रातसँग यो गुनासो : त्रिलोचन आचार्य (कविता )

रातसँग यो गुनासो : त्रिलोचन आचार्य  (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २५ ।

हे ! रात बाटो किन छेकिदिन्छस् ?
मेरो उज्यालो किन रोकिदिन्छस् ?
जान्दैछु तैँले अति विध्न पारिस्
कालो अँध्यारो जगमा उतारिस् ।१।

तँ रात खात योजना विकारको बनाउँछस्
अशोक भावना लिनै असाध्य नै डराउँछस्
विशाल बन्नहुन्न झैँ तँ साँगुरो रुचाउँछस्
तँ मग्ननग्न नाँचमा, चराचरै सुताउँछस् ।२।

गएका खेतीमा कृषक जन फर्के घर भनी
हिँडेका यात्रीको दल बल भयो बास रहने
लगे गोठालाले हत न पत गाई घरतिरै
तँतर्साई राख्छस् सकल दुनियाँ, जान्दछु पुरै ।३।

टाढा काम थियो कुदेर म गएँ बेला अबेला भयो
आमाको मत थ्यो जँगार नतरेस् ढीला खुनी साँझहो
अस्ताए पछि घाम युध्द नहुने, भन्थ्यो महाभारत
खोजौँ बास कता?अथाह छ यही, छाती भरी आहत ।४।

कालो जालो फिँजाई भुवनभर गरिस् रात रातै परेड
हुन्थ्यो होला कमाई दिन सरह भए रात अर्को करोड
आधा नै जिन्दगीको पल ढलपलमै बित्छ कैल्यै ठडिन्न
स्रस्टाले रात डाक्यो किन भन मनको खै कुना यो भरिन्न ।५।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।