जोरपाटीमा डिप बोरिङ गर्दा फोहोरा सहित निस्किएको ग्यासको मुस्लो रोकियो
कपन अनलाइन
काठमाडौँ, साउन ४ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा डिप बोरिङ गर्दा फोहोरा सहित निस्किएको ग्यास रोकिएको छ। मंगलबार बिहान साँढे दश बजे देखि जोरपाटीमा सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदो सहित पानी र ग्यास निस्किएको थियो ।करिब ३ सय फिट जति खने पछि एक्कासी बिस्फोट भई लेदो सहित ग्यासको निस्किएको मुस्लो आज बिहान ३ बजे तिर रोकिएको वडा अध्यक्ष नारायण बहादुर सुवेदीले कपन अनलाइनलाइ जानकारी गराए।
भुलक–भुलक गर्दै ५ तले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित भएका थिए। भने फोहोराका कारण नजिकैको घर टोल समेत हिलाम्मे भएको थियो । उक्त क्षेत्रको नगरपालिका प्रमुख दिपक रिसाल, महानगरिय प्रहरी वृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपाने विपद व्यवस्थापन गण सुन्दरीजलका कर्णेल खानी तथा भूगर्भ विभागका अधिकारीहरुले निरीक्षण गरेका थिए । भूगर्भ विभागका अधिकारीहरुले अनुसन्धान पश्चात उक्त ग्यास मिथेन भएको जानकारी दिएका थिए। काठमाडौंमा कहिलेकाहीँ मिथेन ग्यासको ‘क्याभिटी’ बनेर बस्नु स्वभाविक रहेको र संयोगवश सोही ठाउँमा बोरिङ्ग खन्दा ग्यास माथि आएको भूगर्भ विभागका अधिकारीहरुले जानकारी गराएका थिए ।
यो सामान्य घटना भए पनि नगरपालिकाले विपद व्यवस्थापनको लागि आवश्यक सामग्री र सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखेको थियो भने स्थानीयलाइ आतंकित नभई सतर्कता अपनाउन अनुरोध गरेको थियो । यस अघि बुढानिलकण्ठ मा पनि सोहि प्रकृतिको घटना घटेको थियो । बुढानिलकण्ठमा घटेको उक्त घटनाको भूगर्भविद्ले अनुसन्धान पश्चात फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिएका थिए । काठमाडौँ उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो ।