अद्वितीय मूर्ति भएको बूढानीलकण्ठ क्षेत्र पूर्णरुपमा चर्कियो

कपनअनलाइन २० बैशाख, काठमाडौं । विश्वकै अद्वितीय मूर्ति भएको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्व बोकेको बूढानीलकण्ठ मन्दिर क्षेत्र गत साताको विनाशकारी भूकम्पबाट पूर्णरुपमा चर्किएको छ ।

लिच्छवीकालमा एउटै शिलाबाट बनेको प्रस्तर मूर्ति २२ मिटर लम्बाइ र २० मिटर चौडाइको छ । हरि र हरको संयुक्त रुप भएको दुर्लभ मानिएको मूर्तिमा क्षति नभए पनि मूर्ति बाहिरको पर्खाल र मूलढोका पूर्णरुपमा चर्किएर भत्कने अवस्थामा पुगेको बूढानीलकण्ठ दशनामी मठले जनाएको छ ।

budhanilkantha1

पूर्व र दक्षिणका मूल ढोका भत्किएर भग्नावशेषमा परिणत भएका छन् । मन्दिरको इशानकोणमा रहेको ऐतिहासिक सत्तलमा सञ्चालन गरिएको बूढानीलकण्ठ वेद विद्याश्रमको भवन भत्किँदा अनिश्चितकालका लागि पढाइ बन्द भएको छ ।

आवासीय सुविधासहित ३५ जना विद्यार्थी अध्ययनरत वेद विद्याश्रमका विद्यार्थी बस्ने खाने ठाउँको अभावमा अलपत्र बनेको वेद विद्याश्रम सञ्चालक समितिका सचिव रामबहादुर केसीले जानकारी दिनुभयो । “वेद विद्याश्रमको नयाँ भवन नबनेसम्म पढ्न नपाइने भयो”– विद्यार्थी मधुसुदन ढुङ्गानाले भन्नुभयो ।

“मन्दिरको मुख्य पर्खाल ढल्किएर जतिखेर पनि भत्कने अवस्थामा पुुगेको छ, मूल मूर्ति बाहिरका सरस्वती मन्दिर र शिव मन्दिर पनि वरिपरिबाट चर्किएर भत्कने अवस्थामा पुगेका छन्”–बूढानीलकण्ठ सनातन धर्म सेवा समाजको अध्यक्षसमेत रहनुभएका केसीले भन्नुभयो ।

कहिले बनेको भन्ने स्पष्ट नभए पनि यी ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेका भवन विसं २०१६ मा राजा महेन्द्रले रु ७० हजार लागतमा निर्माण गरेको शिलालेख मन्दिर परिसरमा राखिएको छ ।

मन्दिरको पश्चिम भागमा रहेको बूढानीलकण्ठ दशनामी मठ, बूढानीलकण्ठ सनातन धर्म सेवा समाज र बूढानीलकण्ठ क्षेत्र विकास समितिको भवन चर्किएर पूर्णरुपमा क्षति भएको मठका मठाधीश निगमानन्द गिरीले बताउनुभयो । “भवन भत्किने डरमा बस्न नसकिने अवस्थामा पुगेको छ, तीनवटा कार्यालय एउटै भवनमा सञ्चालन भएकाले के गर्ने भन्ने समस्या भएको छ”–उहाँले भन्नुभयो ।

भूकम्पपछि मन्दिरमा सुरक्षा चुनौती बनेको मठले जनाएको छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको मन्दिर भएकाले यहाँका चीजबिज चोरी हुने सम्भावना बढेको मठाधीश निगमानन्दले बताउनुभयो । “मठले नै खाने बस्ने व्यवस्था गछौँ भन्दा पनि सुरक्षाकर्मी पाइएन, पुरातत्व विभागले समेत यहाँका सम्पदालाई वास्ता गरेन”–उहाँले भन्नुभयो ।

विसं २०६८ मा प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले उद्घाटन गरेको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बूढानीलकण्ठको तीनतले भवन चर्किएर बस्नै नसकिने अवस्थामा पुगी सामुदायिक प्रहरी पाल खोजेर बस्नुपर्ने अवस्थामा पुगेको प्रहरी जवान सुन्दर प्रधानले बताउनुभयो । “जतिखेर पनि ज्यान जाने खतरा भएपछि अन्यत्रै बस्न बाध्य हुनुप¥यो”–उहाँले भन्नुभयो ।

विसं २०६८ मा निर्माण सम्पन्न भएको भवन चर्किएर भत्कने अवस्थामा पुग्नुमा निर्माण कार्य नै कमजोर भएको प्रमाणित भएको स्थानीयको गुनासो रहेको छ ।

“व्यक्तिका पक्की घर पचासौँ वर्षका पनि नचर्किएको अवस्थामा सार्वजनिक सम्पत्ति चार वर्षमा चर्किएर बस्न नसकिने हुनुमा निर्माण व्यवसायीको कमजोरी प्रष्ट हुन्छ”– स्थानीय धीरबहादुर खड्काले भन्नुभयो ।

बूढानीलकण्ठ मन्दिर क्षेत्रमा एक हजार घर क्षति भएको प्रारम्भिक अनुमान गरिएको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जनाएको छ ।
“प्रभागको कार्यक्षेत्र गोल्फुटारदेखि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नुवाकोटसित जोडिएका भागसम्म भएकाले सबै क्षेत्रको विस्तृत विवरण आउन बाँकी रहेको छ, सातवटा घर पूर्णरुपमा क्षति भएकाले भत्काउनका लागि सिफारिस गरिएको छ, बाँकी तथ्याङ्क सङ्कलनका लागि प्रहरी र नगरपालिकाका कर्मचारी खटिएका छन्”–उहाँले भन्नुभयो ।

प्रभागको कार्यक्षेत्र भएका ठाउँमा अहिलेसम्म १५ जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको पनि उहाँले बताउनुभयो । निकुञ्जसित जोडिएको बूढानीलकण्ठ नगरपालिका–५, भसमथलीका अधिकांश घर पूर्णरुपमा क्षति भएका छन् । निकुञ्जसित जोडिएका चिसिनी, ठूलोगाउँ, क्वाटल, डाँडागाउँ, टुसालछाप, दोरङ्गा र लिपिकोटलगायतका स्थानमा रहेका पुराना घर पूर्णरुपमा क्षति भएका स्थानीय विकाससिंह लामाले बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिका–७ चुनीखेलमा रहेको पुरानो नेवारी बस्तीका ३०० घर पनि पूर्णरुपमा क्षति भएका छन् । यहाँ अहिलेसम्म पालसमेत नपुग्दा स्थानीयवासी ओत नपाई चिसो र घामले रोगी हुन थालेपछि नोबेल एकेडेमी सिनामङ्गलले आज स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

साविकका कपन, चुनीखेल, महाँकाल, खड्का भद्रकाली, चपली भद्रकाली र विष्णु बूढानीलकण्ठ गरी छवटा गाविस सम्मिलित बूढानीलकण्ठ नगरपालिकामा अहिलेसम्म २५ जनाको मृत्यु भएको, ३५ जना घाइते भएको र करिब तीन हजार घर भत्किएर पूर्णरुपमा क्षति भएको कार्यकारी अधिकृत वीरेन्द्रदेव भारतीले बताउनुभयो ।

“नगरपालिकामा पालको सबैभन्दा ठूलो समस्या छ, ३०० पाल हामीले बाँड्यौँ, मृतकका लागि नगरपालिकाका तर्फबाट प्रतिमृतक रु १५ हजार बाँडेका छौँ, अन्य राहतका लागि प्रयास गरिरहेका छौँ”–उहाँले भन्नुभयो ।

तपाइँको प्रतिक्रिया ।