“भूकम्पको वारीमा मौलाएको खेती”
आर.के. तामाङ
बाजा बजाएर आउदैन भूकम्प न त भूकम्प कुनै सूचना दिएर आउने गर्छ, यो त प्रकृतिको नियमित प्रक्रिया हो । प्रक्रिया भन्दा पनि यसले विपत्ति निम्ताउने भएकोले यसलाई प्राकृतिक विपत्ति पनि भन्ने गरिन्छ । यस्तो अवस्थामा विपत्तिको सामना गर्दै नवनिर्माणमा जोड दिनु आवश्यक हुन्छ । तर नवनिर्माणको नाममा मागी खाने बहाना बनाउनु विडम्वना हो ।
वुद्ध र सगरमाथाको नाम वेचेर धेरै मागे, त्यो पुरानो बहाना भयो, भुकम्पले अन्तर्राष्ट्रिय मञ्चमा धित फुलाएर माग्ने एउटा गतिलो बहाना जुराइदियो तर सत्य के हो भने मागेर कोही विल गेडस् बन्दैन या भनौ संयुक्त राष्ट्र सघं जस्ता दातृ निकायले जतिनै सहयोग गरे पनि नेपाललाई सिंगापुर बनाउदैन, त्यो नेपाल आफैले गर्नु पर्दछ, आफैले बनाउनु पर्दछ ।
वैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले धेरैलाइ हौसाएको छ, फेसबुकेलाई एक प्याक चाउचाउ दिएको फोटो पोष्ट गर्न हौसाएको छ, कथित भुगर्भविद भनाउदाहरु र आफ्नै अनिश्चित भविष्य वोकेका फलित ज्योतिषहरुलाई आफ्नो क्षमता देखाउन हौसाएको छ । भाते नेपालीलाई चाउचाउ नेपालीको परिचय दिलाउन चाउचाउ उत्पादकहरु हौसिएका छन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय तथ्याङ्कमा मात्र सहयोग दिएको देखाउन हौसिएका छन, राजनैतिक पार्टीहरु स्वयम सेवक दस्ता पठाएर पुर्ननिमार्ण गर्न हौसिएका छन, सत्ता पक्ष आफ्नो क्षमता देखाउने वेला यहि हो भन्दै राष्ट्रिय ढुकुटी रित्याउन हौसिएका छन । विपक्ष सरकारलाई नत्थि लगाएर बाटो देखाउने प्रतिपक्षको धर्म निभाउन छाडेर राष्ट्रिय सरकार बनाएर २÷४ जनालाई मन्त्री बनाउन हौसिएका छन् ।
यो हौसाइबाट लाग्दछ सबैलाई एउटा बहानाको खाँचो थिए, हो एउटा स्वर्णिम मौका चाहिएकै थियो । क्रिश्चियनहरुलाई सहयोगको नाममा बाइवल बाडेर धर्मको खेती गर्न देखी कैदीहरुलाई जेलबाट भाग्नसम्म मौका चाहिएको थियो । नेपाली सेनालाई काम र नामको खाँचो थियो, जर्साबहरुलाई भारतीय नुनको सोझो गरेर एयरपोर्ट सुम्पन भुकम्पले मौका जुराइदियो । जस्ता पाता, छड, सिमेन्ट जस्ता निर्माण सामाग्री उद्योगीहरुलाई नविकेर थन्किएको सामान विकाउनु थियो, स्थानिय विकास मन्त्रालयलाई २ तल्ले मात्र घर बनाउने वहाना चाहिएको थियो । नव नेपालको खाका कोर्ने योजनाकार भनाउदाहरु देखी हेल्मेट देखाएर सर्टिफिकेट विकाउने इन्जिनियरहरु सम्मलाई मौकै चाहिएको थियो । भारतलाई आफ्नो क्षेत्रीय शक्ति देखाउन, अमेरिकालाई चिनमा जासुस गर्न अनि नेपाललाई चाहिँ चिनुकको वहानामा वेलायतलाई कर्णेलकुमार लामाको वदला लिन पनि मौका नै चाहिएको थियो । सरकारलाई नेपाल भारतको एक प्रान्त जस्तो हो भन्न र आफ्नो नालायकपना देखाउन पनि त गतिलै वहाना चाहिएको थियो नि । धन्य, भुकम्प तिम्रो एक झड्काले सबैलाई मौका जुराई दियौ, सबैलाई दानी भई टोपलेको देखाउने अवसर दियौ ।
“राहतको खोल ओडेर दानको राजनीति”
दानको अर्थ दिनु हो, आफुसँग भएका कुरा आवश्यक पर्नेलाई दिनु हो । दान वस्तु प्रतिको लोभ घटाउन, धन सम्पति प्रतिको आशक्ति या राग घटाउन दिइने कुरा हो । दान भनेको जसलाई चाहिन्छ त्यसले लिने हो । हालको जस्तो विषम परिस्थितीमा दुःख या अप्ठ्यारामा परेकालाई दान दिनु पर्ने समय हो । तर विहान आफ्नो बंगलामा खाना खाएर दिउँसो अफिस भ्याइवरी साँझमा टुडिखेल या हायात् होटलका चौरहरुमा सुत्नेहरुलाई भूकम्पपीडित भनेर दान दिई हिड्नेहरु दाता कम नाफाखोर व्यापारी ज्यादा हुन । अति प्रभावित मध्ये एक सिन्धुपाल्चोकमा धेरै दान बाँडियो होला तर दलित र पिछडिएका वस्तीहरुमा त्यो पुगेकै छैन र पुग्दैन पनि किनकि ति वस्तीहरुमा ३ दिन हिडेर मात्र पुगिन्छ ।
गरिब र जनजाति वस्तीकाहरु दिनभरि पर्म र खेताला जानु छ नत्र भरे के खाने ? त्यही भएर राहतको नाममा एक गेडो चामल तिनको मुखसम्म पुगेको छैन । तर वाँकीले गोदाम ठड्याइ सके । २÷३ दिन लगाएर राहत लिन गएर लाइन लागे पनि तिनिहरु लाइनको पछाडी नै बस्ने हुन केही पाउदैनन, पाइ हाले भने एक प्याकेट चाउचाउ र एक चोटी भात उघ्याउदा भाचिने सिलबरे पन्यु । जति भएको छ व्यक्तिगत पहलमा भइ रहेको छ, सरकारको उपस्थिती खोई ? के कर उठाउन मात्र आउने ? तिनले कर के का लागी तिरेका ? यस्तो सबै गुमाएर विचल्ली परेको बेला पनि आफ्नो जनताको रक्षा गर्न नसक्ने हो भने अरु वेला कर उठाउने, सरकार चलाउने या कानुन लगाउने तिम्रो के हैसियत छ । विपदमा नागरिकले विना भेदभाव पारदर्शी तरिकाले राहत पाउनु उसको अधिकार हो । तर मान्छे जस्तो लोभी र स्वार्थी प्राणीलाई दान दिदा वास्तविक प्रभावितका हातमा एक गेडो चामल नपाउदै तथा कथित प्रभावितहरुले राहतका उरुङ ठडाइसक्छन् ।
“भूकम्पिय राजनीति”
