विषालु साँप : कुमार नेपाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार १८।
आफ्नै बगैँचाको फूलबारीमा विभिन्न प्रकारका मगमग बास्न आउने फूलहरू लटरम्म फुलिरहेका थिए । त्यहाँ धेरै माहुरीहरू पनि आएर ती फूलहरूका रसहरू चुसेर महको चाकामा भर्न लाँदै थिए । साँझपख म पनिआफ्नो बगैँचाको फुलबारीमा गएर फूलहरूमा पानी राखेर फूलको वास्ना चुम्दै थिएँ । अचानक त्यहाँ एकजना मस्त नवयौवना युवती आएर मलाई चुम्बन गरी, माया पिरती दर्शाउन थाली । त्यस बखत मेरो विवाह पनि भएको थिएन ।
मैले मनमनै सोच्नथालेँ – आज मैले यस्ती राम्री परी समानकी केटी भेट्टाएँ, म ज्यादै भाग्यमानी रहेछु भन्ने ठानेर म मख्ख परेको थिएँ । केही बेरपछि अचानक उसको ब्वाइफ्रेन्ड आइपुग्यो । उसलाई देख्ने बित्तिकै त्यो केटीले उल्टै मलाई देखाएर यो केटोले मलाई जबरजस्ती गर्यो भनी कुरा लगाई । मैले उसको ब्याइफ्रेन्डलाई भनेँ— यो सबै झुठो हो । मैले यो केटीलाई केही गरेको छैन भन्दा पनि नपत्याएर त्यो केटोले मलाई पिट्न थाल्यो । त्यस्तो गरेको देख्दा पनि त्यो केटीले केही पनि नबोली उल्टो हाँस्न पो थाली । उसको पनि त्यस्तो व्यवहार देखेर म डराएर भागेँ ।
मैले त्यो केटीलाई परी भन्ने ठानेको थिएँ तर त्यो केटी त परी होइन विषालु साँप पो रहिछ भन्ने लाग्यो । त्यो केटीको त्यस्तो व्यवहारले गर्दा मेरो मुटु छियाछिया भयो । त्यसरी छियाछिया भएको मुटु धेरै नै दुख्न थाल्यो ।त्यो दुःख सहन नसकेर म बेस्सरी चिच्याउन थालेँ । त्यसरी चिच्याएको छिमेकीहरू धेरै जनाले सुनेछन् । सबै छिमेकीहरू जम्माभएर के भयो किन यसरी चिच्याएको भनी सोधपुछ गर्न थाले ।
मलाई आफ्नै बगैँचाको फूलबारीमा एउटा विषालु साँपले टोक्यो । त्यो टोकाइले गर्दा मेरो मुटु धेरै नै दुख्नथाल्यो । त्यो दुखाइ सहन नसकी म यसरी चिच्याएको हुँभन्दा छिमेकीहरू सबैले ए त्यसो हो भने तुरुन्त औषधी उपचार गरिहाल्नु पर्छ । हामी तिमीलाई हस्पिटल लिएर जान्छौँ, ल हिँड भन्नथाले । मैले अब मलाई ठीक भइसक्यो केही भएको छैन हस्पिटल जानुपर्दैन भन्दा छिमेकीहरू पनि अचम्म मानेर आफ्नो घरतर्फलागे।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक