जीर्ण त्रिचन्द्र कलेज भवनको पुनर्निर्माण माग राख्दै बिद्यार्थीले गरे सोलिडारिटी मार्च
कपन अनलाइन
काठमाडौं असार २४ ।सेभ त्रिचन्द्र’को पक्षमा र्यालीसहित प्रदर्शन गरिएको छ । जीर्ण त्रिचन्द्र कलेज भवनको पुनर्निर्माण माग राख्दै नेपाल विद्यार्थी संघ त्रिचन्द्र इकाईको अगुवाइमा आज विभिन्न कलेजका विद्यार्थीहरूले सोलिडारिटी मार्च आयोजना गरेका हुन् ।विद्यार्थीहरुले क्याम्पस रुग्ण अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले त्रिचन्द्र क्याम्पस बचाऔँ, प्रधानमन्त्रीले अध्ययन गरेको क्याम्पस कहिले बन्ने ? लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
२०७२ को भूकम्पमा त्रिचन्द्रको घण्टाघर तर्फको भवनमा क्षति पुगेपछि अति जोखिमको संकेत स्वरुप रातो स्टिकर लगाइएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवन पुनर्निर्माण गर्ने भनिए पनि पुर्निर्माण नगर्दै प्राधिकरणको म्याद सकिएर त्यसको जिम्मा शिक्षा मन्त्रालयलाई दिइएको छ । शिक्षा मन्त्रालयले पनि हालसम्म पुनर्निर्माणमा चासो नदिएको भन्दै नेविसंघले दबावमुलक कार्यक्रम गर्दै आएको छ ।