राज्य भनेको मान्छेको लागी कानुनी गिद्ध हो । लास माथी मात्र झम्टन्छ, जिउँदो हुन्जेल आँखा लगाउदैन । नागरिकको रक्षा गर्ने बहानामा बन्दुक किन्न कर उठाई रहन्छ नतिरे घरवार लिलाम गरि जेलमा कोच्दछ । अनि राजनीतिकर्मीहरु कुकुर जस्ता हुन जसले सत्ता नामको सिनोको लागी आपसमा लडि रहन्छन या लुछी रहन्छन, भनाइ यतिबेला आएर नेपाल देशमा सार्थक हुदै गएको छ । राष्ट्रिय सरकार बनाउने कुरा यसको ज्वलन्त उदाहरण हो । जनता भोक भोकै मरिरहेका छन, अन्तर्राष्ट्रिय निकायहरुको कुटनैतिक क्रिडास्थल बनि रहेको छ ।
राहतको नाममा कुहिएको चामल पठाएर अपमान गरिरहेको छ । अमेरिकी हेलिकप्टर जासुसी गदैगर्दा चिनले झारेको कुरा आइरहेको छ । भूकम्प पिडितहरु महामारी, लासको दुर्गन्ध जस्ता नारकीय जीवन भोगी रहेका छन, वर्षामा भोग्नेवाला छन् । दिइएको राहत कुहिसक्दा पनि सरकार किन सरकारी प्रक्रियामा अल्झाइ रहन्छ या विवादका कारण वाड्नै सक्दैन, बाडेको राहत पनि वास्तविक पिडितको हातमा भन्दा राजनैतिक पार्टीका आसे पासे या पहँुचवालाहरुको घर आँगनमा मात्र गई रहेको छ ।
विवादास्पद सिमा लिपुलेकमा भारतले नेपालको हो भनेर जान्दा जान्दै चिनसँगको व्यापारिक नाका बनाउने सहमति पत्रमा हस्ताक्षर गरि सकेको छ । तर हाम्रा नेताहरुलाई त्यसको कुनै वास्तै छैन, मात्र सत्तामा पुग्नु छ । सात पुस्ता पुग्ने सम्पति जोड्न कसैलाई मन्त्री बनाउनु छ । तिन महिना पछि राष्ट्रिय सरकारले काम गरेन भनेर अर्को सरकार बनाउने कसरत गर्नु छ, पिडितलाई राहत र पुर्नस्थापना सहितका राष्ट्रिय पुर्ननिर्माण खाका कोर्न छाडेर पहिले भाग नपुग्नेलाई मन्त्री बनाउन लागी परेका छन् । बुढो कुकुरलाई नयाँ कुरा सिकाउन सकिन्न भनेको सत्य रहेछ । तर कालो वादलको विचमा चाँदी घेरा हुन्छ भने जस्तै राष्ट्रिय पुर्ननिमार्णको लागी अवसरको ढोका भने खुलैकै हो ।
“पुर्ननिमाण र स्वाभिमान”
भूकम्पले विनाश मात्र गरेको छैन, अवसरका नयाँ ढोका पनि खोली दिएको छ । जुम्लीहरु आफ्नो घरको च्याख्ला र ढिडो खान छाडेर चामलको लाइन लागे जस्तै चित्रा बुन्न छाडेर पालको लागी २ दिन लाइन लाग्ने काम नछाडे सम्म हाम्रो केही हुने वाला छैन । अमेरिकाको चुनावमा यही बसेर भोट खसाल्ने हामीहरु आफ्नो देशको पुर्ननिर्माणमा लाग्ने कि नलाग्ने, सरकारले लगाउने कि नलगाउने ? नेपाली समाजको हिजोको पारस्पारिक सहयोग गर्ने संरचना विउताउने हो की, आधुनिकताको नाममा राज्य नियन्त्रित पुृर्ननिर्माण गर्ने ? हाम्रो हिजोको सामाजिक संरचना अनुसार समाजमा कसैको घर बनाउदा सामुहिक रुपमा विम बोक्ने, तल्ला छाप्ने, छाना छाउने आदिमा निःशुल्क सहयोग गरिन्थ्यो । तर आधुनिकताले ट्रक ल्यायो अनि घरमै सिमेन्ट झार्न थाले पछि पल्लो घरको छिमेक मलाई किन चाहियो भन्ने घमण्डले झगडा गर्न तम्सायो ।
भूकम्पको यो महाविपदमा त्यसै गरि एक आपसमा सहयोग गरागर गर्ने र राज्यले त्यसको सहजीकरण गर्ने हो भने राज्यलाई पनि हलुका हुन्छ भने समाजले नयाँ गति लिनेछ । राज्यले एकिकृत विकास योजना बनाएर निश्चित ठाउँहरुमा वस्ती विकास गराउने यो सुनौलो मौका पनि हो । स्थानियलाई आफ्नो जमिनमा खेती लगायत आय आर्जन गर्ने योजना दिएर प्रोत्साहित गर्ने हो भने राज्यले आधारभुत आवश्यकता जस्तै विजुली, पानी, यातायात, विद्यालय पु¥याउन पनि सजिलो हुन्छ, विकास चाँडो हुन्छ तथा चोट चाडै निको हुन्छ । तर त्यसरी वस्ती विकास गराउदा राज्य आफ्नो निर्णय लाद्ने भन्दा पनि त्यहीको स्थानियहरुको भावनाको कदर गर्नु पर्दछ ।
यसरी पुर्ननिर्माण गर्दा राज्यले त्यहीको स्थानिय श्रोत, साधन, शिप, शैली, मौलिकता, वातावरण्ीाय अनुकुलन आदिको उच्चतम उपयोग गदै त्यसलाई भूकम्प प्रतिरोधात्मक बनाउन सक्नु पर्दछ । अनि सरकारले यस पटक जस्तो शून्य पूर्व तयारीबाट माथी उठेर आफ्नो उपस्थिति जनतालाई महसुस गराउन सक्नु पर्दछ । दृष्य हेर, खुब आनन्द लेउ, दुनियाको दुःख स्याहार्ने तिम्रो काम हैन भन्ने व्यापारीले दिएको दानमा मख्ख पर्ने हामी मान्छे कम माग्ने मेसिन ज्यादा हुन छाडेको दिन नवनिमार्ण र नयाँ नेपाल असम्भव छैन ।
शोकलाई शक्तिमा पो बदलेर उठौ अब
नयाँ नेपाल बनाउन सबै जना जुटौ अब ।।
भोक लाग्दैमा ढुङ्गा चपाइदैन, घर भत्कदैमा, सबै सकिदैन । इटा माथि इटा या ढुङ्गा माथि ढुङ्गा राखिएको थियो त्यो भत्कियो । संसारका हरेक चिज अनित्य छ, कुनै चिज चिरस्थायी छैन, नभत्कि नयाँ बन्दैन, नमरि जन्मदैन, आज नभत्के भोली त अवश्य भत्कन्छ, भत्कनु नै बन्नु हो । मर्ने त मरेर गए बाँच्नेले त खानुपर्छ नि, समय नै यसको अचुक मलहम हो । जनयुद्धको भुकम्पमा परेर हल्लन बाँकी रहेकाहरु मधेश आन्दोलन र जनजाति आन्दोलनको पराकम्पले भत्काइ सकेको केन्द्रिकित सिंहदरबारे व्यापारिक सरकारले पुँजिपतिहरुलाई सघाउने या राज्य नियन्त्रित पुर्ननिमाण भन्दा सामुहिक भावनाको विकास गरेर स्थानियलाई अधिकार दिएर सामाजिक संरचनाहरु विउताउनु पर्दछ । चाउचाउ र पाल दिएर आफै धनी हुने या धरहरा बनाइ दिन्छु भन्दै हौवा फिजाइ हिड्ने दाताहरु भन्दा भुकम्पले सर्वस्वहरण गरेर अाँशुको आहालबाट पनि जिजिविषाको आशा नत्याग्नेहरु वास्तविक हिरो हुन । हात थापेर खाने बानी भयो भने अझै अरु भूकम्पहरु आइरहनेछ । अब विस्तारै हात खुट्टा खियाएर खाने बाटो तिर लागौ ।