राष्ट्रिय सहकारी दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा प्रभातफेरी गरिने
कपन अनलाइन
काठमाडौँ, चैत्र १६ । ६५ औं राष्ट्रिय सहकारी दिवस को अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्र रहेका सहकारीहरुले प्रभातफेरीको आयोजना गर्ने भएको छ। आज वडा कार्यालयमा वडा अध्यक्ष श्री कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सहकारीकर्मीहरुको बैठकले चैत्र २० गते सहकारी दिवसको अवसरमा प्रभातफेरीको आयोजना गर्ने निर्णय गरेको हो।
बिगतका बर्षमा कोभिड १९ को विषम परिस्थितिका कारण सिर्जित प्रतिबन्धात्मक अवस्थाले भौतिक रुपमा राष्ट्रिय सहकारी दिवसका कार्यक्रमहरु हुन सकेका थिएनन् । कोभिडको संक्रमण दरघट्दै जानु र खोप समेत लगाईसकेको हुँदा यस बर्ष भने राष्ट्रिय सहकारी दिवस मा गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्र रहेका १७ वटा सहकारी संस्थाले सामुहिक रुपमा प्रभातफेरीको आयोजना गरि सहकारी दिवस मनाउने भएका हुन।आज भन्दा ६५ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ । उक्त बैठकमा वडा सदस्य उमा थापा वडा सचिब नवराज सेन सहित सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।