आदर्श : नन्दलाल आचार्य (लघुकथा )

आदर्श : नन्दलाल आचार्य (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,असोज १९ ।

‘हाम्रो सामु हजुरले आकाश पाताल हाँक्नु पर्दैन ।’ छात्र राधवेन्द्रले भने ।
मेरो तीस वर्षे शिक्षण पेशागत अहंकारमा एक्कासी थप्पड लाग्यो । कक्षामा विद्यार्थी हल्लाले मेरो कान खाइरहेको थियो । यद्यपि म टुलुटुलु हेर्न विवश थिएँ । सोचेँ– ‘विद्यार्थी अग्रगमन तिर लाग्दा आफूले बाटो सफा गर्दिनुपर्छ । विद्यार्थी लत्रिँदा आफूले अग्रगमनका लागि जगाउनुपर्छ ।’ यही समयको सूत्र अपनाउने विचार गरेँ ।
‘हजुरहरूको बुझाइलाई म सम्मान गर्छु । आफ्नो कमजोरी सुधार्न म लालायित छु ।’ सधैँको रुखो बोलीको सट्टामा विनम्रतापूर्वक र आदरसूचक सम्बोधन सुनेर नब्बे प्रतिशत विद्यार्थी शान्त भए । मैले शिक्षणीय विषयवस्तु सुरुआत गर्न खोज्दा शतप्रतिशत शान्ति छायो । त्यस दिन अपनाएको सूत्र अद्यापि जारी छ । कतै खटपट छैन । कारण खोजी गर्दा राधवेन्द्रको बोली सुनेँ, ‘जथाभावी खाएर शरीर बिगार्नुभयो । त्यस्तो मुखबाट निस्केको खोक्रो आदर्श हामीलाई पचेन ।’ अनिता समेत थप्दै थिइन्, ‘हामी तपाईंको सदाबहार एकनासे वाणीका हैन आदर्श बानीका भोका छौँ । कथनी जे छ करणी समेत त्यही एकनाशको होस् ।’

तपाइँको प्रतिक्रिया ।