स्वामी भनेर पनि भनिन्थ्यो रे । यो अनन्तलिंगेश्वर कति पुरानो भनेर त यकिन गर्न सकिंदैन, तर त्यहाँ रहेको शीलापत्रको आधारमा यति चाहिं भन्न सकिन्छ कि यस्को जिर्णोद्धार चाहिं १३०० वर्ष अघि लिच्छवीकालका राजा नरेन्द्रदेवले गरेका थिए । यस अनन्तलिंगेश्वरको मन्दिरमा “असार महिनामा खडेरि पर्यो भने चित्रपुरबाट भक्तजनहरु आएर हरहर महादेव पानी देऊं” भनेर पानी मागे भने आज पनि घनघोर पानी पर्छ भनेर आज पनि महिमा गरिन्छ ।
अनन्तलिंगेश्वर मन्दिर पसिरमा एउटा कुण्ड, शिवालय र भजन गर्ने मण्डल अनि एउटा भत्केको मन्दिर भित्र देवीको मन्दिर र गणेशको मन्दिर रहेको छ । त्यस मन्दिरमा रहेको गणेशको मूर्ति पनि अन्य गणेशको मूर्ति भन्दा भिन्न रहेको पाइन्छ । हामिले प्रायः गणेशको मूर्ति भन्नासाथ ठूलो पेट भएको देखेका छौं । तर त्यहाँको गणेशको मूर्तिको पेट सानो छ । अनि गलामा सर्पको माला पहिरेको र गणेशजी कमलाशनमा बसेको देखिन्छन् । यो अनन्तलिंगेश्वर महादेव मन्दिर पुगेपछि हिमालय रेन्जबाट शहरको मनमोहक दृष्य देखेको अनुभव गर्न सकिन्छ । हामि पनि त्यहाँ पुगेपछि थाहा भयो त्यहाँबाट छोटो हाईकिंग गर्न सकिने रहेछ ।
अनन्त लिंगेश्वर मन्दिरको दायां पटि रहेको देवीको मन्दिर पटिबाट सातशय सैंतिशवटा सिंढी उक्लिएर गएपछि त्यहाँ कैलाश पुगिन्छ रे, र अनन्तलिंगेश्वर महादेव मन्दिरबाट देव्रेपट्टि बाट ४५ मिनेट देखि १ घण्टा ठाडो उकालो चढेर गए पनि त्यहीं कैलाश पुगिन्छ रे । कैलाशमा अहिले पर्यटन आकर्षण गर्नका लागि र उनीहरुलाई त्यहाँबाट काठमाण्डौं उपत्यका देखाउने हेतु भ्यूटावर वनाइएको छ रे । तर चालु भएको छैन रे । तर हामिले कैलाश हिंडरे जाने आंट गरेनौं, गाडि लिएर जान लागेको तर बाटो खराब भएकोले बीचबाट फर्कियौं । अनन्त लिंगेश्वर मन्दिर वरिपरि घुमेर अघाउन्जेल फोटो खिच्दा पनि भर्खर ११ मात्रै बजेको छ । वेथानचोक जाने तयारी साथ आएकी प्रशुभा चालिसेको छटपटाई बढ्छ, कहाँ दिनभर घुम्न आएको कहाँ ११ बजे नै घुमि सकियो । ‘अब के हामी घर फर्किने हो ठूलोबाबा?’ उनी मलाई सोध्छीन् ।
हैन पख्न अन्त कता कता हुन्छ, जाउँलानी म उनलाई आश्वस्त पार्छु ।
बिहान जाँदा बाटो थाहा नभएर हामी सूर्य विनायक हुर्दै गएका थियौं तर पुरानो ठिमीचोकबाट दक्षिण छिरेर गएं एकदमै सिदा छोटो पर्ने रहेछ । फर्कने क्रममा हामी चखुँती चरखण्डी स्थित सिद्धेश्वर महादेव मन्दिर आइपुग्यौं । चखुँती चरखण्डीको महत्व चाहिं विस्केट जात्रासंग जोडिएको रहेछ । हरेक वर्षको वैशाख महिनाको १ र २ गते वडो धुमधामसँग यहाँ विस्केट जात्रा मनाइंदो रहेछ । जसलाई चरखण्डी बिस्केट जात्रा भनिँदो रहेछ ।
भक्तपुर ठिमीको लायकू कम्पाउण्डमा विधिविधान अनुसार पूजा गरेर खटमा राखेपछि जात्रा सुरु हुन्छ र यसको लगत्तै ठिमी क्षेत्रको दक्षिणपूर्वी भेगको गाउँ चखुँती (चरखण्डी) मा पनि खट जात्रा सुरु हुन्छ । यो चखँुती क्षेत्रमा १०० वर्ष अघिदेखि मात्र यो जात्रा सुरु भएको हो भनिन्छ । यो क्षेत्रमा जात्राको क्रममा चखुँ तीर्थमा स्नान गर्न भक्तजनहरुको भिडलाग्छ र यहाँ नुहाउनाले छालाको रोग तथा कुष्ठ रोग समेत निको हुन्छ भन्ने धार्मिक विश्वास छ ।
यही चखुँ तीर्थमा सिद्धेश्वर महादेव विराजमान भएका छन् भन्ने विश्वासले सिद्धेश्वर महादेवको मन्दिर बनाइएको छ । चखुँतीस्थित त्यही विश्राम स्थलमा वसेर हामिहरुले खाना खायौं र त्यहाँबाट फर्कियौं । फर्कंदा ठिमीमा दक्षिण वाराही मन्दिर, हनुमान मन्दिर र वोडेमा नीलवाराही मन्दिर घुम्यौं । यस वारेमा पछि अर्को प्रसंगमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक